कार्यकक्षमै थुनामा परिन् गाउँपालिका उपाध्यक्ष

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

दैलेखको डुंगेश्वर गाउँपालिकाले करार कर्मचारीलाई हाजिर नहुन सूचना जारी गरेसँगै डुंगेश्वर गाउँपालिकामा पनि करार कर्मचारीहरूले पालिकामा तालाबन्दी गरेका छन् । आन्दोलनमा उत्रिएका करार कर्मचारीहरूले गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेलाई समेत आधा घण्टा कार्यकक्षमै थुनेका थिए । ‘२० मिनेट जति मलाई कार्यकक्षमै थुनामा राखे, २० मिनेटपछि पुनः मलाई ताला खोलियाे, धम्की दिइयो । जनप्रतिनिधिलाई समेत सुरक्षा चुनौती भएको छ ।’ न्यौपानेले भनिन्, ‘पहिला ज्ञापनपत्र बुझाएका कर्मचारीलाई पुनः एकाएक कुनै नेताको निर्देशन आएपछि धमाधम कार्यालयका सबै शाखामा तालाबन्दी गरेको देखियो, नियमविपरीत विगत सरकारले गरेका करार कर्मचारी हटाएर लोकसेवा आयोगमार्फत कर्मचारी परिपूर्ति गर्ने हिसाबले गाउँपालिकाले निर्णय गरेको हो ।’

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले ४२ जना कर्मचारीलाई काममा नआउन र अहिलेसम्म कार्यालयबाट बुझेको जिन्सी सामान बुझाउन आग्रह गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले गाउँसभाले निर्णय गरेको विषयमा गाउँपालिका अध्यक्ष आएपछि कुरा गरौँला भनेर ज्ञापनपत्र बुझेको र तालाबन्दी नगर्न आग्रह गर्दा पनि नमानेर तालाबन्दी गरिएको बताए । 

कार्यालय समय सुरु हुनेबित्तिकै तालाबन्दी भएपछि दिनभर पालिकाको काम प्रभावित भएको छ । दैलेखको डुगेंश्वर गाउँपालिका र गुराँस गाउँपालिकामा नेकपा एमालेले विजयी भएको थियो । 

सुझावित समाचार