सरस्वती क्याम्पस ६४ वर्षमा प्रवेश गरेको छ । ०१६ सालमा आठजनाबाट सुरु भएको सरस्वती क्याम्पसमा अहिले साढे पाँच हजार विद्यार्थी अध्ययनरत छन् ।
६४औँ वार्षिकोत्सव मनाउने क्रममा आइतबार संस्थापक क्याम्पस प्रमुख एवं त्रिविका पूर्वउपकुलपति प्रा. शंकरराज पाठकले आठजनाबाट सुरु गरेको सरस्वती क्याम्पसमा अहिलेको प्रगति देख्दा खुसी लागेको बताए । कार्यक्रममा उनले १० पुस ०१६ सालमा क्याम्पस स्थापना गर्दाका दिन स्मरण गरे ।
‘त्यतिवेला मक्कलमा आगो तापेर आठजना विद्यार्थीबाट पठनपाठन सुरु भएको थियो,’ पाठकले भने, ‘अहिले धेरै कार्यक्रम चलेको पाएँ, विदेश पढ्न जाने विद्यार्थी रोक्न अब अझै नयाँ–नयाँ कार्यक्रम ल्याउनुपर्छ ।’
भवन निर्माणलगायतका लागि दुई लाख खर्च जुटाएर क्याम्पस सुरु भएको उनले सुनाए । सरकारले जग्गा र एक लाख ५० हजार उपलब्ध गराएको थियो । त्यसैगरी, ४० हजारको हाराहारीमा तलब जम्मा गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा क्याम्पस प्रमुख डा. गोलमान गुरुङले क्याम्पसको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएको बताए । सबै क्षेत्रको सहयोगका कारण सरस्वती क्याम्पसले प्रगति गर्न सफल भएको उनको भनाइ छ ।
उनले भने, ‘क्याम्पसको सफलताका लागि प्राध्यापकको मिहिनेतका साथै विद्यार्थीको मिहिनेत आवश्यक पर्छ ।’ उनले संस्थापक क्याम्पस प्रमुख पाठकको भूमिकाको प्रशंसा गरे ।
वार्षिकोत्सवका अवसरमा क्याम्पसले साताव्यापी खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । विभिन्न शैक्षिक कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।