एसएलसी दिएपछि विगतमा आफ्नो रोजाइको विषय पढ्न माडी छाड्नु बाध्यता थियो। माडीमा अहिले अन्य जिल्लाबाट पनि विज्ञान विषय पढ्न विद्यार्थी आउँछन्। अन्यत्र सबैभन्दा महँगो विषयका रूपमा लिइएको विज्ञान विषय माडीमा निःशुल्क छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण माघको पहिलो साता चितवन प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गर्याे । अधिकांश शैक्षिक संस्था बन्द भए । निषेधाज्ञाकै समयमा १३ माघमा माडी कलेज पुग्दा प्राध्यापक यज्ञप्रसाद पौडेल भने विद्यार्थीलाई भर्चुअल माध्यममार्फत पढाउँदै थिए । विज्ञान संकायका प्रोग्राम को–अर्डिनेटर उनी राइटिङ ट्याब, ल्यापटप र मोबाइललगायत उपकरणमार्फत विद्यार्थीलाई सहज हुने गरी पढाइरहेका थिए ।
आफ्नो समयमा पढाइको दुःख सम्झिँदा उनलाई कहाली लाग्छ । माडीकै सोमेश्वर माविबाट विद्यालय शिक्षा पूरा गरेका उनले आइएस्सी, बिएस्सी र एमबिएस वीरेन्द्र क्यापसबाट पूरा गरे । माडीमा कलेज थिएन, घरबाट भरतपुरस्थित क्पाम्पस धाउन टाढा पर्थ्याे । भरतपुर जानुपर्दा पुल नभएका आधी दर्जन खोला तर्नुपर्थ्याे, राष्ट्रिय निकुञ्ज पार गर्नुपर्थ्याे, माडीमा बिजुलीबत्ती पनि थिएन । हुन त, माडीलाई अझै पनि चितवनको कर्णाली भनिन्छ । तर, स्थानीय सरकारको प्रयासपछि यही माडी बिस्तारै शैक्षिक हब बन्दै छ । पहिले एसएलसी दिएपछि माडी छाड्न बाध्य हुने विद्यार्थी अहिले गाउँमै उच्च शिक्षा हासिल गरिरहेका छन् । अन्य जिल्लाबाट पनि विज्ञान र प्रविधि विषय पढ्न विद्यार्थी माडी आउँछन् ।
शिक्षक पौडेलले ०६६ सालदेखि सदरमुकाम भरतपुरका विभिन्न स्कुल–कलेजमा पढाए । ०७४ सालको पालिका निर्वाचनपछि गाउँमै पशु विज्ञानको अध्यापन सुरु भयो । र, उनी गाउँ फर्किए । ‘अब गाउँ जानुपर्छ, जे छ घरतिरै छ, आफू पढ्दा समस्या व्यहोरे पनि भावी पुस्तालाई सहज बनाइदिनुपर्छ भन्ने विचार पलायो,’ उनी भन्छन्, ‘म माडीमा विज्ञान विषय पढाउने प्रयासमा सुरुबाटै आबद्ध छु, ०७६ सालमा नगरपालिकाको अनुमतिसँगै १६ विद्यार्थीबाट माडीमै पहिलोपटक विज्ञान संकाय सुरु गरेका हौँ ।’
उनका अनुसार एक ब्याच पासआउट भइसक्यो । पशु विज्ञानतर्फ तेस्रो ब्याच अध्ययनरत छ । फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणितमा सबै विषय शिक्षकको टिम बनेको छ । अन्यत्र सबैभन्दा महँगो विषयका रूपमा लिइएको विज्ञान विषय माडीमा निःशुल्क छ ।
०७५ देखि माडी–५ मा दिवाकर स्मृति प्राविधिक शिक्षालयमा पनि पढाइ भइरहेको छ । माडी नगरपालिकाले पहल गरेर जग्गा व्यवस्था गरेपछि अहिले सिभिल इन्जिनियरिङ, एनिमल साइन्स, फार्मेसी, प्लान्ट साइन्स संकायमा प्राविधिक शिक्षालय सञ्चालन छ । माडीकै सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिइन्छ । शिक्षालय प्रमुख उपेन्द्र पोखरेलका अनुसार टाढाबाट आउने विद्यार्थीलाई माडीमै छात्रावासको व्यवस्था गरिएको छ । स्वास्थ्यका अन्य कार्यक्रम पनि छिटै सञ्चालनको तयारीमा रहेको उनी बताउँछन् ।
स्थानीय तहको सक्रियता
स्थानीय सरकार आउनुअघि माडीको शिक्षामा १३ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको थियो । स्थानीय सरकार आएकै वर्ष ०७४–७५ मा एक करोड २५ लाख रुपैयाँ विनियोजन गरियो । क्रमशः बढ्दै गए । चालू आर्थिक वर्षमा चार करोड आठ लाख छ । नगरको कुल बजेटकोे १० प्रतिशतबढी बजेट शिक्षाका लागि विनियोजन भएको छ ।
शिक्षा विकासको पूर्वाधार भएकाले आफ्नो बजेटको ठूलो हिस्सा लगानी गरिएको माडी नगर प्रमुख ठाकुरप्रसाद ढकाल बताउँछन् । ‘हामी स्थानीय तहको प्रमुख भएर आउनुअघिसम्म १० कक्षापछि विज्ञान र प्राविधिक विषय पढ्न यहाँका विद्यार्थी माडीबाहिर जानुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘हामी आएपछि पहिलो चरणमा दिवाकर स्मृति प्राविधिक शिक्षालय स्थापना गर्याैँ, जहाँ ४२ जिल्लाबाट विद्यार्थी पढ्न आउँछन् ।’
त्यसलगत्तै माडीमै विज्ञान विषयको अध्यापन सुरु गरायो, नगरपालिकाले । ०७४ सालको चुनावी घोषणापत्रमा माडीका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने, दिवाकर बहुप्राविधिक शिक्षालयको निर्माणलाई पूर्णता दिँदै माडी क्याम्पसमा प्राविधिक तथा विज्ञान संकाय सञ्चालन गर्ने उल्लेख थियो । ‘पहिलो ध्यान त्यसमै केन्द्रित गर्याैँ । हामी आउँदा नगरमा ४६ सामुदायिक विद्यालय थिए । हामीले आवश्यकताअनुसार १५ विद्यालय गाभेका छौँ,’ उनी भन्छन्, ‘२७६ दरबन्दी शिक्षक र ६३ करार शिक्षक नगरमा हुनुहुन्छ । हामीले सिकाइ सहजताका लागि एक शिक्षक एक ल्यापटप कार्यक्रमअन्तर्गत एक सय ३५ ल्यापटप ४० प्रतिशत अनुदानमा शिक्षकलाई प्रदान गरेका छौँ । नगरपालिकाले प्रधानाध्यापकको साबिकको सुविधामा एक हजार पाँच सय रुपैयाँ थपिदिएको छ ।’
शिक्षामा जगबाटै सुधारको प्रयास
नगरपालिकाले सरकारी विद्यालय सुधारका लागि शिक्षाको जग ठानिएको प्रारम्भिक बाल विकास सुधार केन्द्र चलाएको छ । माडीमा अहिले ८४ वटा बालकेन्द्र छन् । भौतिक तथा शैक्षिक सुधारका लागि भवन तथा कक्षाकोठाको मर्मत र शैक्षिक सामग्री व्यवस्था गरिएको छ । सहयोगी कार्यकर्ता (बाल शिक्षक) को न्यूनतम शैक्षिक योग्यता तोकिएको छ । तिनलाई नगरपालिकाले बाल विकाससम्बन्धी तालिम दिएको छ । बाल सहयोगी कार्यकर्ताबारे नेपाल सरकारले निर्णय गर्नुअघि नै माडीमा तिनको व्यवस्था भइसकेको थियो । अहिले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक १३ हजार पाँच सयमा दुई हजार पाँच सय रुपैयाँ थपेर मासिक तलब दिइरहेको छ । त्यसअघि उनीहरूले मासिक ६ हजार रुपैयाँ पारिश्रमिक पाउँथे ।
‘सबैका लागि शिक्षा, शिक्षा सबैका लागि’ नगरपालिकाको नारा छ । ‘नगरपालिकाको अहिलेको उद्देश्य माडीका सामुदायिक विद्यालयबाट उत्पादित विद्यार्थी विश्वबजारमा सहजै बिक्न सक्ने बनाउनु हो,’ मेयर ढकाल भन्छन् ।
सुविधासम्पन्न छन् विद्यालय
माडीको जनकल्याण मावि पुग्दा रिसोर्ट पुगेको अनुभूति हुन्छ । गेटबाट प्रवेश गर्नेबित्तिकै चिटिक्क परेको स्कुल भवनले स्वागत गर्छ । भित्र प्रवेश गरेपछि विद्यालय परिसरको बीचमा बनाइएको फाउन्टेनले शीतलता दिन्छ । फाउन्टेनसँगै बगैँचा छ, जहाँ विभिन्न प्रजातिका रूख–बिरुवा लगाइएका छन् । ‘यो समयको माग पनि हो, तीन वर्षदेखिका बालबालिका बाल मनोविज्ञानअनुसार रमाइलो गर्दै सिक्ने भएकाले जोकोही आउँदा खुसी हुने ठाउँ बनाएका हौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम विष्ट भन्छन् ।
विद्यालयले व्यावहारिक शिक्षामा पनि जोड दिएको छ । कुखुरा, हाँसपालनदेखि तरकारी खेतीसम्म हुन्छ । विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीका अनुसार कक्षा ९ र १० मा कृषि विषय लिएका विद्यार्थी ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्तर्गत उद्यमशीलतासँग जोडिएका छन् । विद्यार्थीलाई खेतीसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाइन्छ । जैविक र प्रांगारिक मलको प्रयोग गरेर खेती गर्न सिकाएका छौँ । उनका अनुसार उत्पादित कृषि उपजलाई स्थानीय बजारमा बिक्री गर्ने र आम्दानी विद्यार्थीलाई दिने गरिएको छ ।
२९ पुस ०३३ मा स्थापना भएको माडी– ३ को राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबहालाई ०६४ सालको बाढीले भौतिक क्षति पुर्यायो । नगरपालिकाकै सक्रियतामा विभिन्न संघसंस्था र व्यक्तिको पहलमा विद्यालयको नयाँ भवन बन्यो । अहिले यो विद्यालय नयाँ व्यवस्थापनसहित सञ्चालनमा छ । विद्यालयको भवन प्रदेशकै नमुना बनेको छ ।
माडी नगरपालिकाभित्र ३१ सार्वजनिक र ६ निजी विद्यालय, एक क्याम्पस, एक प्राविधिक शिक्षालय, तीन सामुदायिक अध्ययन केन्द्र र एक पुस्तकालय छन् । प्रत्येक विद्यालयमा कम्प्युटर छन् । माध्यमिक तहका विद्यालयमा सिसिक्यामेरा, इन्टरनेट, व्यवस्थित विज्ञान प्रयोगशाला, ई–हाजिरी, स्मार्ट बोर्ड, आइसिटी ल्याबको व्यवस्था छ । अन्य विद्यालयमा पनि यसका लागि काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल बताउँछन् । माडी नगरपालिकाका सबै १० वटा माध्यमिक विद्यालयमा स्कुलबसको सुविधा छ । केन्द्रको एक र प्रदेशको एक गरी दुईवटा विद्यालय नमुना घोषणा भएका छन् । नगरपालिका आफैँले पनि तीनवटा विद्यालयलाई नमुना घोषणा गरी थप व्यवस्थापन गरेको छ । विद्यालयमा छात्राका लागि स्यानिटरी प्याड उपलब्ध छ ।
विद्यार्थीलाई सरकारी स्कुल नभई कुनै बोर्डिङ स्कुल पठाएको अनुभूति गराउन सफलता मिलेको मेयर ढकालको दाबी छ । स्कुलबस, सुविधासम्पन्न भवन, विद्यार्थीले चाहेअनुसार अंग्रेजी र नेपालीमा पठनपाठन, सेक्सन बनाएर सीमित विद्यार्थी कक्षाकोठामा राखिने भएकाले नगरका सामुदायिक विद्यालय बोर्डिङ स्कुलभन्दा कम नभएको उनको बुझाइ छ ।
नगरपालिकाले सरकारी विद्यालय सुधारमा जोड दिएपछि बोर्डिङ स्कुल छाडेर सरकारीमा भर्ना हुने क्रम पनि बढेको छ । आफ्नो क्षेत्रका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको र उमेर पुगेका सबै बालबालिका विद्यालय जाने गरेका ढकाल बताउँछन् । सरकारी स्कुल पढेर पनि डाक्टर, इन्जिनियर, पाइलट, बैंकर बनिन्छ र बनाउन सकिन्छ भनेर अभिभावकको मन जित्न सफलता मिलेको उनको भनाइ छ ।
‘विगतमा दिवाकर माविमा ६ सय पनि विद्यार्थी थिएनन्, अहिले एक हजारभन्दा बढी छन्,’ उनी भन्छन् । स्थानीय सरकार गठन भएपछि जनप्रतिनिधिले विद्यालयको समस्यामा चासो राख्ने, ती समस्या समाधान गर्न सहयोग दिन थालेपछि शैक्षिक वातावरण क्रमशः सुध्रिएको नगरपालिकाको शिक्षा शाखाकी कर्मचारी सरिता सापकोटा बताउँछिन् । सिकाइसँगै विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन ३, ५ र ८ कक्षाको वार्षिक परीक्षा नगरस्तरीय हुन्छ । यसो गर्दा विद्यार्थी मात्र होइन, शिक्षक पनि आफ्नो विद्यालयको नतिजा राम्रो ल्याउन मिहिनेत गर्छन् । स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो माडी’ नामको एकदेखि पाँच कक्षासम्मको पाठ्यक्रम पनि विद्यालयले पढाउन सुरु गरेको छ ।
बुहारीलाई स्नातकसम्म निःशुल्क
माडीमा स्नातकसम्म अध्ययन गर्ने बुहारीलाई निःशुल्क पढाइन्छ । छोराछोरीमा भिन्नता छैन भन्ने सन्देश प्रवाह गर्न दुई छोरी मात्र भएको परिवारका दुवैलाई निःशुल्क पढाइन्छ । बहुप्रतिभा प्रस्फुटन कार्यक्रमअन्तर्गत चार विधा छनोट गरी प्रशिक्षक परिचालनमार्फत कार्यक्रम सञ्चालन गरिएको छ । शैक्षिक ऋणको व्यवस्था पनि नगरमा उपलब्ध छ । शिक्षकलाई आवश्यकताअनुसार तालिमको व्यवस्था छ ।
कोभिड कहरमा समेत माडीका विद्यार्थीको सिकाइ प्रक्रिया रोकिएन । शिक्षकले सम्भव भएसम्म घरमै पुगेर वा टोल–टोलमा भेला गराएर पढाइरहे । होम स्कुलिङ, कल सेन्टर, रेडियो र अनलाइनमार्फत पनि विद्यार्थीलाई पढाइएको मेयर ढकाल बताउँछन् । अतिविपन्न, दलित, सीमान्तकृत विद्यार्थीलक्षित कार्यक्रम, स्टेसनरी वितरण, दिवा खाजा, न्यानो कपडा, छात्रवृत्तिलगायत कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको छ । नगरपालिकाले संरक्षण केन्द्रमार्फत अभिभावक नभएका अतिगरिब तथा अनाथ बालबालिकाको पठनपाठनको व्यवस्था पनि मिलाएको छ ।