आसन्न चाडपर्व तथा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारीमा जुट्न निमित्त प्रहरी महानिरीक्षक सहकुलबहादुर थापाले निर्देशन दिएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालयमा विभागीय प्रमुख तथा प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै उनले विगतका निर्वाचनमा भएका कमी कमजोरीलाई अध्ययन गरी सुधार गर्न भनेका छन्।
राजनीतिक दलहरूसँग समदूरी कायम गरी सम्भावित झडपहरूको पूर्वआकलन गरी सुरक्षा योजना बनाउन निमित्त महानिरीक्षकबाट निर्देशन भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए। म्यादी प्रहरी र थप मद्दतमा प्रहरी परिचालनसम्बन्धी योजना बनाउन उनले भनेका छन्। कुनै पनि स्वरूपको गुन्डागर्दीविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन उनले निर्देशन दिएका छन्।
पेन्डिङ मुद्दाको अनुसन्धानमा ध्यान दिन, मिटरब्याज, सहकारी ठगीजस्ता आर्थिक अपराधको अनुसन्धानमा ध्यान दिनसमेत निर्देशन गरिएको छ। चाडपर्वको समयमा दुर्घटना बढ्न सक्ने भएकाले न्यूनीकरणमा ध्यान दिन पनि भनिएको छ। सादा पोसाकमा खटिने प्रहरीले गैरव्यवसायिक क्रियाकलाप गर्न सक्ने भएकाले कार्यालय प्रमुखले सचेत गराउन नत्र कार्यालय प्रमुखलाई नै कारबाही हुने निमित्त महानिरीक्षकको चेतावनी छ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अमेरिका भ्रमणमा गएकाले वरिष्ठतम् एआइजी थापाले निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हालेका हुन्।