४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सबै मतदाता गाउँ फर्केका छन्। निर्वाचन आउन एक दिन मात्र बाँकी रहँदा मतदान गर्न मतदाता गाउँ फर्केका हुन्।
मतदान गर्ने दिन नजिकिँदै गर्दा सहरलाई अस्थायी थलो बनाएका मतदाता गाउँ फर्किएका हुन्। जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू केही दिनलाई कामको चाँजोपाँजो मिलाएर आफ्नो स्थायी ठाउँमा फर्किएका हुन्।
चुनावमा आफूले रोजेको र जनताका समस्यालाई हल गर्ने नेतालाई भोट हाल्न अहिले सदरमुकामबाट सयौँ यात्रु बाहिरिएका छन्। अन्य ठाउँ तथा राजधानी, सुर्खेत, नेपालगन्जबाट आउँदै छन्। बजारबाट गाउँ फर्किनुपर्ने हुँदा हिजो आज जुम्लाको बसपार्कमा यात्रुहरूको निकै भिडभाड हुने गरेको छ।
शुक्रबार बिहानै परिवारसहित बसपार्कमा भेटिए सिँजाका भक्त बुढाले भने, 'विगत १० वर्षदेखि अधिकांश समय जुम्लाको सदरमुकाममा बस्दै आएको छु। जहान परिवार बटुलेर घर फर्केको छु।'
कतिपय जुम्ला बजारबाट पैदल गरेर आफ्नो गाउँघर गएका छन् भने कतिपय पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ गरी मतदाताहरूलाई लगेको पाइएको छ।
एकसाथ हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन्। प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ मा जम्मा ३६ हजार सात सय ८३ मतदाता छन् भने क्षेत्र नं २ मा ३१ हजार ८ सय ५५ मतदाता छन्।
जुम्लामा १ हाजार ९ सय ५४ जना सुरक्षाकर्मीहरू खटिएका छन्। ८ सय ४३ म्यादी प्रहरी, २ सय २६ नेपाल प्रहरी ,४ सय ५० नेपाली सेना र २ सय ३५ सशस्त्र प्रहरी छन्।
जुम्लामा १ सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी १ सय ८ मतदान केन्द्र र ८६ मतदान स्थल छन्। निर्वाचनको लागि ८ सय ४८ कर्मचारीहरू खटाइएको छ। निर्वाचनलाई लक्षित गरी मतदान स्थल रहेका शिक्षण संस्थाहरू कात्तिक ५ गतेसम्म बन्द भएका छन्। यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरू ४ र ५ गते बन्द हुनेछन्।