मेलम्ची खानेपानी आयोजनाको लापरबाहीले पानी वितरण गरिएको पाइप फुट्दा सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न भएको छ । आयोजनाले पूर्वसूचना तथा तयारीविना नै मोटो पाइपबाट पानी वितरण गर्दा पाइप गाँसिएको ठाउँ (ज्वाइन्ट)मा फुटेर सडक डुबानमा परेको हो ।
खानी तथा भूगर्भ विभागअगाडि रहेको मूल सडकमा बिछ्याइएको सात सय एमएम डायमिटरको जिआई पाइप फुटेको थियो । पाइपबाट प्रेसरले निस्किएको पानीले केहीबेरमै लैनचौर क्षेत्रको सडक खोलो बनेको थियो । अपराह्न करिब आधा घन्टामा ४० लाख लिटर पानी सडकमा बगेको थियो ।
फुटपाथका संरचनासमेत सोहोर्दै बगेको पानीले सडकमा यात्रारत स्कुले विद्यार्थीदेखि सर्वसाधारण हिलाम्य भएका थिए । सडकमा पानी जमेका कारण लैनचौर क्षेत्रमा ट्राफिक जामसमेत बढेको थियो । त्यहाँ सवारी आवागमनमा भएको असरले पुतलीसडक, माइतीघर, सुन्धारा, बागबजारलगायत क्षेत्रमा समेत जामको सास्ती खेप्नुप¥यो ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले यही पाइपबाट असारमा दुईपटक पानी पठाउँदा नफुटेकाले यसपटक सूचना नदिइएको बताए । ‘यस क्षेत्रमा असारमै परीक्षण भएको थियो, तर यसपटक पानी पठाउँदा ज्वाइन्टमा फुटेको छ,’ उनले भने, ‘सडक विभाग, महानगरपालिका र विद्युत् प्राधिकरणले ढलपाइप, बिजुलीको तार भूमिगत गर्दा हाम्रो पाइप फुटाएका हुन सक्छन् ।’ तर, फुटेको पाइप पिआइडीले मर्मतसमेत गरेको छैन । उक्त पाइप मंगलबार मर्मत गरेर पानी वितरण हुने सापकोटाले बताए ।
वर्षाका कारण मेलम्चीको बाँधमा क्षति पुर्याउन सक्ने भन्दै गत असारदेखि बाँधबाटै ढोका बन्द गरिएको मेलम्चीको पानी २३ मंसिरमा काठमाडौं झारिएको थियो । उपत्यकामा रहेका ट्यांकी भरिएपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले मेलम्चीको पाइपलाइनबाट पानी वितरण गर्ने क्रममा सोमबार लैनचौर–त्रिपुरेश्वर क्षेत्रमा पठाएको थियो । तर, लैनचौरमा पाइप फुटेपछि त्रिपुरेश्वरसम्म पानी पुग्न सकेन । करिब आधा घन्टा सडकमा पानी बगेपछि पानीपोखरीस्थित ट्यांकी बन्द गरिएको थियो ।
अब अन्य क्षेत्रमा पानी पठाउँदा पूर्वसूचना दिइने
पिआइडीले कोटेश्वर, बालाजु, महांकाल, अनामनगर, बानेश्वर, ललितपुरलगायत क्षेत्रमा पानी पठाउने तयारी गरेको छ । यी क्षेत्रमा पनि पानी छाड्दा पाइप फुट्न सक्ने भन्दै पिआइडीले पूर्वसूचना जारी गर्ने जनाएको छ । मेलम्चीको पाइप गाडेको ठाउँमा अन्य निकायले आ–आफ्नो प्रयोजनका लागि खोतलेकाले कतै–कतै ज्वाइन्ट वा पाइप फुटेको हुन सक्ने पिआइडीको आशंका छ ।
मेलम्चीको पानी वितरणका लागि उपत्यकामा १० वटा कुल ७४ हजार घनमिटरका ट्यांकी बनाइएका छन् । यी सबैजसो ट्यांकी परीक्षण भइसकेका छन् । काठमाडौंको महांकाल, बानेश्वर, बाँसबारी, पानीपोखरी, बालाजु, कीर्तिपुर, खुमलटार, अनामनगर, भक्तपुरको कटुन्जेलगायत ठाउँमा करिब ८०–८० लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गरिएको छ । सो ट्यांकीबाट नयाँ तालिकासहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरण गर्नेछ । तर, नयाँ तालिका भने बनिसकेको छैन ।
आधा घन्टामा ४० लाख लिटर पानी सडकमा
मेलम्चीको पानीपोखरीस्थित नयाँ ट्यांकीमा ८० लाख लिटर पानी अट्छ । यो पानी लैनचौर, रत्नपार्क, वसन्तपुर, सुन्धारा हुँदै त्रिपुरेश्वरसम्म वितरण गरिन्छ । करिब एक घन्टा वितरण गर्दा ट्यांकीमा पानी रित्तिन्छ । त्यसैले, पाइप फुटेर आधा घन्टासम्म पानी पोखिएकाले ४० लाख लिटर सडकमा बगेको हिसाब छ ।