तास्मानिया टाइगर : सय वर्ष पहिल्यै लोप, पुनर्जीवनको प्रयास

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

वैज्ञानिकहरू पृथ्वीबाट सय वर्षअघि नै लुप्त भइसकेको तास्मानिया टाइगरलाई फेरि पृथ्वीमा फर्काउने प्रयास गर्दै छन्

पृथ्वीबाट सदाका लागि लोप भएको झन्डै सय वर्षपछि वैज्ञानिकले ‘तास्मानियन बाघ (तास्मानिया टाइगर)’ लाई फेरि पुनर्जीवित गर्ने एक महत्वाकांक्षी परियोजना सुरु गरेका छन् । थाइलासिन भनेर चिनिने यो जीव मार्सुपियल जीव (कंगारुजस्तै पेटमा नवजात बच्चा राख्न मिल्ने थैलो भएको जीव) हो । यो महत्वाकांक्षी परियोजनाले जनावरलाई फिर्ता ल्याउन आनुवंशिकी क्षेत्रमा भएको उन्नतिलाई प्रयोग गरेर प्राचीन डिएनए संकलन र कृत्रिम प्रजनन गर्नेछ । 

‘सबभन्दा महत्वपूर्ण, हामीले हाम्रो जैविक विविधतालाई थप लोप हुनबाट जोगाउन आवश्यक छ, तर दुर्भाग्य जीवहरू लोप हुने प्रवृत्तिमा कमी आइरहेको छैन । यो परियोजनाले यो कुरालाई सच्याउँदै जीवको विनाशलाई रोक्ने प्रयास गर्नेछ । यसलाई पछि असाधारण परिस्थितिमा लोप भएका महत्वपूर्ण जीव ब्युँताउन प्रयोग गर्न सकिनेछ,’ मेलबर्न विश्वविद्यालयका प्राध्यापक र सोही विश्वविद्यालयअन्तर्गतको ‘थाइलासिन इन्टिग्रेटेड जेनेटिक रिस्टोरेसन रिसर्च ल्याब’का प्रमुख एन्ड्रयु पास्क भन्छन् । 

यो परियोजनामा प्राविधिक उद्यमी बेन ल्याम र हार्वर्ड मेडिकल स्कुलका आनुवंशिकविद् जर्ज चर्चले स्थापना गरेको कोलोसल बायोसाइन्सेजको सहकार्य छ । कोलोसल बायोसाइन्सेजले समानान्तर रूपमा भुवादार म्यामथलाई केही परिवर्तन रूपमा ब्युँताउने १.५ करोड डलरको महत्वाकांक्षी योजना पनि चलाइरहेको छ । स्यालजत्रो आकारको थाइलासिन करिब २००० वर्षपहिले नै अस्ट्रेलियाको तास्मानिया टापुबाहेक विश्वका बाँकी भागबाट लोप भइसकेको थियो । आधुनिक समयको एक मात्र मार्सुपियल सिकारीका रूपमा तास्मानियन टाइगरले पर्यावरणमा महत्वपूर्ण भूमिका खेलेको थियो, तर यही सिकारी प्रवृत्तिले यो जीव मानवहरूमाझ अलोकप्रिय बन्यो । 

अनुसन्धाता एन्ड्रयु पास्क भन्छन्–हाम्रो मुख्य लक्ष्य यी प्रजातिलाई तिनको प्राकृतिक वासस्थानमा पुनर्स्थापित गर्नु हो । हामी तास्मानियाको झाडीमा पुनः यी बाघ फर्काउने कोसिसमा छौँ ।

१९औँ शताब्दीमा तास्मानिया पुगेका युरोपेलीले आफ्ना गाईवस्तु खाइदिएको भन्दै थाइलासिनलाई मार्न थाले । (तर अधिकांश अवस्थामा जंगली कुकुर र मानव वासस्थानको कुप्रबन्धनले गाइवस्तु मरिरहेका थिए ।) तर, पनि मानिसलाई भने थाइलासिन नै दोषी भन्ने परेको थियो । त्यसैले तिनले यस लजालु, अर्धनिशाचर जीवविरुद्ध यति ठूलो युद्ध छेडे कि ती लोप नै भए । मानव नियन्त्रणमा रहेको ‘बेन्जामिन’ नामक अन्तिम थाइलासिन सन् १९३६ मा होबार्टस्थित ब्युमारिस चिडियाखानामा मर्यो । संरक्षित जीवको दर्जा दिएको केही समयपछि नै थाइलासिन लोप भएको थियो । 

आनुवंशिक ब्लुप्रिन्ट
यस परियोजनामा अत्याधुनिक विज्ञान र प्रविधिका कैयन् जटिल चरण प्रयोगमा ल्याइनेछन् । तिनमा जिन सम्पादनदेखि कृत्रिम गर्भ निर्माणसम्मका काम हुनेछन् । पहिले, वैज्ञानिक टोलीले यस लुप्त जीवनको विस्तृत जिनोम निर्माण गर्नेछ र त्यसलाई जीवको सबैभन्दा नजिकको जीवित नातेदारसँग तुलना गर्नेछ । मुसा आकारको मांसहारी मार्सुपियल (मोटो पुच्छर भएको) डुन्नार्ट थाइलासिनको सबैभन्दा नजिकको जीवन हो । डुन्नार्टसँग तुलना गरिँदा दुईबीचको भिन्नता पनि पहिल्याइनेछ ।

‘त्यसपछि हामी डुन्नार्टबाट जीवित कोषिका लिन्छौँ र तिनीहरूको डिएनएमा थाइलाइसिनसँग कायम भिन्नतालाई सम्पादन गरेर निर्माण गर्नेछौँ । सम्पूर्ण प्रक्रियामा डुन्नार्टको कोषिकालाई तास्मानियन बाघको कोष बनाइरहेका हुनेछाँै,’ पास्क बताउँछन् । टोलीले कोषिकामा आवश्यक सम्पादन सम्पन्न गरेपछि डुनार्टको शरीरलाई सरोगेट आमाको रूपमा प्रयोग गरेर स्टेम सेल र प्रजनन प्रविधिमार्फत कोषिकालाई जीवित जनावरमा परिणत गरिनेछ,’ पास्कले भने । 

‘हाम्रो मुख्य लक्ष्य यी प्रजातिलाई तिनको प्राकृतिक वासस्थानमा पुनस्थाृपित गर्नु हो । हामी तास्मानियाको झाडीमा पुनः यी बाघ फर्काउने कोसिसमा छौँ,’ उनले भने । मोटो पुच्छर भएको डुन्नार्ट वयस्क तास्मानियन बाघभन्दा धेरै सानो हुन्छ, तर पास्कका अनुसार सबै मार्सुपियलहरूले जन्माउने बच्चा निकै साना हुन्छन् । केहीका नवजात बच्चा चामलको दानाजत्रै पनि हुन्छन् । यसको मतलब मुसाको आकारको मार्सुपियलले पनि कम्तीमा प्रारम्भिक चरणमा थाइलासिनजत्रा ठूला जीवनको लागि सरोगेट आमाको काम गर्न सक्छ । 

थाइलासिनलाई पुरानो स्वभावमा परिचय गराउन धेरै सावधानी अपनाउनुपर्ने पनि पास्कको भनाइ छ । ‘यस्ता जीवलाई तिनको प्राकृतिक वासस्थानमा फर्काउनुअघि सबै मौसममा तिनले पर्यावरणसँग गर्ने अन्तरक्रियाको अध्ययन गर्न आवश्यक छ,’ उनी भन्छन् । वैज्ञानिक टोलीले परियोजनाको कुनै समयसीमा भने निर्धारण गरेका छैनन्, तर ल्यामका अनुसार थाइलासिनलाई लोप अवस्थाबाट ब्यँुत्याउने प्रयास भुवादार म्यामथलाई ब्युँत्याउने प्रयासभन्दा छिटो हुनेछ । किनकि हात्तीको गर्भावस्था डुन्नार्टको भन्दा धेरै लामो हुने गर्छ । 

यस प्रविधिले तास्मानियन डेभिलजस्ता हाल जीवित रहेका मार्सुपियललाई थाइलासिनको नियति भोग्नबाट जोगाउन सकिन्छ । पछिल्लो समय जलवायु संकटको परिणामस्वरूप तास्मानिया टापुको झाडीमा आगजनी बढेकाले उनीहरू लोप हुने स्थितिमा पुगेका छन् । ‘हामीले थाइलासिनलाई लोप अवस्थाबाट ब्यँुताउन विकास गरिरहेको प्रविधि अन्य मार्सुपियल प्रजातिहरू संरक्षण गर्न उपयोग हुन सक्छ । यसै प्रयोजनले आजकल जीवित मार्सुपियल जीवका तन्तुहरू संकलन गरेर जमाएर राखिन थालिएको छ,’ पास्कले थपे, ‘तथापि, अहिले नै तन्तुबाट स्टेम सेलहरू बनाउने र त्यसलाई जीवित जनावरमा परिणत गर्ने प्रविधि बनिसकेको छैन । त्यो प्रविधि हामीले यस परियोजनाको एक हिस्साको रूपमा विकास गर्नेछौँ ।’ 

हाइब्रिड जनावरहरू
तर, अगाडिको बाटो पूर्ण स्पष्ट छैन । कोपेनहेगन विश्वविद्यालयको ग्लोब इन्स्टिच्युटका प्रोफेसर टम गिल्बर्टले लोप भएका जीवलाई ब्युँताउने कुरामा कैयौँ सीमा रहेको बताउँछन् । थाइलासिनका जीवाश्मका कंकालमा रहेका डिएनएबाट हाल अस्तित्वमै नरहेको जनावरको पूर्ण जिनोम निर्माण गर्नु अत्यन्त चुनौतीपूर्ण हुने उनको भनाइ छ । तिनका केही आनुवंशिक सूचना हराइरहेको हुन सक्ने डेनिस नेसनल रिसर्च फाउन्डेसनको इभोलुसनरी होलोजेनोमिक्स केन्द्रका निर्देशकसमेत रहेका गिल्बर्टको ठम्याइ छ । उनले लोप भइसकेको म्याक्लियर मुसा पनि भनिने क्रिसमस टापुका मुसाहरू ब्युँताउने परियोजनाको अध्ययन गरेका थिए । 

हालको थाइलासिन परियोजनामा ​​संलग्न नरहेका उनले यस परियोजनाले लोप हुनुअघि अस्तित्वमा रहेको थाइलासिन ब्युँताउनेभन्दा पनि त्यसको परिवर्तित रूप निर्माण गर्ने बताएका छन् । ‘लोप भइसकेको प्रजातिको पूर्ण जिनोम सिक्वेन्स प्राप्त गर्ने सम्भावना हुँदैन, त्यसैले हामी हराएको स्वरूपको जिनोम पूर्ण रूपमा निर्माण गर्न सक्षम हुनेछैनौँ । केही भाग कहिल्यै भेटिनेछैनन्,’ गिल्बर्ट इमेलमार्फत बताउँछन्, ‘उनीहरूले के परिवर्तन गर्ने भनेर विचार गर्नुपर्नेछ, परिणामस्वरूप एक हाइब्रिड जीव बन्नेछ ।’

गिल्बर्टले आनुवंशिक रूपमा अपूर्ण हाइब्रिड थाइलासिनमा धेरै स्वास्थ्य समस्या देखिन सक्ने र त्यो जीवित रहन मानवमा निर्भर हुन सक्ने बताए । केही विज्ञले कैयौँ जीवित प्राणी लोप हुने स्थितिमा पुगेको समयमा लोप भइसकेका जीवलाई ब्युँताउने प्रयासमा करोडौँ डलर खर्च गर्ने यस प्रयासमाथि नै प्रश्न उठाएका छन् । ‘मानिसलाई विज्ञान, प्रकृति र संरक्षणप्रति उत्साहित बनाउने भएकाले लोप भएका जीव ब्युँताउने परियोजनाप्रति म सकारात्मक छु । मानव भविष्यको सुरक्षाका लागि पनि हामीले अन्य जीवबारे सोच्नुपर्ने हुन्छ । तर, के सरोकारवालहरू उनीहरूले ब्युँताउने जीव थाइलासिन नभएर एक अपूर्ण हाइब्रिड हुनेछ भन्नेमा सचेत छन् ? धेरै मानिस विज्ञानबाट थप ठगिएको महसुस गरिनुहुँदैन । हामीले साँचो बताउनुपर्छ,’ गिल्बर्ट भन्छन् ।

See More On

सुझावित समाचार