गठबन्धनका कारण एमालेलाई झन् सजिलो भयो : ओली

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण
गठबन्धनका कारण एमालेलाई झन् सजिलो भयो : ओली

स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयारी भर्चुअल कार्यशालामा बुधबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओली ।

कांग्रेसले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय लिएसँगै दबाबमा आएका एमाले अध्यक्ष केपी ओली पाँचदलीय सत्तागठबन्धनविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । सत्तारूढ दलहरूले गठबन्धनका पक्षमा नीतिगत निर्णय लिए पनि कार्यान्वयन कठिन हुन सक्ने आशंका गर्दै ओलीले गठबन्धनका कारण एमालेलाई चुनावी प्रतिस्पर्धा झन् सहज भएको दाबी गरेका छन् । 

‘साह्रै बच्चासँग लड्न गाह्रो हुन्छ, थपिँदै–थपिँदै पाँचजना भएर अलि बराबर आउन खोज्यो भने हामीलाई लड्न पनि सजिलो हुन्छ, सोझै लड्न पाइयो नि ! बच्चासँग निहुरिएर कसरी लड्ने ?’ स्थानीय तह निर्वाचनको प्रतिबद्धता तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले भने, ‘सक्छन् भने एउटाको काँधमा अर्को, अर्कोको काँधमा अर्को चढून् । गठबन्धन गर्छौं भनेका हुन्, तर सजिलो छैन । लोभीपापीको गठबन्धन कति गाह्रो होला ? विचार गर्नुस् त !’

एमाले अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्ने सामर्थ्य बोकेको पार्टी नै नभएकाले कमजोरहरूले गठबन्धन बनाउने प्रयास गरेको बताए । ‘एउटा तराजुमा एक–एक किलोका पाँचओटा ढक एकातिर राख्नुभो, अनि क्विन्टलको ढक अर्कोतिर राख्नुभो भने के हुन्छ ? एमाले क्विन्टलको ढकजस्तो हो, पाँच गठबन्धन एक–एक किलाका ढकजस्ता हुन्,’ ओलीले भने, ‘एमालेसँग एक्लै लड्ने कुनै पार्टीले नचिताए हुन्छ, सोच्दैनसोचे हुन्छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिँदैन भन्ने उहाँहरूको बुझाइ ठीक छ ।’ 

ओलीले एमालेलाई बाघ र पाँचदलीय गठबन्धनलाई हरिणसँग तुलना गरे । ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ, यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ,’ ओलीले भने, ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन ।’

ओलीले एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले सरकारहरूले गरेका काम लिएर जान कार्यकर्तालाई निर्देशन दिए । कुनै द्विविधाविना निर्वाचनमा हाोमिन पनि उनले निर्देशन दिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

भर्चुअल कार्यक्रममा प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारे भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे । महासचिव शंकर पोखरेलले यसबीचमा गर्नुपर्ने समग्र कामका बारेमा निर्देशन दिए । कार्यक्रममा स्थायी कमिटीका सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारी र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुख सहभागी थिए । 

See More On

सुझावित समाचार