राखेपको फितलो व्यवस्थापन : टालटुल गरेर २५ वर्ष पुरानो म्याटमा जिम्न्यास्टिक

आयोजक राष्ट्रिय खेलकुद परिषद्ले समयमै म्याट उपलब्ध नगराउँदा नेपाल जिम्न्यास्टिक संघले २५ वर्ष पुरानै म्याटमा खेलाएको छ

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समय म्याट उपलब्ध नगराउँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलमा २५ वर्ष पुरानो म्याटलाई नै टालटुल पारेर खेल आयोजना भइरहेको छ । नेपाल जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङले व्यवस्थापन नराम्रो भएकाले नै जिम्न्यास्टिकमा पुरानै म्याट प्रयोग भएको बताए । ‘सम्बन्धित निकायले म्याट उपलब्ध नगराउँदा २५–३० वर्षअघिको जिम्न्यास्टिक खेल सामग्री प्रयोग गरिएको छ,’ उनले भने । 

नवौँ राष्ट्रिय खेलकुद सुरु हुनुअगाडि संघले आवश्यक खेल सामग्री खरिदका लागि राष्ट्रिय खेलकुद परिषद्सँग आवश्यक बजेट वा खेल सामग्रीको व्यवस्था गरिदिन आग्रह गरेको थियो । तर, परिषद्ले संघको आग्रह नसुनेको उनले बताए । खेल खेलाउन प्रयोग गरिएका म्याटलगायतका सामग्री आफूले नै खेलेको वेलाको भएको उनको दाबी छ । ‘अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जिम्न्यास्टिक खेलमा म आफू नै सिक्दै गरेको अवस्थाको म्याट प्रयोग भइरहेको छ,’ गुरुङले भने, ‘संघले पटक–पटक खेल सामग्री माग गर्दा कुनै सुनुवाइ भएन,’ उनले भने, ‘जसका कारण खेलाडी घाइते हुनुका साथै राम्रो प्रदर्शन गर्न सकेनन् ।’ 

बिछ्याइएको म्याट पुरानो हुँदा त्यसको लेबलसमेत नमिलेको र कहीँ होचोसँगै खाल्डो रहेको उनको भनाइ छ । ‘म्याट नमिल्दा खेलाडी लडेका छन्, आर्मीका खेलाडी खेलका क्रममै घाइते भए,’ गुरुङले भने । बुधबार एपिएफका खेलाडी पनि घाइते भए ।

 ओछ्याइएको म्याटसमेत च्यातिएको छ । पुरानो म्याटमा खेल आयोजना हुँदा बुधबार एपिएफका खेलाडी  लडेर घाइते भएपछि खेल स्थगित भयो । आयोजकले त्यही पुरानो म्याटलाई काटेर टालटुल गरी जोडेर अर्को म्याट बिछ्याएको भन्दै स्थगित भएको खेल २ बजेपछि मात्र सुरु भयो । ‘प्रतियोगिताका लागि ६०–७० करोडको बजेट छुट्याइएको छ, तर खेलस्थलहरूको व्यवस्थापन प्रायः राम्रो देखिएन,’ एक खेलाडीले भने ।’

See More On

सुझावित समाचार