१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ मङ्सिर ३ शनिबार ०७:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : पाँच लाख मतदाताले काठमाडौं उपत्यका छाड्दै

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ मङ्सिर ३ शनिबार ०७:३८:००

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न करिब पाँच लाख मतदाता जिल्ला जाने भएका छन् । मतदाता बुधबारदेखि जिल्ला जान थालेको र शनिबारसम्म यो संख्या पाँच लाख पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । विभिन्न जिल्लाबाट राजधानीमा बसोवास गर्दै आइरहेका चुनावका लागि मंगलबारदेखि नै घर फर्किन थालेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टका अनुसार शनिबार रातिसम्म झन्डै पाँच लाख यात्रु घर फर्कने अनुमान गरिएको छ । दसैँ–तिहारको वेलाझैँ सडकमा घर फर्कनेको भिड लागेको उनले बताए । चुनावी सुरक्षामा ट्राफिक प्रहरी खटिनुपरेकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । ट्राफिक प्रहरीका अनुसार विभिन्न यात्रुवाहक सवारीसाधनमा मंगलबार ४० हजार ३५९, बुधबार ५५ हनार ३४५, बिहीबार ६३ हजार ३२४ र शुक्रबार दिउँसोसम्म ८० हजार यात्रु बाहिरिएका छन् । शनिबार उपत्यका छाड्नेको संख्या थप बढ्ने अनुमान छ । निर्वाचन आयोगले चुनावी सुरक्षालाई ध्यानमा राख्दै मतदानको अघिल्लो दिन राति १२ बजेदेखि यातायातमा रोक लगाएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका चारवटै नाकामा घर फर्कनेको भिड बढेको छ । बिहान तथा बेलुकी लामो दूरीका बस कोटेश्वर, बालाजु, कलंकी, गौशाला, नयाँ बसपार्क, भक्तपुर जगाती, बल्खुलगायत क्षेत्रबाट छुट्ने गरेका छन् । मतदान गर्न घर फर्कनेको भिडभाड बढेकाले सवारीसाधनको चाप पनि बढेको छ । चुनावलाई लक्षित गर्दै सरकारले शैक्षिक संस्था बिहीबारदेखि बन्द गरेको छ । त्यस्तै, चुनावसँग सम्बन्धित बाहेकका अन्य सरकारी तथा निजी कार्यालय बन्द भएपछि सर्वसाधारण मतदानका लागि आ–आफ्नो क्षेत्रतर्फ लागेका हुन् । 

गाडी रिजर्भ गरेर मतदाताओसार्दै दल तथा उम्मेदवार

देशका विभिन्न जिल्लाबाट राजधानी आएर बसोवास गर्दै आइरहेकालाई चुनावमा घर फर्कँदा सहज भएको छ । जिल्लास्थित पार्टी कार्यालय तथा उम्मेदवारले गाडी रिजर्भ नै गरेर निकटका मतदाता ओसारेका छन् । ‘दसैँ–तिहारको वेला घर फर्कँदा गाडी नपाएर तनाव हुन्छ, तर अहिले सहजै गाडी पाइन्छ, त्यो पनि भाडा तिर्नुपर्दैन,’ शुक्रबार घर फर्कनका लागि कलंकीमा तम्तयार भएका रुपन्देही सैनामैनाका मनोज पौडेलले भने । सबैजसो गाडी रिजर्भमा प्रयोग हुन थालेपछि राजधानीनजिकका जिल्लाका कतिपय सर्वसाधारणलाई घर फर्कन कठिन हुने गरेको छ । ‘आफ्नो क्षेत्रका मतदाता बोक्न विभिन्न दलहरूले छुट्टै गाडीको व्यवस्था गर्ने गरेका छन्, यो निर्वाचन आचारसंहिताविपरीत भए पनि भोट हाल्न जानेलाई चाहिँ सहज भएको छ,’ शुक्रबार कलंकीस्तिथत ट्राफिक व्यवस्थापनमा खटिएका एक ट्राफिक प्रहरीले भने । 

उपत्यकामा कार्यरत ट्राफिक प्रहरी अधिकांश चुनावी सुरक्षामा खटिएपछि ट्राफिक व्यवस्थापनमा म्यादी प्रहरी खटिएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनमा झन्डै चार सय म्यादी प्रहरी खटाइएको छ । मुख्य–मुख्य चोकमा ट्राफिकसँग म्यादीलाई खटाइए पनि कतिपय ठाउँमा म्यादी प्रहरी मात्रै खटेका छन् । उपत्यकाभित्रका मतदान केन्द्र र स्थललाई सुरक्षित बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।