१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Friday, 05 July, 2024
२o७९ मङ्सिर २ शुक्रबार १o:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आफ्नै टिएमएस चलाउन ३४ ब्रोकर तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १o:४८:oo

३४ ब्रोकर कम्पनीहरू आफ्नै टिएमएस चलाउन तयार भएका छन् । बाँकी १६ ब्रोकर कम्पनीले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै टिएमएस चलाउने नेपाल ब्रोकर एसोसिएसनले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३३ ब्रोकरले श्रीलंकन कम्पनीको र एक ब्रोकरले भारतीय कम्पनीको टिएमएस प्रयोग गर्ने विवरण उल्लेख गरेका छन् । टिएमएस चलाउन ३४ वटा ब्रोकर कम्पनी सम्पूर्ण रूपले तयारी अवस्थामा रहेको ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । उनले भने, ‘हामीले पूर्वाधार निर्माणदेखि प्राविधिक काम पनि अन्तिम चरणमा पुर्‍याएका छौँ, निरीक्षणपछि एपिआई पाउन बाँकी रहेको छ ।’ एपिआई नेप्से र ब्रोकर कारोबारसँग जोडिने वा कनेक्ट गर्ने काम हो । 

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयनमा आएसँगै ब्रोकरहरूले आफ्नो इच्छाअनुसारको टिएमएस चलाउन पाउने भएका हुन् । ३३ ब्रोकरहरूले श्रीलंकाको ‘आइरन’ कम्पनीको र एक ब्रोकर कम्पनीले भारतीय ‘डिएन ग्लोबल सोलुसन’ कम्पनीको टिएमएस प्रयोग गर्ने विवरण आएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनले भने, ‘ब्रोकरहरूले बुझाएका सबै विवरणको अध्ययन सकिएको र सबै योग्य पाएका छौँ, अब ब्रोकरहरूले टिएमएस बनाइसकेपछि त्यसको पनि अध्ययन र निरीक्षण गरेर अनुमति दिनेछौँ ।’

गत वैशाखमा नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा टिएमएस विकासकर्ता कम्पनीसँग पाँच वर्षको कार्य अनुभव भएको, विगत तीन वर्षयता लगातार वार्षिक औसतमा सात करोड रुपैयाँको कारोबार गरेको कम्पनी हुनुपर्ने उल्लेख छ ।भारतीय कम्पनीको टिएमएस चलाउन इच्छुक एक मात्र ब्रोकर कम्पनी भने नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ हो । ब्रोकर कम्पनीहरूले छनोट गरेका कम्पनीको टिएमएसका बारेमा छुट्टै प्रस्तुतिसमेत दिनुपर्ने जानकारी नेप्सेले दिएको छ । नेप्सेले ती कम्पनीहरूबारे जाँचबुझ गरी उपयुक्त देखेमा मात्र स्वीकृति दिने तयारी रहेको छ ।

३३ ब्रोकर कम्पनीले रोजेको श्रीलंकन आइरन वान कम्पनी स्टक बजारसँग सम्बन्धित सफ्टवेयर उत्पादन गर्ने कम्पनी रहेको बताइएको छ । श्रीलंकाको कोलम्बोमा मुख्य कार्यालय रहेको यस कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो शाखा विस्तार गरेको ब्रोकरहरू बताउँछन् ।श्रीलंकन टिएमएस भित्र्याउन नेपालस्थित स्थानीय कम्पनी डिजी हबलाई जिम्मा दिइएको ब्रोकरहरूको भनाइ छ ।हाल नेप्सेको अनलाइन कारोबार प्रणालीमा १४ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन् । कारोबार प्रणालीलाई सहज बनाउन नेप्सेले स्वैच्छिक रूपमा टिएमएस चलाउन सकिने व्यवस्था लागू गरेको हो ।

विदेशी कम्पनीले नेपालमा कारोबार व्यवस्थापन प्रणाली विकास गर्न स्थानीय प्रतिनिधि कुनै संस्था वा कम्पनी नियुक्त गरेको हुनुपर्ने व्यवस्थासमेत विनियमावलीमा छ । स्थानीय प्रतिनिधिको चुक्ता पुँजी एक करोड र तीन वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्थासहित सफ्टवेयर विकास गर्न सकने र मर्मत–सम्भार गर्न सक्ने दक्ष जनशक्ति हुनुपर्छ ।

हाल नेप्सेले वाइको कम्पनीले बनाएको टिएमएस सञ्चालन गरिरहेको छ । नेप्सेको टिएमएसमा विभिन्न समस्या आएको भन्दै ब्रोकर कम्पनीहरूले आफ्नै टिएमएस चलाउन माग गर्दै आएका थिए । नेप्सेले ०७५ साल कात्तिक २० गतेदेखि नेपालको धितोपत्र दोस्रो बजारलाई पूर्ण अनलाइन प्रविधिमैत्री बनाउँदै आएको हो ।

ad
ad
ad
ad