नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तर्क्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गरे । 

उनले  भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताए ।  कोभिड मारामारीका कारण आमजनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएका विभिन्न सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।  प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

कन्फिडरेसन अफ इन्डियन इन्डिस्ट्रिज (सिआइआई) ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेको सन्दर्भमा यसलाई बढाउन नेपाली निजी क्षेत्रले सहजीकरण गर्ने बताए ।  

सो अवसरमा सिआइआईका अध्यक्ष टिभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेका प्रयासबारे जानकारी गराए । 

 कार्यक्रममा करिब ३० भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको थियो भने विभिन्न करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीका सम्भावनाबारे चासो र अनुभव प्रस्तुत गरेका थिए । रासस 

सुझावित समाचार