१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २० मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले पायो भारतको एक्जिम बैंकबाट ‘व्यापार सहायता कार्यक्रम’को सदस्यता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २० मंगलबार १०:३३:००

 नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक)को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो बैंक हो । 

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको जनाइएको छ । यसले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात–निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने बैंकले विश्वास व्यक्त गरेको छ । यो सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्ने जनाइएको छ । 

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्ने र वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारलाई सहज गर्ने बैंकले जनाएको छ । यस व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोसेढुंगा साबित हुने बैंकले दाबी गरेको छ ।

एक्जिम बैंक आयात–निर्यात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था रहेको जनाइएको छ । भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवद्र्धन, वित्तपोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौँदेखि एक्जिम बैंकले महत्वपूर्ण भूमिका खेल्दै आएको बैंकले जनाएको छ । 

बैंकले देशभरमा दुई सय ३३ शाखा, दुई सय ६९ एटिएम, असंख्य पिओएस टर्मिनल, रेमिट्यान्स एजेन्ट र दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय करेस्पोन्डेन्ट बैंकिङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।