रसुवाको आमाछोदिङमाे गाउँपालिकामा एमालेको उम्मेदवारी रद्द

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

रसुवाको आमाछोदिङमाे गाउँपालिकामा नेकपा एमालेको अध्यक्ष पदको उम्मेदवारी रद्द भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हिजो सोमबार भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्षमा एमालेबाट दिइएको दुईजनाको उम्मेदवारी रद्द भएको हो । 

आमाछोदिङमाे गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गरेका थिए । उनी समानुपातिकको बन्द सूचीमा रहेको लुइँटेलले बताए । समानुपातिकको बन्द सूचीमा रहेको व्यक्ति स्थानीय तहको कुनै पनि उम्मेदवार हुन नपाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । 

तेब्रल तामाङको उम्मेदवारी नहुने भएसँगै लगत्तै एमालेबाटै गाउँपालिका अध्यक्षमा फुर्पुसिंगी तामाङले मनोनयन दर्ता गराए ।  नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुईवटा उम्मेदवार पेस भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको गाउँपालिका प्रमुखका उम्मेदवार फुर्पुसिंगी तामाङको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत लुइँटेलले सूचना प्रकाशन गरी जानकारी दिएका छन् ।

‘एमालेले नै एउटै पदमा दुईवटा उम्मेदवारलाई आधिकारिकता दिएको देखिन्छ, एकजनाको नाम त समानुपातिकको बन्दसूचीमा छ,’ उनले भने, ‘दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदै छौँ, आयोगको निर्देशनबमोजिम अघि बढ्छौँ।’

See More On

सुझावित समाचार