आमनिर्वाचन तयारीका लागि बागमतीमा एमालेको सुसु अभियान

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

एमाले बागमती प्रदेशले प्रदेशभित्रका १३ जिल्लामा आमनिर्वाचनको प्रारम्भिक तयारीका लागि डेढ महिनासम्म संगठन सुदृढीकरण तथा शुद्धीकरण(सुसु) अभियान सुरु गर्ने भएको छ । बुधबार अध्यक्ष केपी ओलीले अभियानको शुभारम्भ गर्नेछन् । 

अभियानबारे अभिमुखीकरणका लागि एमाले बागमतीले काठमाडौंको प्रज्ञा भवन कमलादीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रशिक्षणमा बागमतीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय तहका नेता, सांसद, १३ ओटै जिल्ला कमिटीको नेतृत्व, जनसंगठनका पदाधिकारी, प्रदेश कमिटीको नेतृत्व र सदस्यहरू, बागमती प्रदेश सम्पर्क कमिटीका पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क मञ्चका अध्यक्ष, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, स्थानीय तहमा निर्वाचित पालिका र जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहभागी हुने एमाले बागमतीले जनाएको छ । 

अभियानबाट आमनिर्वाचनमा जित हासिलको गतिलो आधार तयार हुने दाबी गर्दै एमाले बागमतीका अध्यक्ष केशव पाण्डेले त्यसअनुसार तयारीको काम अगाडि बढाउन जिल्लाहरूलाई परिपत्र गरेका छन् । डेढ महिने अभियानकै क्रममा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रस्तरमा यथार्थ राजनीतिक शक्तिसन्तुलनको जानकारी लिएर थप तयारी अगाडि बढाउने एमाले बागमतीले योजना बनाएको छ । 

‘संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान नै निर्वाचन तयारीको एउटा महत्वपूर्ण अभियान हो । निर्वाचनमा जित हासिल गर्न यसले गतिलो आधार तयार पार्नेछ । पार्टी संगठन सुदृढ हुँदा मात्र निर्वाचन जित्न सकिनेछ । यो अभियान पार्टी निर्माणका साथै निर्वाचन तयारीको प्रारम्भिक कार्ययोजना पनि हो,’ परिपत्रमा पाण्डेले भनेका छन् ।

१५ भदौसम्म प्रदेशका जिल्लाभित्र पालिका, वडा र टोल तहसम्म चल्ने अभियानलाई प्रभावकारी बनाउन त्यसअनुसार जिल्ला तहमा बैठक, प्रशिक्षणलगायतका तयारी गर्ने गरी एमाले बागमतीले ३० असारको बैठकबाट कार्ययोजना पास गरेको छ । पार्टीको प्रदेश नेतृत्वदेखि सदस्यसम्मै समस्या देखिएको स्विकार्दै एमालेले पार्टीलाई जगैदेखि बलियो बनाउन अभियान सञ्चालन गर्न लागिएको प्रस्ट्याएको छ । 

‘प्रदेश कमिटीको नेतृत्व तहदेखि पार्टी सदस्यसम्म नै गम्भीर खाले समस्या देखिए । हामी सबै सच्चिनैपर्ने भएको छ । बागमतीको सिंगो एमाले पंक्ति एकपटक एउटा कठोर अभियानको आगोमा हाम फालेर खरो उत्रिनैपर्ने भएको छ । तसर्थ, गत असार १८–१९ मा सम्पन्न संगठनसम्बन्धी कार्यशाला गोष्ठीको मार्गदर्शन र बागमती प्रदेश संगठन कमिटीको चौथो बैठकको फैसलाअनुरूप पार्टीलाई जगैदेखि बलियो बनाउन र सन्निकट आइरहेको प्रतिस्पर्धामा सफलता हासिल गर्न डेढ महिनाको संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।’ परिपत्रमा भनिएको छ । अभियानबाट स्थानीय तहको निर्वाचनमा देखिएको अराजकता र व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्नुपर्ने आवश्यकता देखिएको एमालेले जनाएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाममा बागमतीमा एमाले पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको थियो । 

अभियानअन्तर्गत प्रदेश, जिल्ला, पालिका, वडा र टोलस्तरसम्मका पार्टी कमिटीहरूको गृहकार्यसहितका बैठक आयोजना गर्न, बाँकी रहेका टोल कमिटीहरू बनाइसक्न, निष्क्रिय कमिटीहरू पुनर्गठन गर्न, जनसंगठनका सम्मेलन गरिसक्न, वडा तहसम्म जनसंगठनका कमिटीहरू बनाउन, तोकिएका विषयमा जिल्ला, पालिका र वडा तहसम्म नै पार्टी कार्यकर्ता प्रशिक्षणका कार्यक्रमहरू आयोजना गर्न, बुद्धिजीवी र विषयविज्ञहरूबाट एमालेप्रति रहेका असन्तुष्टि, आलोचना, सुझाव र टिप्पणी संकलन गर्न, स्थानीय तहको निर्वाचनमा गल्ती गर्ने र जिम्मेवारी पूरा नगर्नेहरूको तथ्यगत जानकारी लिएर आवश्यक निर्णय गर्न परिपत्र गरिएको छ । 

त्यस्तै, अभियानका क्रममा चलाइने प्रशिक्षणको विषयवस्तु पनि तय गरिएको परिपत्रमा उल्लेख छ । जसअनुसार कार्यकर्तालाई जबजको मान्यताअनुरूपको पार्टी निर्माण, स्थानीय निर्वाचनका सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, वर्तमान राजनीतिक शक्तिसन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रूपमा एमालेको भूमिका अभिवृद्धि, पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध समन्वय र स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्न पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषयमा प्रशिक्षण हुनेछ । 

See More On

सुझावित समाचार