एमालेको प्रतिक्रियात्मक राजनीति : गठबन्धनको विकल्पमा ‘दुईदलीय’ प्रणाली

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

सत्तारूढ पाँच दलले आमनिर्वाचनमा अहिलेकै गठबन्धनबीच तालमेल गर्ने तयारी अगाडि बढाएपछि प्रमुख विपक्षी एमालेले प्रतिक्रियात्मक राजनीतिका रूपमा ‘दुईदलीय’ प्रणालीको बहसमा जोड दिएको छ । सत्तारूढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र त्यसले चुनावी परिणाम आफ्नो अनुकूल हुन नसक्ने आकलनसँगै एमालेले ‘दुईदलीय ध्रुवीकरण’को बहसमा जोड दिएको हो ।

यस्तो बहसमार्फत कार्यकर्तापंक्तिलाई गठबन्धनको सामनाका लागि प्रशिक्षित गर्ने र जनमत बटुल्ने एमालेको योजना छ । तर, एमालेको ‘दुईदलीय’ प्रणालीको बहस बहुदलीय प्रतिस्पर्धात्मक संवैधानिक व्यवस्थासँग मेल नखाने खालको रहेको अन्य दल र विश्लेषकको टिप्पणी छ । 

एमालेले सातओटै प्रदेशमा यसैलाई प्रशिक्षणको मुख्य विषय बनाएर टोलसम्म दुई ध्रुवीकरणको बहस अगाडि बढाउन खोजेको छ । एमालेले अहिले सातओटै प्रदेशमा प्रशिक्षण चलाइरहेको छ । बहसमार्फत एमालेले मुख्यतः कांग्रेस र आफूबीच प्रतिस्पर्धा गर्ने र अन्य दलको अस्तित्व स्वीकार नगर्ने सन्देश दिएको छ । 

राजनीतिक स्थिरताका लागि लोकतन्त्रको अभ्यास गर्ने पश्चिमा मुलुकहरूले समेत दुईदलीय ‘राजनीतिक सिस्टम’ अभ्यास गरिरहेको भन्दै एमालेले गठबन्धन राजनीतिको विकल्प दुईदलीय’ प्रणाली उपयुक्त हुने बताएको हो । स्थिरता, समृद्धि र विकासमार्फत समाजवादको आधार खडा गर्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको एमालेको तर्क छ । 

‘राष्ट्रलाई आर्थिक र सामाजिक संकट एवं वैदेशिक चलखेलबाट जोगाउने हो भने अब नेपालमा बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूको सुदृढीकरण गर्न जरुरी छ । जति धेरै राजनीतिक दल, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दल, त्यति धेरै नीतिगत सौदाबाजी, जति धेरै राजनीतिक दल, त्यति धेरै राजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल, त्यति धेरै वैदेशिक चलखेल नेपालको यथार्थ हो’ एमाले महासचिव शंकर पोखरेलले बुधबार केन्द्रीय प्रचार विभागले गरेको अनलाइन सम्पादकसँगको अन्तरक्रियामा भने, ‘यो यथार्थबाट मुलुकलाई मुक्त गर्ने हो भने अब धेरै राजनीतिक दल होइन, भिजनरी लिडरसिपसहितको बलियो राजनीतिक शक्ति पार्टी नेपालको विकास र समृद्धिका लागि आवश्यक छ । दुनियाँमा कतै पनि गठबन्धनले विकास र समृद्धिको नेतृत्व गरेको छैन । त्यस अर्थमा आजको राजनीति गठबन्धन भर्सेस बलियो राजनीतिक शक्तिबीचको छनोटमा प्रवेश गरेको छ ।’ 

कांग्रेस पनि एमाले हाराहारीकै शक्ति भए पनि उसले एक्लै प्रतिस्पर्धा गर्नुको सट्टा साना दलहरूसँग गठबन्धनको सहारा लिइरहेकाले मुलुकको नीतिगत नेतृत्व गर्ने सामथ्र्य गुमाइसकेको पोखरेलको दाबी छ । संविधान र कानुनमार्फत दलीय प्रतिस्पर्धा नियमन गर्नेभन्दा पनि जनताको मतदानको छनोटका माध्यमबाट यस्तो ध्रुवीकरण गर्न सकिने पोखरेलले प्रस्टीकरण दिए । 

‘कतिपयले जबजको कुरा गर्नेले थोरै दलबीचको प्रतिस्पर्धाको कुरा गर्ने भन्ने गरेका छन् । कानुन बनाएर नियमन गर्ने भन्न खोजेको होइन । राजनीतिक ध्रुवीकरण, बलियो शक्ति निर्माणको कुरा गरेको हो,’ पोखरेलले भने, ‘युरोप र अमेरिकाजस्ता मुलुकमा थोरै दल छन्, त्यहाँ कानुनले कुनै दललाई पनि प्रतिस्पर्धाका लागि रोकेको छैन । तर, जनताले नै सीमित दल (दुईमध्ये एक दल मात्र) छनोट गर्छन् ।’ 

नेपालको अर्थतन्त्र विकास गर्ने बाटो एउटा समाजवादको आधार तयार गर्ने आर्थिक–सामाजिक र अर्को उदार पुँजीवादको बाटो रहेको भन्दै एमालेले यही मुद्दामा ध्रुवीकरण सम्भव रहेको बताएको छ । ‘अहिले नेपालको अर्थतन्त्रको विकास गर्ने बाटो समाजवादको आधार तयार गर्ने आर्थिक–सामाजिक एउटा र अर्को उदार पुँजीवादको हो । यसभन्दा भिन्नै बाटा छैनन् भने अब धेरै दलको औचित्य देखिँदैन,’ पोखरेलले भने, ‘त्यस अर्थमा जो उदार पुँजीवादको बाटोमा जान चाहन्छ, ऊ कांग्रेसको वरिपरि ध्रुवीकृत भए भो । जो समाजवादको आधार तयार गर्न चाहन्छन्, ऊ एमालेको नेतृत्वमा ध्रवीकृत भए भो । यसले जनतालाई सही नीतिगत छनोटको आधार दिन्छ ।’

यी दुईबाहेक मध्यमार्गी बाटो दक्षिणपन्थी बाटो भएको र त्यसको नेतृत्व राजसंस्थालाई स्थापित गर्न राजेन्द्र लिङ्देनले गरिरहेको पोखरेलको भनाइ छ । उनले ‘मध्यपन्थी’हरू मूल प्रवृत्तिका रूपमा स्थापित हुन नसक्ने पोखरेलको दाबी छ । स्थानीय तहको निर्वाचन परिणामले एमाले र कांग्रेस नै मुख्य शक्तिका रूपमा स्थापित भएकाले नयाँ ध्रुवीकरण सुरु भइसकेको एमालेको तर्क छ । ‘स्थानीय चुनावले ३४ प्रतिशत जनमत एमालेको, ३३ प्रतिशत कांग्रेसको देखाइसकेपछि ध्रुवीकरण सुरु भएन र ? यसलाई स्वीकार गरौँ,’ उनले भने, ‘जति साना दल राजनीतिमा हावी हुन्छन्, त्यति नै मुलुकले सही बाटो समाउँदैन ।’

तेस्रो वा चौथो दलले प्रधानमन्त्री खोज्दै हिँडिरहेको देख्दा नेपालको लोकतन्त्रले सही बाटो समातिरहेको छ भन्ने प्रश्न उठ्ने उनको भनाइ छ । जनमत भएकाले शासन गरून् भनेर राजनीतिक ध्रुवीकरणको पैरवी गरेको पोखरेलको तर्क छ । ‘१२ प्रतिशत जनमत प्रभावित पार्नेले देशविदेश प्रधानमन्त्री चहार्दै हिँडेको छ, योभन्दा लोकतन्त्रको लज्जा अरू के हुन्छ ? यसबाट जोगाउन जनता जागरुक हुनुपर्छ,’ उनले भने, ‘जनमत गुमाएकाले राष्ट्रको नेतृत्व गर्ने लोकतान्त्रिक होइन । लोकतन्त्र भनेकै जनमत भएकाले शासन गर्ने प्रणाली हो । यही मान्यताको आधारमा हामीले राजनीतिक ध्रुवीकरणको पैरवी गरेको हो ।’

सत्तारूढ गठबन्धनभित्रै रहेर माओवादी केन्द्र र नेकपा एकीकृतसहितले आमनिर्वाचनलाई लक्षित गर्दै तत्कालका लागि समाजवादी केन्द्र निर्माणमा जोड दिएका छन् । दुईदलीय ध्रुवीकरणको बहसमार्फत माओवादी र एकीकृत समाजवादीका नेता–कार्यकर्ता भिœयाउने एमालेको नीति छ । 

एमाले महासचिव पोखरेलले जुनसुकै नाममा भए पनि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्य जुट्नुको कुनै औचित्य नभएकोसमेत बताए । एमालेलाई रोक्ने एउटा सफलताबाहेक गठबन्धन सरकारले हरेक क्षेत्रमा असफलता व्यहोरेको सूचकांकहरूले देखाएको पोखरेलको दाबी छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्–दुई दल मात्रको सम्भावना नेपालमा छैन

राजनीतिक दलहरूको सुदृढीकरणको नाममा कसैले चाहेर र भन्दैमा नेपालमा दुई दल मात्रको सम्भावना छैन । नेपाल बहुविशेषतामा आधारित मुलुक हो, त्यसैले कसैको चाहनामा दुई ध्रुव सम्भव हुने विषय नै होइन । यस्तो सम्भावना देख्नु स्वैरकल्पनासिवाय केही हुन सक्दैन । मुलुकको परिस्थिति र आवश्यकताअनुसार गठबन्धन बन्न सक्छन्, त्यो देशकै हितमा हुँदैन भन्न मिल्दैन ।

See More On

सुझावित समाचार