कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ ।
दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ ।
पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।
निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ । शनिबार कांग्रेस कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा २४ प्रत्यक्ष (महामन्त्री विश्वप्रकाश शर्मासमेत गरी । शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन् ।) र, १० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता र बुधबार मतदानको कार्यतालिका तय भएकाे छ ।