मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ११ सोमबार १o:४४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ओटिसी कारोबार गर्नेको संख्या शून्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १o:४४:oo

पछिल्लो दुई महिनामा ओटिसी (ओभर द काउन्टर) कारोबार गर्नेको संख्या शून्यमा पुगेको छ । कात्तिकमा नौवटा ओटिसी कारोबार भए पनि मंसिर र पुस महिनामा शून्य हुन पुगेको हो । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भौतिक रूपमा आफैँ उपस्थिति हुनुपर्ने भएकाले ओटिसी कारोबार घटेको र यसलाई अब अनलाइन प्रणालीमा ल्याउने तयारी भइरहेको बताए ।

उनले भने, ‘भौतिक रूपमा आफैँ उपस्थिति भएर कारोबार गर्नुपर्ने भएकाले यसको चासो र कारोबार न्यून तथा यस कारोबारलाई पनि सक्रिय बनाउनका लागि डिजिटल प्रविधिमा जाने निर्णयमा पुगेका छौँ ।’ नेप्सेका अनुसार पछिल्लो समय ओटिसी कारोबारको अस्थित्व नै नरहने अवस्था आएपछि यसलाई फरक ढंगले लैजान चाहेको हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ओटिसी कारोबार गर्ने कम्पनीको संख्या एक सय ७३ वटा रहेको छ । चालू आर्थिक वर्षमा १७ वटा मात्र कम्पनीले कारोबार गरेको कार्कीले बताए । उनका अनुसार १७ कम्पनीले पाँच महिनामा ४३ करोड ६७ लाख रुपैयाँको मात्र कारोबार गरेको छ । नेप्सेमा कारोबार हुन नसकेका कम्पनीहरूको सेयर ओटिसी मार्केटमा किनबेच हुँदै आएको छ । ओटिसी मार्केटमा सेयर खरिद तथा बिक्री गर्ने दुवै लगानीकर्ता नेप्सेमा भौतिक रूपमा उपस्थित बाध्यात्मक अवस्था छ ।

अनलाइन प्रणालीमा जोड्न सफ्टवेयर कम्पनीसँग सम्झौता हुँदै
ओटिसी बजारलाई डिजिटलमा जोड्न र लगानीकर्तालाई भौतिक रूपमा उपस्थिति नगराउन केही दिनमै नेप्सेले सफ्टवेयर कम्पनीसँगै सम्झौता गर्ने तयारी गरेको छ । कार्कीले भने, ‘यसलाई पूर्ण रूपमा डिजिटल गर्ने उद्देश्यले केही दिनमै सफ्टवेयर कम्पनीसँग सम्झौता हुँदै छ ।’ नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर किनबेच हुने ठाउँ नै ओटिसी  बजार हो ।

सामान्यता यस्तो बजारमा नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा योग्य हुन नसकेका कम्पनीहरूको कारोबार हुने गर्छ । धितोपत्र विक्रेताले बिक्री गर्न चाहेको कम्पनीको धितोपत्रसम्बन्धी कम्पनीबाट प्रमाणित गरी आवश्यक कागपत्रसहित बिक्री आदेश दिन सक्नेछन् । प्राप्त आदेशलाई नेप्सेले क्रमअनुसार दर्ता गर्ने गर्छ ।

धितोपत्र खरिदकर्ताले खरिद गर्न चाहेको कम्पनीको आदेश भरी दर्ता गराउनुपर्ने हुन्छ र १० प्रतिशत रकम धितोपत्र बजारलाई पेस्कीस्वरूप बुझाउनुपर्ने हुन्छ । प्राप्त आदेशलाई उल्लिखित कम्पनीको नाम तथा धितोपत्र लगानीकर्ताको जानकारीका लागि मूल्य अंकित पाटी (प्राइस कोटिङ बोर्ड)मा उल्लेख गरिन्छ । 

धितोपत्र बजारले प्राप्त खरिद–बिक्री आदेशका आधारमा दर्ताक्रम तथा मूल्यका आधारमा दर्ताक्रम तथा मूल्यलाई आधार मानी मूल्य तथा संख्या घटबढ गर्नुपर्ने हुन्छ । उल्लिखित प्रकियाअनुसार मूल्य तथा संख्या मिलेमा कारोबार हुन्छ । 

राफसाफका लागि धितोपत्र विक्रेताले धितोपत्रको प्रमाणपत्र ३ कार्यदिनभित्र तोकिएको शाखामा पेस गर्नुपर्छ । खरिदकर्ताले खरिद गरेको धितोपत्रको रकम, नामसारी दस्तुर त्यति नै दिनभित्र नेप्सेले तोकेको बैंकमा दाखिला गरी सम्बन्धित शाखामा पेस गर्नुपर्छ ।