लचिलोपनको नयाँ मोडल

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

आजको अस्थिर विश्वमा आर्थिक धक्का सहन सक्ने र सामाजिक आधारको क्षय नगराउने समृद्धिको आवश्यकता छ 

जब वैश्विक परिवर्तन हुन्छ, तब नीति प्रतिमान पनि परिवर्तित हुन्छ वा हुनुपर्छ । हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्री ड्यानी रोड्रिकले हालै खस्किँदो नवउदारवादी व्यवस्थालाई ४० वर्षदेखि टेको दिइरहेका विश्वव्यापिता, वित्तीयकरण र उपभोग सिद्धान्तको साटो नयाँ खाकाको सिर्जना गर्नुपर्ने बताएका छन् । उनी सो खाकामा उत्पादन, रोजगारी र स्थानीयता समावेश हुनुपर्ने बताउँछन् । प्रस्तावित यो प्रतिमानलाई रोड्रिक ‘उत्पादनवाद’को नाम दिन्छन् ।  विकसित विश्वमा राजनीतिक ध्रुवीकरण बढिरहेका सन्दर्भमा उत्पादनवादी प्रतिमानका गुह्य तत्वलाई दुवै वाम एवं दक्षिणपन्थी वृत्तबाट समर्थन गरेको देखिन्छ । तर, यो परिवर्तन रोड्रिकले सिफारिस गरेको भाष्यबाट प्रेरित देखिँदैन ।  

प्रणालीगत लचिलोपनको नयाँ प्रतिमान किन उदाइरहेको छ भनेर बुझ्न हामीले यो प्रतिमानले सम्बोधन गर्ने नीतिगत समस्याबारे बुझ्न आवश्यक छ । व्यक्ति र समुदायको क्षमताले व्यापार धक्काको निरुपण गर्न सक्छ भन्ने नवउदारवादी अनुमान पूर्णतः अवास्तविक प्रमाणित भएका छन् । नवउदारवादी सिद्धान्तका प्रतिपादक सिद्धान्तकार अनपेक्षित परिणामबारे अनभिज्ञ रहे ।  

व्यापार उदारीकरण कुल गार्हस्थ उत्पादन (जिडिपी) को वरदान नै साबित भएको थियो, तर यसबाट आउने लाभ विकसित राष्ट्रका धनाढ्यका पोल्टामा पर्यो, तर भएजतिका घाटा असमान ढंगले पहिलेदेखि नै जोखिममा रहेका मानिसका थाप्लोमा पर्यो । यी जोखिममा परेका मानिसका गुनासालाई वर्षौंदेखि नीति बनाउने वृत्तले वास्ता गरेन, नतिजा यी गुनासा लोकरिझ्याइँवादी अभियानमा प्रस्फुटन हुन थाल्यो । लोकरिझ्याइँले निम्त्याएको आक्रोशको प्रस्फुटनका कारण सबै राजनीतिक पक्षले रोड्रिकले भन्ने गरेको श्रमजीवीमैत्री एजेन्डालाई समर्थन गरिरहेका छन् ।

आर्थिक विश्वव्यापीकरणले विकसित एवं विकासोन्मुख विश्वको असमानता घटाएको छ, तर यसले भूरणनीतिक प्रतिस्पर्धा विशेषतः चीन–अमेरिका प्रतिस्पर्धालाई बढाएको छ । अन्तरनिर्भरतालाई अस्त्र बनाउन सकिन्छ, तर नवउदारवादी नीतिले आर्थिक दबाब र कमजोर आपूर्ति शृंखलाजस्ता सुरक्षा चासोलाई कसरी सम्बोधन गर्ने भन्नेबारे खासै मार्गदर्शन गराउँदैन । 

नवउदारवादी तौरतरिकाले धनको मात्रा बढाएको सत्य हो, तर जलवायु संकट निम्त्याउने गरी कार्बन उत्सर्जन पनि भएको छ । नवउदारवादका समर्थकले निपुणता वा कुशलता हासिल गर्नुको पनि एक सीमा हुन्छ भन्ने बुझेनन् । छोटो समयको निपुणता, जसले धनको विस्तार गर्छ, तर वातावरणलाई अवमूल्यन गर्ने निपुणता दिगो हुँदैन । यस्ता निपुणताले व्यक्ति वा समुदायले व्यहोर्ने आर्थिक क्षतिलाई बढाउँछ ।  

विश्व जोखिमयुक्त र अनिश्चित बन्दै गएको छ । यसका लागि नवउदारवादी नीति पनि जिम्मेवार छन्, जसले सामाजिक, राजनीतिक, आर्थिक एवं वातावरणीय जोखिम बढाएको छ । यी जोखिमको समाधान कसरी गर्ने भन्नेमा तयारी अपुग देखिन्छ । कुनै पनि नयाँ प्रतिमानले नीति निर्मातालाई लामो समयदेखि रहेको विश्वव्यापी अस्थिरता र अनिश्चितताका साथै घरेलु वितरण एवं राजनीतिक तनावलाई सम्बोधन गर्ने वातावरण उपलब्ध गराउनैपर्छ । 

उत्पादनवादले यी केही मुद्दा सम्बोधन गर्न सक्छ, तर यसले प्रभावकारिताप्रतिको नवउदारवादको लगावसँग प्रतिस्पर्धा गर्न सक्ने व्यापक दार्शनिक खाका उपलब्ध गराउँदैन । उत्पादकवादले मुख्यतया बजार–समर्थित नीतिले ल्याएको असमानता र असन्तुष्टिलाई सम्बोधन गर्नेमा चासो राख्छ । जलवायु परिवर्तन एवं आर्थिक अन्तरनिर्भरताले निम्त्याएका केही खतरालाई कम गर्न उत्पादनस्थललाई आफ्नै भूमिमा फर्काउनु र पुरानै पूर्वाधार मर्मत गर्नु उत्पादकवादका दुई रणनीति हुन् । तर, लचिलोपनलाई प्राथमिकता दिने प्रतिमानले यी सबै मुद्दाको गम्भीर समाधान प्रदान गर्नेछ र यसको बृहत् प्रभाव पनि देखिन सक्छ । 

समुदाय, अर्थतन्त्र वा वातावरण जेसुकैमा केन्द्रित होस्, लचिलोपनले निपुणता वा नतिजाका तुलनामा महŒवपूर्ण प्रणालीगत मूल्यको प्रतिनिधित्व गर्छ । तर, लचिलोपन यतिमा मात्रै सीमित छैन, अर्थात् यसको मापन एवं निर्माण गर्न सकिन्छ । यसले नीति विश्लेषणलाई व्यक्तिगत रूपमा लिइएका निर्णयबाट समग्र प्रणालीमा प्रभाव पार्नेतर्फ केन्द्रित गर्छ । अर्थात् यसले जिडिपी वा अल्पकालीन मुनाफाजस्ता मापनलाई दिइने अत्यधिक ध्यानलाई प्रोत्साहन गर्दैन । यसले विविधीकरण र केन्द्रीकरण र स्वतन्त्रता एवं अन्तरनिर्भरताबीच सन्तुलन ल्याउन प्रोत्साहन गर्छ । निपुणताले नतिजा एवं अनुकूलन ल्याएर लचिलोपनलाई सघाउन सक्छ, तर व्यवस्था नै कमजोर हुने अवस्थामा भने यो सम्भव हुँदैन ।   

उत्पादनवादझैँ लचिलोपनका आधारमा नयाँ प्रतिमान निर्माण गर्न हतारो गरिहाल्नु हुँदैन । तर, लचिलोपनमा उल्लेख्य प्राज्ञिक बहस भएको छ र यसको विकास विभिन्न प्राज्ञिक विधामा भइरहेको छ । त्यसैगरी, यसलाई भिन्न नीतिगत क्षेत्रमा पनि लागू गरिएको छ । यो जलवायु परिवर्तनअनुकूलन, प्रकोप व्यवस्थापन र दिगो विकासमा केन्द्रित छ । जलवायु अस्थिरतालाई सहन सक्ने गरी यसलाई सहरी योजनाकर्ताले सहर निर्माण गर्न प्रयोग गर्छन् । 

आजको अस्थिर विश्वमा आर्थिक धक्का सहन सक्ने र सामाजिक आधारको क्षय नगराउने समृद्धिको आवश्यकता छ । आर्थिक वृद्धिले ध्रुवीकरण एवं द्वेष ननिम्त्याई व्यक्ति एवं समुदायको हित गर्नुपर्छ । हालको विश्वव्यापीकरणको समयमा पारस्थितिक प्रणालीजन्य जोखिम र भूरणनीतिक प्रतिस्पर्धाका दौरान हरेक मुलुकलाई सुरक्षित पार्ने कदम चाल्नुपर्छ । जेसुकै प्रतिमान निर्माण भए पनि उल्लिखित आवश्यकताको सम्बोधन गरिनुपर्छ । उत्पादनवादले थोरबहुत समाधान गर्छ र लचिलोपनले समाधान गर्न हामीलाई थप सक्षम बनाउँछ ।  

(रोबर्टस् अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी प्राध्यापक र सास सोही युनिभर्सिटीका अनुसन्धाता हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट  

सुझावित समाचार