सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेशस्तरमा राजनीतिक दलहरूबीचको गृहकार्यले गति लिन सकेको छैन।
प्रदेशमा कसैको पनि एकल बहुमत नभएकाले दलहरू केन्द्रमा बन्ने राजनीतिक समीकरणको पर्खाइमा छन्। केन्द्रीय समीकरणका आधारमा प्रदेशमा सरकार गठन गर्नुपर्ने अवस्थाका कारण सरकार गठनलाई लिएर प्रदेशस्तरमा दलहरू छलफलमा जुटिसकेका छैनन्। प्रदेशमा कस्तो सरकार बन्छ भन्ने अन्याेल छ।
प्रदेश सभामा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत छ। तर, केन्द्रीय सत्तासमीकरण यकिन नभएकाले गठबन्धनमै सरकार निर्माणको गृहकार्य हुन नसकेको हो। निर्वाचन आयोगबाट मतपरिणामसम्बन्धी अन्तिम विवरण प्राप्त गरेसँगै प्रदेश प्रमुखको कार्यालयले सदस्यहरूलाई शपथ गराउने र सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेको छ। दलहरुरू भने केन्द्रीय सहमतिको पर्खाइमै छन्।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ले प्रदेश सरकार गठनबारे प्रदेशस्तरमा राजनीतिक दलबीच छलफल नभएको बताए। ‘अहिले केही पनि छलफल भएको छैन। केन्द्रको समीकरण कुरिरहेका छौँ,’ उनले भने, ‘गठबन्धन कायम रहे यहाँ सरकार गठनमा धेरै समस्या हुँदैन।’
प्रदेशमा कुन पार्टीको नेतृत्वमा सरकार बनाउने भन्ने विषयसमेत केन्द्रमै टुंगाे लाग्ने भएकाले प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सरकार गठनबारेको छलफलमा अग्रसरता देखाएको छैन।
कांग्रेसबाट मुख्यमन्त्रीका प्रबल दाबेदार कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह थापाले सरकार गठनका विषयमा दलहरूबीच प्रदेशस्तरमा औपचारिक छलफल नभएको बताए।
‘केन्द्रमा समीकरण नबन्दासम्म प्रदेशमा हामी आफ्नो हिसाबले अगाडि बढ्ने अवस्था छैन,’ थापाले भने, ‘केन्द्रमा गठबन्धनको टुंगो लाग्नेबित्तिकै प्रदेशमा सरकार गठनको लागि छलफल अगाडि बढाउँछौँ।’
केन्द्रीय समीकरणबाहिर प्रदेशमा छुट्टै समीकरण बन्ने सम्भावना नरहेको उनले बताए । कांग्रेस ठूलो पार्टी भए पनि एकल सरकार गठन गर्ने हैसियतमा नरहेकाले केन्द्रको निर्णय पर्खेर बस्नुपरेको थापाले बताए।
कस्ताे छ प्रदेश सभाको अंकगणित ?
५३ सदस्यीय प्रदेश सभामा १९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। उसले प्रत्यक्षमा १२ र समानुपातिकमा सात सिट जितेको हो।
तीन समानुपातिक र आठ प्रत्यक्ष गरी ११ सिटसहित माओवादी दोस्रो तथा सात समानुपातिक र तीन प्रत्यक्ष गरी १० सिट पाएको एमाले तेस्रो ठूलो दल छ। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादीको चार, राप्रपाको एक सिट छ। समाजवादीका नेता डा. तारा जोशी स्वतन्त्र निर्वाचित भएका छन्।
सरकार गठनका लागि २७ सिट आवश्यक पर्नेमा यहाँ गठबन्धनको ३४ सिट छ । केन्द्रमा गठबन्धन कायम नरहेको अवस्थामा एमाले–माओवादी–समाजवादी–राप्रपा र स्वतन्त्रसहितको गठनबन्धनबाट सरकार निर्माणका लागि बहुमत पुग्छ । कांग्रेस–एमाले तथा कांग्रेस–नागरिक–राप्रपा मिलेर पनि सरकार गठन गर्ने संख्या पुग्छ।
एमालेका प्रदेश सचिवसमेत रहेका प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा सत्तासमीकरणका लागि एमालेले औपचारिक छलफल सुरु नगरेको बताए।
केन्द्रको समीकरण टुंगो नलागेसम्म प्रदेशमा कस्तो सरकार बन्छ भन्ने यकिन हुन नसक्ने उनले बताए। ‘माथिको समीकरण पर्खेका छौँ। त्यसपछि सरकार गठन र प्रदेश सभामा हाम्रो पार्टीको भूमिकालगायत विषयमा छलफल गर्छौँ,’ सचिव पाठकले भने
यी हुन् मुख्यमन्त्रीका आकांक्षी
सुदूरपश्चिममा माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै गर्दा अब कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भएको छ । यहाँ कांग्रेस र माओवादीसँगै एकीकृत समाजवादीका नेताहरूसमेत मुख्यमन्त्रीका लागि ‘लबिङ’मा छन्।
वर्तमान सत्तारूढ गठबन्धन कायम रहेको अवस्थामा यहाँ पहिलो दुई–अढाई वर्षका लागि पुनः माओवादी नेतृत्वमै सरकार बन्ने सम्भावना छ। माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीमा निर्विकल्पजस्तै दाबेदार छन्।
डडेल्धुराबाट निर्वाचित भट्टलाई मुख्यमन्त्री बनाउन प्रधानमन्त्री देउवा पनि सकारात्मक छन्। गृहजिल्ला डडेल्धुराका चुनावी सभामै देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए।
भट्ट ०६४, ०७० र ०७४ को चुनावमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट देउवासँगै पराजित भएका थिए। ‘मुख्यमन्त्रीमा मेरो दाबी स्वाभाविक हो,’ भट्टले भने, ‘यसमा गठबन्धनका शीर्ष नेताबीच चुनावअघि एकखालको सहमति भएको छ।’
गठबन्धन कायम रहेर केन्द्रमा माओवादी नेतृत्वमा सरकार बन्ने अवस्थामा भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार बन्ने र भट्ट दाेस्राे चरणमा मुख्यमन्त्री बन्ने सम्भावना रहेको नेताहरूको आकलन छ।
‘अहिलेकै गठबन्धनबाट देउवा पुनः प्रधानमन्त्री भए यहाँ पहिलो चरणमा माओवादीले मुख्यमन्त्री पाउँछ। प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्थामा सुदूरपश्चिममा मुख्यमन्त्री कांग्रेसले लिन सक्छ,’ माओवादीका एक नेताले भने, ‘सात प्रदेशमा मिलाउँदा सुदूरपश्चिम समाजवादीको भाग पनि पर्न सक्छ । तर, प्रदेशमा दलहरूले केही गर्न सक्ने अवस्था छैन, जे सहमति हुन्छ, केन्द्रमै हुने हो।’
कांग्रेसबाट मुख्यमन्त्रीमा थापासहित दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवा, कमलबहादुर शाहलगायतले आकांक्षा देखाएका छन्। कांग्रेसका पुराना नेता थापा र विष्ट संविधानसभा सदस्य हुन्।
विष्ट पार्टीमा संस्थापन इतर हुन्। खड्का प्रदेश महामन्त्री हुन् भने देउवा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका भजिता हुन्। थापाले पार्टी नेतृत्वको सहमतिमै मुख्यमन्त्री बन्नका लागि आफू प्रदेशमा चुनाव लडेको बताएका छन्।
एकीकृत समाजवादीबाट दीर्घ सोडारी मुख्यमन्त्रीका दाबेदार छन्। उनी अहिले भौतिक पूर्वाधार विकासमन्त्री छन्। एमालेबाट राजेन्द्रसिंह रावललगायत मुख्यमन्त्रीका दाबेदार हुन्।