दमक गोल्डकप : आयोजकविरुद्ध बागमतीको कठिन जित

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण
दमक गोल्डकप : आयोजकविरुद्ध बागमतीको कठिन जित

आयोजक दमक–११ का खेलाडी गोल गर्ने प्रयासमा । तस्बिर : नयाँ पत्रिका

बागमती युथ क्लब सर्लाहीले झापाको दमकमा सुरु भएको दमक गोल्डकपमा आयोजकविरुद्ध कठिन जित निकालेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको उद्घाटन खेलमा आयोजक दमक–११ विरुद्ध बागमतीले १–० को कठिन जित निकालेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको गोल्डकपको उद्घाटन खेलमा जितका लागि बागमतीले पेनाल्टीको सहायता लिनुपर्यो । विपक्षी खेलाडीले डिबक्समा लडाउँदा पाएको पेनाल्टीलाई सदुपयोग गर्दा बागमतीले दमक गोल्डकपको क्वाटरफाइनलको यात्रा तय गरेको हो । बागमतीका लागि ८८औँ मिनेटमा अनिल रानामगरले पेनाल्टीमार्फत पाएको अवसरलाई गोलमा परिणत गरे । आयोजक दमक–११ का राजन धिमालले बागमतीका विदेशी खेलाडी जोमाउललाई डिबक्समा लडाएपछि बागमतीले पेनाल्टी पाएको थियो । 

मोफसलको सशक्त टोली बागमतीले खेलमा राम्रो प्रदर्शन गर्न सकेन । सर्लाहीमा जारी राजर्षि कपमा मंगलबार सहभागी भएर रातभर यात्रा गरेर दमक आएका बागमतीका खेलाडी निकै थकित देखिन्थे । उनीहरूले अपेक्षाकृत खेल खेल्न सकेनन् । खेलमा पाएका मौकालाई पनि गोलमा सदुपयोग गर्न सकेन । खेलको ८औँ मिनेटमा ‘वन भर्सेस वान’मा डिबक्सबाट बागमतीका जोमाउलले गरेको फितलो प्रहार सेकेन्ड बारनजिकैबाट बाहिरियो । जोमाउलले खेलमा धेरै अवसर पाए । तर, राम्रो फिनिसिङ गर्न नसक्दा स्कोर गर्न चुके ।

खेलको ३०औँ मिनेटमा डिबक्समा अनमार्क रहेका उनको प्रहार अकासियो । ५०औँ मिनेटमा जोमाउनले डिबक्समा गरेको प्रहार विपक्षी गोलरक्षक प्रिन्स श्रेष्ठले विफल बनाइदिए । ७३औँ मिनेटमा विमल घिसिङले डिबक्सबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरियो । खेलको ७४औँ मिनेटमा बागमतीका मोर्सिया एन्लेटेको फ्रिकिक प्रहार विपक्षी गोलरक्षकले नियन्त्रणमा लिए । बागमतीका गोलरक्षक मनोज प्रधानले निकै उत्कृष्ट प्रदर्शन गरे । उनले दमकका अधिकांश प्रहारलाई विफल बनाए ।  

घरेलु दर्शकको साथ भएको घरेलु टोली दमक–११ ले पनि खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । उसले अधिकांश समय बल नियन्त्रणमा लियो । तर, फिनिसिङ लाइन कमजोर हुँदा स्कोर गर्न भने सकेन । स्थानीयस्तरबाटै उत्पादन भएका उदयीमान खेलाडीको प्रदर्शन भने तारिफयोग्य थियो । दमकले वडास्तरमा गरेको खेलबाट खेलाडी छनोट गरेको थियो । डिफेन्स कमजोर भए पनि सुरुवाती समयदेखि नै दमकले आक्रमक खेल खेल्यो । खेलमा दर्जन बढी अवसर दमकले पायो । तर, पाएका कुनै पनि अवसरलाई सदुपयोग गर्न नसक्दा बागमतीसँग झिनो अन्तरले पराजित हुन पुग्यो ।

खेलको १०औँ मिनेटमा दमकका तामाङले गरेको फ्रिकिक प्रहार डिबक्समा रहेका रोशन धिमालले हेडरमार्फत उत्कृष्ट फिनिसिङ गरेका थिए । तर, डिबक्समै रहेका विपक्षी बागमतीका सुमन चाम्लिङले क्लियर गरिदिए । ११औँ मिनेटमा दमकका खमिर गिल्सन कन्दङवाको लङरेन्ज प्रहार क्रसबारमाथिबाट बाहिरियो । १७औँ मिनेटमा डिबक्समा दमकका माल्दिन आङ्देम्बेको प्रहार विपक्षी गोलरक्षक मनोज प्रधानले पन्च गरेर बचाए । ३३औँ मिनेटमा खमिर गिल्सन कन्दङ्वाले डिबक्सबाट गरेको प्रहारमा विपक्षी गोलरक्षक प्रधानले सही जज गर्दै विफल बनाए । ४५औँ मिनेटमा दमकका राहुल लिम्बूको प्रहार विपक्षी गोलरक्षक प्रधानले पञ्च गरे । ६०औँ मिनेटमा किस्मत लिम्बूले डिबक्सबाट गरेको प्रहार अकासियो । 

खेलको म्यान अफ दी म्याच बागमतीका गोलरक्षक मनोज प्रधान बने । उनले  नगद दश हजार रुपैयाँ पुरस्कार जिते । गोल्डकप १८ चैतमा सकिनेछ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने आयोजक समितिका आर्थिक व्यवस्थापन संयोजक चन्द्र खत्रीले जानकारी दिए । 

सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ 
सोनाम लामा, प्रशिक्षक, बागमती युथ क्लब 

खेलाडीहरू आजै दमक आइपुगेका हुन् । उनीहरूले रेस्ट गर्नसमेत पाएका थिएनन् । त्यसकारण सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ । फेरि सर्लाही जानुछ । यात्राले खेलाडी थकित हुन्छन् । तर, आगामी केही न केही व्यवस्थापन गर्छौँ ।  

 खेलाडीको प्रदर्शनदेखि सन्तुष्ट छु
कुमार गिरी, प्रशिक्षक, दमक–११ 

खेल हो हारजित हुन्छ । हामीले वडास्तरीयबाट खेलाडी छानेर तालिम गराएको खेलाडीले यो स्तरको खेल खेलकोमा सन्तुष्ट छु । लिग विजेता मच्छिन्द्र र एनआरटीलाई हराउने टिमसँग यतिको खेल्नु निकै उत्कृष्ट प्रदर्शन हो ।

आजको खेल
गोर्खा ब्वाइज रुपन्देही 
दुर्गापुर सन्डे कोलकाता 

सुझावित समाचार