मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष १२ मंगलबार १२:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

राष्ट्र्र बैंकको सिद्धार्थनगर शाखाअगाडि उद्योगी–व्यवसायीद्वारा धर्ना

ब्याज तथा किस्ताका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिएर ज्यादती गरेको आरोप

Read Time : > 1 मिनेट
२०७९ पौष १२ मंगलबार १२:२०:००

बैंक तथा वित्तीय संस्थाले ऋणीहरूलाई सहजीकरण नगरेको भन्दै रुपन्देहीका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उनीहरूले नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर शाखाअघि धर्ना दिएका छन्।

लगानी गर्दा धेरै नाफा कमाउन धेरै ऋण प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरूले अहिले दबाबमूलक तरिकाबाट असुलेको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए। बैंकले उद्योगी–व्यवसायीलाई विभिन्न शीर्षकमा ऋण थप गरी सिँढी चढाउँदै लगेर अहिले तलबाट टेको नै निकालेर लडाउने काम गरेको उनको आरोप छ। ‘यस्तो अवस्थामा उद्योगीहरू ब्याज, किस्ता तिर्न सक्ने अवस्थामा छैनन्। राष्ट्र बैंकले सहजीकरण गरेर निकास निकाल्ने व्यवस्था गरोस् भन्ने हाम्रो माग हो,’ उनले भने।
 
‘कोरोना महामारीपछिको विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाले ब्याज तथा किस्ताका लागि दबाब दिएर ज्यादती गरेको छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले भने, ‘त्यसका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हौँ।’ वित्तीय संस्थाको ज्यादती तथा चालू पुँजी कर्जा निर्देशिका, २०७९ को असरबारे उद्योगी–व्यवसायीसँगको छलफलमा सहभागीले वित्तीय संस्थाको आतंकले आफूहरू निकै तनावमा रहेको र आन्दोलनबाहेक अन्य विकल्प नरहेको सुझाव आएसँगै बाध्य भएर आन्दोलनमा होमिएको न्यौपानेले जिकिर गरे।

सहज परिस्थिति हुँदा घरघरमा गएर माग र आवश्यकताभन्दा बढी कर्जा थोपर्ने बैंकले ब्याजदर बढाउँदै लगेर अहिले ढाड सेकेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए। अहिले आर्थिक मन्दी, व्यापारमा शून्यता र संकटको समयमा बैंकहरले कर्जा असुलीका लागि अनावश्यक दबाब दिने गरेको उनको भनाइ छ।

निक्षेप जम्मा गर्न बैंकबीच प्रतिसपर्धा भएकाले अहिलेको अवस्था सिर्जना भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले बताए। महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले संगठित भएर अघि बढ्नुपर्ने बताए। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य हरिबहादुर थापाले ब्याजदर घटाउने मात्र नभई दीर्घकालीन रूपमा समस्या समाधानतर्फ लाग्ने उपाय खोज्नुपर्नेमा जोड दिए। उनले नाै प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम लागू गर्न मागसमेत गरे।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन रुपन्देही, सिद्धार्थ होटेल एसाेसिएसन, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, लुम्बिनी होटेल संघलगायतका संघसंस्थामा आबद्ध उद्योगी–व्यवसायी धर्नामा सहभागी छन्।