१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रतिकात्मक तस्बिर
२०७९ मङ्सिर २२ बिहीबार १७:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटमा एक महिनामा तीनवटा विद्युत् ट्रान्सफर्मर चोरी

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २२ बिहीबार १७:०१:००

रौतहटमा बिजुलीको ट्रान्सफर्मर चोरी हुन थालेको छ। जिल्लाका विभिन्न स्थानमा पछिल्लो एक महिनामा मात्र तीनवटा ट्रान्सफर्मर चोरी भएको छ। पछिल्लो समय जिल्लामा ट्रान्सफर्मर चोरको गिरोह सक्रिय भएको पाइन्छ।

फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गत विजयपुर सन्तपुर जाने कालोपत्रे सडकछेउमै सिँचाइ प्रयोजनका लागि राखिएको विद्युत् ट्रान्सफर्मर चोरी भएको छ। १०० एम्पिएरको ट्रान्सफर्मर गएराति चोरी भएको स्थानीय चन्द्रकिशोर यादवले बताए।

विद्युत् ट्रान्सफर्मर चोरिएपछि भूमिगत सिँचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल बन्द भएको छ। गहुँ खेतीको समयमा डिप ट्युबवेल सिँचाइ बन्द हुँदा फतुवाका दर्जनौँ किसान कठिनाइमा परेका स्थानीय अजय यादवले गुनासो गरे। किसानको समस्यालाई ध्यानमा राखी अविलम्ब उक्त स्थानमा अर्को ट्रान्सफर्मर राखेर सिँचाइ सेवा सञ्चालन गराउन यादवले आयोजनासँग माग गरेका छन्।

यसअघि कटहरिया– ४ बालुवाको डिप ट्युबवेलनजिकैको ट्रान्सफर्मर चोरी भएको थियो। चोरको गिरोहले उक्त डिप ट्युबवेलसँग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सफर्मर चोरेर लगेको नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाका प्रमुख सञ्जीवकुमार दासले जानकारी दिए।

त्यसैगरी, बौधिमाई नगरपालिका– ४ दुर्गा मन्दिरछेउमा रहेको १०० एम्पिएरको ट्रान्सफर्मर पनि दुई साताअघि  चोरी भएको थियो। केन्द्रका प्रमुख दासका अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य करिब चार लाख रुपैयाँ पर्छ। ट्रान्सफर्मरभित्र रहेको तामाको क्वाएल तार बिक्री गर्नका लागि चोरी हुने गरेको प्राधिकरणको अनुमान छ।

एकै रात दुई पम्पसेट चोरी
यता रौतहटको  फतुवा विजयपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट एकै रातमा दुईवटा पम्पसेट चोरी भएको छ। गहुँबारीमा पानी पठाउन बोरिङमा जोडिएको आठ हर्जपावरको दुईवटा पम्पसेट बुधबार राति चोरी भएको स्थानीयले बताए। फतुवा विजयपुर– १ गमहरिया गाउँछेउ खेतमा रहेको स्थानीय सन्तलाल यादव र परमानन्द यादवको पम्पसेट चोरी भएको पीडितहरूले बताएका छन्।

गहुँको सिजनमा पम्पसेट चोरी हुनु तथा सिँचाइको अन्य सुविधा नहुनुले दर्जनौँ किसानलाई ठूलो समस्या भएको स्थानीय किसान दीपलाल यादवले दुखेसो पोखेका छन्।