गगनचुम्बी भवनले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित असामान्य ‘भवन’झैँ लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयको ध्यान आकर्षित गरेको छ, तर यो आवासीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वल्र्ड रेकर्डमा कीर्तिमान कायम गर्न सफल भएको छ ।
कागज शिल्पका सम्राट् हा चुङ किनको यो सिर्जना बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सवको अवसर पारेर गत जुलाईको प्रारम्भदेखि प्रदर्शनीमा छ । मध्य अक्टोबरसम्म यसलाई प्रदर्शनमा नै राखिनेछ । परम्परागत चिनियाँ कागजबाट बनेको हङकङको यो सांस्कृतिक सम्पदाले स्वदेशी तथा विदेशीको ध्यान खिचेको छ ।
यो लाल्टिनको निर्माण पूरा भएको पहिलो दिन हङकङ आँधीले ग्रस्त थियो । ‘मेरो फोन बजिरहेको थियो र मानिसहरूले सोधिरहेका थिए कि आँधीले लाल्टिन नष्ट हुन्छ कि हुँदैन ? मैले उनीहरूलाई केही हुँदैन भनेर आश्वासन दिएँ,’ हा भन्छन् । आँधीबेहरी समाप्त भयो, लाल्टिनमा कुनै क्षति भएन । हाले तीन महिनासम्म घरबाहिर देखाइने भएकाले आँधीजस्ता प्रतिकूल प्राकृतिक परिस्थितिलाई ध्यानमा राखी उत्कृष्ट कपडा र अन्य कच्चापदार्थ प्रयोग गरी लाल्टिन बनाइको बताए ।