मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर १ बिहीबार १०:३९:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

भीम रावल मैदानबाहिरै रहँदा अछाममा गठबन्धनलाई सहज

स्थानीय चुनाव मत अंकगणित : दुबै क्षेत्रमा एमाले करिब दश हजार मतले पछाडि

Read Time : > 4 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १०:३९:००

अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रमा एमालेलाई चुनौती थपिएको छ । गत स्थानीय तहको प्राप्त मत अंकगणितअनुसार एमाले कमजोर देखिएपछि उसलाई चुनौती थपिएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धको मतसंख्या २६ हजार दुई सय ७० छ भने एमालेको १६ हजार पाँच सय ६७ मात्रै देखिन्छ । यसअनुसार क्षेत्र नम्बर १ मा गठबन्धनभन्दा एमाले नौ हजार सात सय तीन मतले पछाडि छ ।

स्थानीय तहका पालिका प्रमुखको मतभारअनुसार यो क्षेत्रबाट एमाले शून्य छ भने कांग्रेसले चार र माओवादी केन्द्रले एउटा पालिका प्रमुख जितेको थियो । साँफेबगर नगरपालिका, चौरपाटी, मेल्लेख, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिकाका जम्मा ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, माओवादीले पाँच, एकीकृत समाजवादीले दुई र स्वतन्त्र तीनले वडाध्यक्ष जितेका हुन् । 

यहाँ कांग्रेस वडाध्यक्षको मत १६ हजार सात सय २८ छ भने एमालेको १६ हजार पाँच सय ६७, माओवादीको ६ हजार सात सय ९० र एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार सात सय ५२ मत प्राप्त गरेका थिए । जसअनुसार गठबन्धनको मतसंख्या २६ हजार दुई सय ७० हुन आउछ  । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को मत अंकगणितमा पनि एमाले कमजोर छ । यहाँका पाँच स्थानीय तहमा गत वैशाखमा सम्पन्न निर्वाचनमा प्रमुख र अध्यक्षले प्राप्त गरेको मतअनुसार गठबन्धको मतसंख्या २८ हजार एक सय ११ छ भने एमालेको १८ हजार पाँच सय १७ मात्रै छ । जसअनुसार एमालेभन्दा गठबन्धन नौ हजार पाँच सय ९४ मतले अगाडि छ । 

क्षेत्र नम्बर २ मा रहेका मंगलसेन, पञ्चदेवल विनायक र कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामध्ये एमालेले मंगलसेनबाहेक अन्य कुनै पनि पालिकामा जित्न सकेन । मंगलसेनमा भने एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । वडा तहको अंगकणितअनुसार यहाँका ४९ मध्ये हालको गठबन्धनले  २६ र एमालेले २२ वडा जितेको थियो । यहाँ कांग्रेसले २१, माओवादी केन्द्रले दुई र समाजवादीले तीन वडा जितेको हो । एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए । स्थानीय चुनावमा यो क्षेत्रमा कांग्रेसले १९ हजार पाँच सय ५७, माओवादी केन्द्रले ६ हजार दुई सय ६३ र नेकपा एकीकृत समाजवादीले दुई हजार दुई सय ९१ मत पाएको थियो । 

अछाम १ मा भीम रावल मैदानबाहिर रहँदा कुँवरलाई सहज
एमालेले अछाममा नयाँ उम्मेदवार खडा गर्दा गठबन्धनलाई सहज भएको छ । एमाले  पूर्वउपाध्यक्ष भीम रावललाई छाडेर झपट बोहरालाई उम्मेदवार बनाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शेरबहादुर कुँवर सेफजोनमा पुगेका हुन् । हरेक निर्वाचनमा अछाम १ बाट जित्दै आएका रावल यसपटक चुनावी मैदानमा छैनन्, उनी चुनावी प्रचारमा अछाम पनि गएनन् । बरु एमालेले पूर्वमाओवादी नेता बोहरालाई उम्मेदवार बनाएको छ ।

यो क्षेत्रमा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि गठबन्धनबाट प्रदेश सभा (क) मा कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्का र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका झपटबहादुर साउद उम्मेदवार छन् । एमालेबाट प्रदेश सभा (क) मा देवबहादुर कुँवर र प्रदेश सभा (ख) मा कृष्णप्रसाद जैसी चुनावी प्रतिस्पर्धामा छन् । 

समृद्धिलाई गति दिनेछु : शेरबहादुर कुँवर 
समृद्धिको यात्रालाई गतिशील बनाउन उम्मेदवारी दिएको हुँ । विगतमा मैले अछामको विकासमा जे–जति गरेँ त्यसलाई थप गति दिनु छ । म संविधानसभा सदस्य र राष्ट्रय सभा सदस्य हुँदा जिल्लामा समृद्धिको ढोका खुल्यो । अब अधुरा, अपूरा काम पूरा गरेर पूर्वाधार विकासलाई गुणात्मकस्तरमा गति दिन म अघि सरेको हुँ । चुनाव जितेर नेताहरू गाउँ फर्किँदैनन् भन्ने आरोप चिर्न म विगतमा सधैँ जनताकै वरिपरि रहिरहेँ र अब पनि उहाँहरूकै काममा कटिबद्ध भएर लाग्नेछु । 

मेरो विगत पनि जनतालाई राम्रोसँग थाहा छ । शालीनता र निष्ठाका साथ म यो समाजको सिपाहीका रूपमा खटिएको छु । सबैका कुरा सुन्ने र समस्यामा परेका जोकोहीलाई पनि सहयोग गर्ने मेरो पहिल्यैदेखिको बानी हो । त्यही भएर पनि गाउँस्तरका जनतासँग म सधैँ नजिक हुन्छु । यहाँका हरेक घरमा पुगेको छु । सबैका समस्या थाहा छन् । यिनै कुरालाई मनन गरेर जनताकै सुविधाका लागि गाउँमा सडक, विद्यालय, खानेपानी, सिँचाइजस्ता कैयौँ आवश्यकताका लागि म निरन्तर लडिरहेको छु । अब पनि मेरो त्यो यात्रा रोकिनेछैन । 

यो क्षेत्रको विकास गर्नेछु : झपट बोहरा  
यसअघि म प्रदेश अर्थमन्त्री हुँदा अछामका लागि धेरै गरेको छु । यहाँको विकासमा मेरो ठूलो योगदान छ । त्यो जनताले नजिकबाट बुझेका छन् । अब गर्नुपर्ने अधुरा धेरै काम छन् । त्यसैका लागि म यसपटक पनि चुनावी मैदानमा छु । अब जितेर यहाँको विकासलाई पहिलो प्राथमिकतामा राख्नेछु । मतदाता र पार्टीका शुभचिन्तक सबैको साथ छ । एमालेले अघि सारेको विकास, सुशासन र समृद्धिलाई निरन्तरता दिन म अब पनि निरन्तर लाग्नेछु । 

अछाममा एमाले कमजोर छैन । हामी हिजो पनि बलियो र आज पनि बलियो नै हो । अन्य जति दलले गठबन्धन गरे पनि हामीलाई फरक पर्दैन । अहिलेको गठबन्धन हामीभन्दा करिब दश हजार मतले अघि भए पनि यो क्षेत्रमा मैले लोकप्रिय मत धेरै पाउँछु । उहाँहरूको अहिले देखिएभन्दा बढी त मेरो व्यक्तिगत लोकप्रियताले मत आउँछ । एमाले सरकारका पालामा भएका कैयौँ जनमुखी कामबारे तल्लो तहसम्म सबैलाई जानकारी छ । त्यसैले यसपटक पनि एमालेकै जित हुन्छ । यसमा हामी ढुक्क छौँ । 

अछाम २ मा हारको बदला लिने मुडमा शाह 
अछाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह र एमालेबाट यज्ञबहादुर बोगटी चुनावी मैदानमा छन् । उनीहरू दुवै यसअघि प्रतिनिधिसभा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । त्यसवेला संयुक्त वाम–गठबन्धनका तर्फबाट उम्मेदवार रहेका बोगटी दुई हजार आठ सय ५९ मतान्तरले विजयी भएका थिए ।  अहिले ठीक फरक गठबन्धन हुँदा बदला लिने योजनामा शाह रहेका छन् ।

अहिले गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा माओवादी केन्द्रबाट अक्कलबहादुर रावल र प्रदेश सभा (ख) मा कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । 

एमालेबाट भने प्रदेश सभा (क) मा भीमबहादुर विष्ट र प्रदेश सभा (ख) मा शिवप्रसाद उपाध्याय चुनावी प्रतिस्पर्धामा छन् । 

समृद्धिको ढोका खोल्नेछु : पुष्पबहादुर शाह 
अछाम जिल्लाको क्षेत्र नम्बर २ निकै पिछडिएको क्षेत्र हो । यो क्षेत्रका नागरिक अहिले पनि धेरै कुराको अभावमा छन् । विगतमा यो क्षेत्रबाट जित्नेहरूले केवल आश्वासनबाहेक अरू केही दिन सकेनन् । भोट माग्ने वेला गाउँ आउने र अरू वेला मुखै नदेखाउने प्रवृत्ति देखियो । जसका करण यो क्षेत्र झन् पीडामा रहँदै आएको छ । यहाँ साँच्चिकै केन्द्रमा प्रतिनिधित्व गर्ने कुसल प्रतिनिधिको खाँचो थियो । त्यसैले म यसपटक क्षेत्र नम्बर २ का जनताको असल र इमानदार प्रतिनिधिका रूपमा चुनावी मैदानमा छु ।

अरूले विगतमा जितेर पनि जनताप्रति देखाएको व्यवहारले नै यो क्षेत्रका मानिस आजित छन् । म आफू जहाँ–जस्तो अवस्थामा रहे पनि यो क्षेत्रको विकास, समृद्धि र उन्नतिका लागि निरन्तर खटिएको कुरा सबैले बुझेका छन् । म इमानदार छु भनेर म आफैँले भनिरहनुपर्दैन । त्यो कुरा सबैलाई थाहा नै छ । म पूर्वी अछाममा समृद्धिको ढोका खोल्नेछु । त्यो जिम्मेवारी मलाई यहाँका जनताले दिने छन् भन्नेमा विस्वस्त छु । यसपटक गठबन्धनका उम्मेदवार करिब दश हजार मतले अगाडि छौँ । जनताको पनि राम्रो साथ छ । त्यसैले जित्न कुनै समस्या छैन । अत्यधिक मतले विजयी हुन्छौँ । 

विगतका अधुरा काम पूरा गर्नेछु : यज्ञबहादुर बोगटी
मैले यसअघि प्रतिनिधिसभामा हुँदा पनि सामाजिक रूपान्तरणका धेरै काम गरेको छु । यसबारे यहाँका जनता जानकार छन् । समृद्धिका लागि मैले त्यसवेला विशेष पहल गरेकाे थिएँ । अझै शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणका सवालमा सबै काम पूरा हुन सकेका छैनन् । त्यसका लागि म फेरि उम्मेदरवारका रूपमा अघि सरेको हुँ । अहिले हामी यहाँका सबै ४७ वडामै पुगेर मतदाता भेटेका छौँ । उहाँहरूको हामीप्रति सकारात्मक धारणा छ । त्यसैले यसपटक हामी जित्नेमा ढुक्क छौँ । 

यस क्षेत्रको विकासका लागि एमालेले नै गर्न सक्छ भन्ने कुरा यहाँका मानिसले राम्रोसँग बुझेका छन् । प्राविधिक शिक्षादेखि पुल निर्माणसम्मका केही कामको सुरुवात गरेको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन । अब त्यो काम पूरा गर्नेछु । त्यसैले पनि यहाँका मतदाताले मलाई जिताउनेमा म ढुक्क छु । 

दुवै क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि मैदानमा 
अछामका दुवै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा कांग्रेस महासमिति सदस्य राजन कुँवर र होटेल व्यवसायी हिक्मत कुँवर पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा चन्द्रप्रसाद ढुंगाना स्वतन्त्र उम्मेदवार हुन् । उनी यसअघि कांग्रेस जिल्ला उपसभापति थिए । पार्टी नेताहरूको कार्यशैली ठीक नभएको भन्दै पार्टीबाट राजीनामा दिएर केही समय तटस्थ बसेका ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।