सीले चिनियाँ सपना साकार पार्ने दिशामा काम गरिरहँदा चीनले युद्ध, प्रभुत्व र उपनिवेश बनाउनेजस्ता पुराना नीति अख्तियार नगर्ने बताएका छन्
चिनियाँ कम्युनिस्ट पार्टीको साताव्यापी पार्टी कंग्रेस हिजो (शनिबार) बेइजिङमा सम्पन्न भएको छ । बीसौँ राष्ट्रिय कंग्रेसको समापन सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सदस्य निर्वाचित भएका छन् । आज (आइतबार) नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्दै छ, जसले चीनको सबैभन्दा शक्तिशाली निर्णय गर्ने निकायका रूपमा रहेको पोलिटब्युरो (हाल २५ सदस्यीय) र यसको स्थायी समिति सदस्य (हाल सात सदस्य) चयन गर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन मुख्यतया घरेलु राजनीतिक शक्ति, आन्तरिक नीति र नयाँ नेतृत्व चयन गर्नमा केन्द्रित रहन्छ । तर, यो भविष्यको आन्तरिक र बाह्य नीति निर्देशन र शक्ति संरचनाको सूचकका रूपमा महत्वपूर्ण हुन सक्छ । चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ पार्टी कंग्रेसमा राष्ट्रपति सीले प्रस्तुत गरेको प्रतिवेदन मूलतः घरेलु मुद्दामा केन्द्रित रहे पनि यसमा पार्टी नेतृत्वले बदलिँदो वर्तमान अन्तर्राष्ट्रिय परिवेशमा चीनको भूमिका र चीनले आउने वर्षमा यसको सामना कसरी गर्ने भन्ने महत्वपूर्ण जानकारी प्रदान गरेको छ ।
२०१२ मा सी जिनपिङ सत्तामा आउँदा चीनको कुल गार्हस्थ उत्पादन ५४ ट्रिलियन युआन थियो, जुन विश्वव्यापी अर्थतन्त्रको ११ प्रतिशत हो । त्यसको एक दशकपछि चीनको जिडिपी ११४ ट्रिलियन युआन छ, जुन विश्वव्यापी अर्थतन्त्रको १८.५ प्रतिशत हो । चीनको आर्थिक वृद्धि धेरै हदसम्म सी सत्तामा आउनुअघि नै लागू गरिएका नीतिहरूको परिणाम हो । तर, सी आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन भएपछिका पहिलो यस्ता चिनियाँ नेता हुन्, जसले स्पष्ट रूपमा चिनियाँ आर्थिक शक्तिलाई विश्वमा समग्र आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्न प्रयोग गरेका छन् । सी जिनपिङ नेतृत्वले चीनको परराष्ट्र नीतिमा देंग सियाओपिङको ‘क्षमता लुकाउने र कम प्रोफाइलमा रहने’ सिद्धान्तलाई प्रतिस्थापन गरेर चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा सक्रिय भूमिका खेल्नुपर्ने र उपलब्धिका लागि प्रयासरत रहनुपर्ने नीति अघि बढाएको छ ।
२०१२ मा कम्युनिस्ट पार्टीका महासचिव भएसँगै सीले ‘राष्ट्रिय कायाकल्प’लाई आफ्नो मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरेका थिए । यसका लागि दुई चरणको विकास योजना अघि सारिएको छ, जसअनुसार २०३५ सम्ममा चीनको आधुनिक अर्थतन्त्रको जग निर्माण गर्ने प्राथमिक लक्ष्य छ भने दोस्रो चरण २०३५ देखि २०५० सम्म चीनलाई समुन्नत र पहिलो दर्जाको शक्ति राष्ट्र बनाउन केन्द्रित रहने भन्ने छ । महासचिव भएको एक वर्षपछि सीले विशाल युरेसिया महाद्वीपमा कनेक्टिभिटी सुधार गर्न महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) घोषणा गरे ।
सी जिनपिङ नेतृत्वले चीनको परराष्ट्र नीतिमा देंग सियाओपिङको ‘क्षमता लुकाउने र कम प्रोफाइलमा रहने’ सिद्धान्तलाई प्रतिस्थापन गरेर चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा सक्रिय भूमिका खेल्नुपर्ने र उपलब्धिका लागि प्रयासरत रहनुपर्ने नीति अघि बढाएको छ
सीको नेतृत्वमा बेइजिङले एसियाली पूर्वाधार लगानी बैंक, सिल्क रोड फन्ड र न्यु डेभलपमेन्ट बैंकको पहल गरेको थियो । २०१७ मा १९औँ पार्टी कंग्रेसमा सीले चीन अब विश्व नेतृत्व र अन्तर्राष्ट्रिय व्यवस्थालाई आकार दिने प्रयासबाट पछि नहट्ने बताएका थिए । बेइजिङले सन् २०२१ र २०२२ मा क्रमशः ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) घोषणा गर्यो । बिआरआई, जिडिआई र जिएसआईजस्ता कार्यक्रममार्फत चीन आफ्नो पहुँच र प्रभावलाई फराकिलो बनाउन र अन्तर्राष्ट्रिय समुदायमा नेतृत्वको भूमिका निर्वाह गर्ने इच्छाबाट प्रेरित देखिन्छ ।
सीको प्रतिवेदनले परिकल्पना गरेको चीन
विदेश नीतिका सन्दर्भमा राष्ट्रपति सीले आफ्नो प्रतिवेदनमा विगतमा रहँदै आएको चिनियाँ दृष्टिकोणलाई दोहोर्याएका छन् । चिनियाँ सपना साकार पार्ने दिशामा काम गरिरहँदा चीनले कुनै पनि परिस्थितिमा युद्ध, प्रभुत्व र उपनिवेश बनाउनेजस्ता पुराना नीति अख्तियार नगर्ने बरु आफ्नो बढ्दो आर्थिक, राजनीतिक र कूटनीतिक शक्ति र प्रभाव विश्व शान्ति र पारस्परिक विकासमा केन्द्रित गर्ने सीले बताएका छन् । यीबाहेक, सीले आफ्नो प्रतिवेदनमा चीनका निम्न विदेश नीति र उद्देश्यलाई दोहोर्याएका छन्– (१) चीनको आर्थिक सुधार र विकासलाई निरन्तरता दिनका लागि शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण र खुला अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको आवश्यकता, (२) चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढ रक्षा, (३) न्यायपूर्ण र समावेशी अन्तर्राष्ट्रिय व्यवस्था र विश्वव्यापी शासन प्रणाली सुधारका लागि समर्थन, (४) अन्तर्राष्ट्रिय विवाद समाधान गर्न सैन्य बललाई भन्दा कूटनीतिक समाधानलाई प्राथमिकता, (५) सम्मान र पारस्परिक लाभमा आधारित अन्तर–राज्य सम्बन्धको प्रवद्र्धन, (६) संरक्षणवाद, विस्तारवाद र ‘युद्धकारी’ अन्तर्राष्ट्रिय सम्बन्धको विरोध र (७) अन्य राज्यहरूको आन्तरिक मामिलामा गैरहस्तक्षेप नीति ।
यसअतिरिक्त सीले आफ्नो प्रतिवेदनमा चीनको अन्तर्राष्ट्रिय प्रभाव, अपिल र आकार दिने शक्तिमा उल्लेखनीय वृद्धि भए पनि अहिले चीन यस्तो समयमा प्रवेश गरिरहेको छ, जहाँ रणनीतिक अवसर मात्र होइन, जोखिम र चुनौती पनि उत्तिकै रूपमा रहेको चेतावनी दिएका छन् ।
चीनको बढ्दो आर्थिक वृद्धि र प्रभावलाई दबाउन र नियन्त्रण गर्न विभिन्न बाह्य तत्वहरू चीनलाई ब्ल्याकमेल गर्न, नियन्त्रण गर्न, नाकाबन्दी गर्न र चीनमाथि अधिकतम दबाब दिन प्रयासरत रहेको र यस्ता क्रियाकलाप जुनसुकै वेला थप बढ्न सक्ने सीको प्रतिवेदनमा उल्लेख छ । यस्तो परिस्थितिमा विदेशी प्रतिबन्ध र हस्तक्षेपको सामना गर्न संयन्त्रलाई बलियो बनाउन, चीनको आत्मनिर्भरता बढाउन र चिनियाँ अर्थतन्त्रमाथि आउन सक्ने प्रतिबन्धको नकारात्मक प्रभावबाट जोगाउन चीनले तत्परतासाथ काम गर्न अत्यावश्यक रहेको सीले उल्लेख गरेका छन् । यस सन्दर्भमा एउटा उत्तम उदाहरण हो, महत्वपूर्ण प्रविधिमा चीनको पहुँचलाई रोक्न ह्वाइट हाउसले चीनलाई सेमिकन्डक्टर र चिप बनाउने उपकरण बेच्नमा लगाएको प्रतिबन्ध । यसअनुरूप विज्ञान र प्रविधिजस्ता अत्यावश्यक क्षेत्रमा रहेका कमजोरी हटाउन, रणनीतिक स्रोतको आपूर्ति सुरक्षित गर्न र आफ्नो आत्मनिर्भरता र शक्ति निर्माण गर्न चीनले आउने दिनहरूमा द्रुत रूपमा काम गर्ने सीले उल्लेख गरेका छन् ।
आफ्नो राष्ट्रिय कायाकल्पलाई साकार पार्ने दिशामा अघि बढिरहँदा, भलै रक्षात्मक उद्देश्यका लागि किन नहोस्, युद्धको सम्भावनालाई चीन अस्वीकार गर्दैन । चिनियाँ सशस्त्र बलहरूले हरसम्भव परिस्थितिमा लड्न र जित्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्न सेनाको प्रशिक्षणलाई तीव्र पार्दै लडाइँको तयारीमा वृद्धि गर्ने सीले उल्लेख गरेका छन् ।
राष्ट्रिय सुरक्षा, सामुद्रिक हित र अधिकारको रक्षा, सार्वभौमसत्ता, शत्रु शक्तिहरूबाट हुने घुसपैठ र पृथकतावादी गतिविधिलाई रोक्न र न्यूनीकरण गर्न चीनले राष्ट्रिय सुरक्षा प्रणाली र क्षमतालाई व्यापक रूपमा सुदृढ गर्ने र सैन्य बलको आधुनिकीकरण गर्दै चिनियाँ सुरक्षा बललाई विश्वस्तरको शक्तिशाली सेना बनाउने उद्देश्य लिएको छ । सत्तामा आएदेखि सी जिनपिङले चीनको सैन्य आधुनिकीकरण र आफ्नो विश्वव्यापी महत्वाकांक्षामा सेनाको भूमिकालाई उच्च प्राथमिकता दिएका छन् । यहीअनुरूप सीको नेतृत्वमा रक्षा खर्च बढेको छ । २०२२ मा चीनको रक्षा बजेट लगभग २३० बिलियन अमेरिकी डलर थियो । युक्रेनविरुद्धको युद्धमा रुसी सेनाको कमजोर प्रदर्शनले पनि बेइजिङले सैन्य आधुनिकीकरण र लडाइँ क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा महत्वपूर्ण पाठ सिकेको निश्चित छ ।
राष्ट्रपति सीले आफ्नो २०औँ पार्टी कांग्रेसको प्रतिवेदनमा राष्ट्रिय कायाकल्पको लक्ष्य हासिल गर्न आगामी पाँच वर्षको समय निकै महत्वपूर्ण हुने बताएका छन् । बीसौँ पार्टी कांग्रेसबाट तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव हुन लागेका सीको शासन र कार्यलाई इतिहासले उचित मूल्यांकन गर्ने त छँदै छ, यो चिनियाँ राजनीति र चिनियाँ कम्युनिस्ट पार्टीको वैधता र प्रासंगिकतासँग पनि गहिरोसँग जोडिएको छ ।
चीनको राजनीति र विश्व मानचित्रमा चीनको अवस्थितिलाई नयाँ युगमा प्रवेश गराउने होडमा रहेका सीले यहीअनुरूप आफ्नो रणनीति कार्यान्वयन गर्न आउने पाँच वर्ष अधिक ध्यान केन्द्रित गर्नुको विकल्प छैन । यस हिसाबमा सीले आफ्नो तेस्रो कार्यकालमा सक्रिय विदेश नीतिलाई आक्रामक रूपमा निरन्तरता दिने र चीनलाई बाह्य शक्तिहरूले सिर्जना गर्न सक्ने सम्भावित समस्यालाई प्रतिरोध गर्न आन्तरिक शक्तिलाई थप सुदृढ बनाउने स्पष्ट देखिन्छ । यो परराष्ट्र र सुरक्षा नीति सीले अघि सारेका ‘चिनियाँ सपना’ साकार पार्नमा केन्द्रित छ ।