युएई भ्रमणमा रहेका नेपालको संघीय संसद्का प्रतिनिधिहरूले नेपाल एयरलायन्सले गर्नुपर्ने सुधारहरूको बारेमा सुझाब संकलन गरेका छन्। नेपाल एयरलायन्सको दुबई कार्यालयले दुबईको सेराटोन होटेलमा प्रतिनिधि भेटघाट कार्यक्रम आयोजना गरी सुझाब संकलन गरेको हो।
नेपाल एयरलायन्सको युएई प्रमुख टीकाराम पंगेनीले सञ्चालन गरेका उक्त कार्यक्रममा नेपाल एयरलायन्सका कर्पोरेट निर्देशक अर्चना खड्का, संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरू चाँदतारा कुमारी, दिव्यमणिराज भण्डारी, पुष्पकुमारी कर्ण र रेनुका गुरुङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल एयरलायन्सको तर्फबाट युएई उडानको बारेमा र कोभिडको समयमा भएगरेका उद्धार उडानको विषयमा जानकारीसहित प्रस्तुति राखिएको थियो। कार्यक्रममा बोल्दै नेपाली राजदूतावास युएईकी श्रम काउन्सलर निर्मला थापाले कोभिड–१९ को समयमा उद्धार उडानको बेला नेपाल एयरलायन्सले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएकी थिइन्।
कार्यक्रमका अन्य वक्ताहरूले नेपाल एयरलायन्सले नीति मात्र सुधार गरेर नहुने, सेवा सुविधा र व्यवहारमा सुधार हुनुपर्ने, अन्य एयरलायन्सको तुलनामा शुल्क सुलभ हुनुपर्नेजस्ता सुझाबहरू दिएका थिए। त्यसैगरी नेपालीहरूको सामान कार्गो गर्ने सन्दर्भमा स्पेस नपाउनेजस्ता समस्याहरू समाधान गर्न कार्गो व्यवसायीहरूले सुझाब दिए।
जवाफमा नेपाली कांग्रेसको तर्फबाट संघीय संसद्का प्रतिनिधि दिव्यमणिराज भण्डारीले वक्ताहरूले राखेका कुराहरूमा आफूहरू गम्भीर रहेको बताए। उनले उपस्थित नेपालीहरूलाई लिखित रूपमा सुझाबहरू पेस गर्न अनुरोध गर्दै सम्पूर्ण सुझाबहरू सम्बोधन गर्न पहल गर्ने बताए।