मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Wednesday, 18 December, 2024
रमेश सुवेदी काठमाडौं
२o७९ कार्तिक २९ मंगलबार o६:४९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युएईविरुद्धको पहिलो खेलमै नेपाल पराजित

डेब्यु गरेका अर्जुन साउद र पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा नेपाल पहिलो एकदिवसीय खेलमा युएईसँग ८४ रनले पराजित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार o६:४९:oo

नेपाल पहिलो एकदिवसीय खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग ८४ रनले पराजित भएको छ । नेपाली क्रिकेट इतिहासकै कान्छो कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपाली खेलाडी ब्याटिङ, फिल्डिङ र बलिङमा चुकेका छन् । आधिकारिक रूपमा रोहितले कप्तानी गरेको पहिलो खेलमा नेपालबाट अर्जुन साउदले डेब्युको अवसर पाए । युएईविरुद्ध पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरी र डेब्यु खेलाडी अर्जुनको अर्धशतकीय इनिङ्स नै नेपाली टोलीका लागि मुख्य पक्ष रह्यो । यसबाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा नेपालले पहिलो खेल गुमाउन पुग्यो । युएईले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।

नेपालको ब्याटिङमा दुई अर्धशतक
त्रिविको घरेलु मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । युएईले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ६३ रन बनाएको थियो । एकदिवसीय खेलमा सहज मानिएको लक्ष्य पछ्याउँदा नेपाली टोलीले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । नेपालको ब्याटिङमा अर्जुनले ५१ रन तथा दीपेन्द्रसिंहले ५४ रनको योगदान दिएका थिए । अर्जुनले ७९ बलमा पाँच चौका प्रहार गरे । उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रसिंहले ८४ बलमा ६ चौका प्रहार गरेका थिए । गत आइतबार सम्पन्न प्रधानमन्त्री एकदिवसीय कपमा दीपेन्द्रसिंहले दुईपटक शतकीय इनिङ्स खेलेका थिए । आफ्नो उत्कृष्ट फर्मलाई यथावत् राखी दीपेन्द्रसिंहले युएईविरुद्ध डटेर ब्याटिङ गरेका थिए । 

युएईको बलियो ब्याटिङ
त्रिविको पिचमा युएईका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे । नेपाली बलरहरूविरुद्ध उनीहरूले खुलेर ब्याटिङ गर्दा स्कोर बोर्डमा प्रतिओभर ५.६ रनरेटमा ब्याटिङ गरेका थिए । युएईका ओपनर मुहमद वासिम र अर्विन्दले पहिलो विकेटका लागि १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ बलमा ४४ रनको योगदान दिए । उनले ६ चौका र एक छक्का प्रहार गरे । उनी गुल्सन झाद्वारा बोल्ड भए । त्यसपछि अर्विन्दले रोहन मुस्ताफासँग तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । अर्विन्दले ८२ बल खेल्दै ४० रन जोडे । यसक्रममा उनले ६ चौका प्रहार गरे । 

मध्यक्रमका अनुभवी खेलाडी रोहनले अलिसान साराफुसँग चौथो विकेटका निमित्त ५३ रन जोडे । रोहनले ७३ बलमा ५३ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा सात चौका प्रहार गरे । सो इनिङ्समा साराफुले २९ रन, वसिल हमेदले १४ रन, आयान खानले २६ रन बनाए । नेपाली बलरले २७ अतिरिक्त रन दिएका थिए । 

चलेनन् नेपाली ब्याट्सम्यान 
सिनियर खेलाडी नचल्दा घरेलु मैदानमा नेपालको ब्याटिङ धरमराउन पुग्यो । दीपेन्द्रसिंह र अर्जुनलाई अन्य खेलाडीले साथ दिन सकेनन् । गुल्सन झाले १९ र आसिफ शेखले १२ रन बनाएका थिए । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल दुई बल खेल्दै शून्यमा पेभिलियन फर्किएका थिए । कप्तान रोहितकुमार एक रन, हरिशंकर शाह तीन, कुशल भुर्तेल ६, सोमपाल तीन र करण केसीले तीन रन जोड्दा ललित राजवंशी ६ रनमा अविजित रहे । नेपालले एकै रनमा दुई विकेट गुमाएको थियो । स्कोर बोर्डमा २८ रन हुँदा नेपालले आसिफ शेख र ज्ञानेन्द्रको विकेट गुमाएको थियो । स्कोर बोर्डमा ४१ रन हुँदा नेपालको चार विकेट पतन भएको थियो । अर्जुन र दीपेन्द्रसिंहले पाँचौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपाललाई ४१–४ बाट १०९–५ को स्थितिमा पुर्‍याए । त्यसपछि अन्य ब्याट्सम्यान चल्न सकेनन् । 

आयानको कमाल 
१६ वर्ष ३६४ दिनमा आयान अफजल खानले नेपालविरुद्ध डेब्यु गरे । मंगलबार खेल विश्राम रहेको दिन उनी १७ वर्ष लाग्नेछन् । सोमबार त्रिवि खेलमैदानमा उनी नेपाली ब्याट्सम्यानमाथि पूर्ण रूपमा हावी भए । १० ओभर बलिङ गरेका आयानले चार मेडन राख्दै चार विकेट लिएका थिए । आयानले नेपाली कप्तान रोहितसँगै पूर्वकप्तान ज्ञानेन्द्र, आसिफ र कुशलजस्ता महत्वपूर्ण ब्याट्सम्यानको विकेट झारेका थिए । यसैगरी, बसिल हमिदले दुई विकेट लिँदा जाहुर खान, रोहन मुस्तफा र अहमेद राजाले समान एक–एक विकेट लिएका थिए । 

सुरुमै विकेट गुमाउँदा गाह्रो भयो  
रोहितकुमार पौडेल, कप्तान, नेपाल

सुरुको पावर प्लेमा राम्रो बलिङ गर्न सकेनौँ । मैदानको वातावरणलाई प्रयोग गर्न सकेनौँ । दोस्रो इनिङ्स सुरुवाती तीन विकेट खस्दा गाह्रो भयो । सुरुमै विकेट नगुमाउँदा ब्याटिङ बलियो हुन सक्थ्यो । मध्यक्रममा केही राम्रो भएको थियो । दीपेन्द्र र अर्जुनमा आत्मविश्वास थियो । जिताउने प्रयास भएको पनि थियो । 

नेपालको कन्डिसनअनुसार खेल्यौँ
सिपी रिजवान, कप्तान, युएई

नेपालसँग खेल्दा धेरै राम्रो अनुभव पाएका छौँ । नेपाली समर्थकको बारेमा सुनिरहेका थियौँ । यहाँ खेल्दा राम्रो पनि भयो । हामीले सही समयमा सही विकेट लिँदा सहज भएको थियो । आउने खेलमा पनि ब्याटिङलाई कायम राख्दै खेल जित्न खेल्छौँ । डेब्यु खेलमा आयानले राम्रो खेल प्रदर्शन गरेको हो ।