झापाका किसान जातिले माग पूरा गर्ने सर्तमा मात्रै भोट दिने

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण
झापाका किसान जातिले माग पूरा गर्ने सर्तमा मात्रै भोट दिने

तस्बिर : रासस

राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएकाे छ । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने सर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् ।

विगतमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न संग्रहालय बनाइदिने, रोजगारी दिनेलगायत सर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरूको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका हुन् । स्थानीय जोगी किसानले भने, ‘हाम्रो संग्रहालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौँ ।’ किसान समुदायले मेचीनगर नगरपालिका– ९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संग्रहालय बनाउन सुरु गरेको छ । बजेट अभावमा भने सो काम अधुरै छ । 

०६० सालमा किसान समुदाय संगठित भएर ‘किसान समुदाय विकास प्रतिष्ठान’को स्थापना गरेका थिए । संग्रहालय बनाउने सोचका साथ स्थापना गरेको प्रतिष्ठानलाई कहीँ–कतैबाट पनि सहयोग नभएपछि गत वर्ष आफ्नै समुदायबाट रकम संकलन गरेर उनीहरूले प्रतिष्ठानका लागि एक कट्ठा जग्गा खरिद गरी भवन बनाउन सुरु गरेका हुन् । बजेट अभावका कारण भवन रङरोगन र झ्यालढोकाको काम बाँकी छ । ‘श्रमदान र सहयोग संकलन गरेर बनाएका हौँ,’ स्थानीय सुन्दरलाल किसानले भने ।  ‘पार्टीभन्दा पनि राम्रो र हाम्रो काम गर्ने मान्छेलाई मात्र भोट दिन्छौँ,’ उनले भने । नगरपालिकाले जग्गाको व्यवस्था गरेर भवन बनाइदिने आश्वासन पूरा नगरेको उनले बताए ।  भवनका लागि आदिवासी जनजाति महासंघले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

समुदायमा सात सय मतदाता छन् । समुदायले जातीय संग्रहालय बनाएर लोप हुँदै गएका गरगहना, चाँदुवा सिक्री (चाँदीका पैसाको माला), तक्री (झुम्का), लोला (टप), बेरा (मोटा चुरा), चुरी, धन्सी, पैरही (चेप्टो कल्ली), झुटिया (बिच्छी), खङ्सो, चौरी (कलापमा लगाउने धागो), बाजागाजा राख्ने तयारी छ । 

मेचीनगर– ११ का जुनेश किसानले वर्षाैँदेखि सुकुमबासी भएर बसेकाले जग्गाको व्यवस्था गरिदिनेलाई मात्र भोट दिने बताए ।  ‘ज्याला–मजदुरी गरेर पेट पालेका छौँ, ओत लाग्न जग्गा छैन,’ उनले भने । किसान समुदायको दैनिकी विगतभन्दा फेरिएको छ । सधैँ स्थानीय क्षेत्रमा मात्र ज्याला–मजदुरी गरेर जीवन गुजारा गर्ने उनीहरू अहिले रोजगारीका लागि कतार, मलेसिया, कुवेतलगायत देशमा जान थालेका छन् । रासस 

सुझावित समाचार