२४ फेब्रुअरीका दिन मस्कोको समयमा बिहान करिब ५ः३० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भूमिमा ‘विशेष कारबाही’को घोषणा गरे जसको उद्देश्य सार्वभौम युक्रेनमा ‘निशस्त्रीकरण’ र ‘नाजी उन्मूलन’ गर्नुरहेको थियो । यो कारबाहीका लागि लामो समयदेखि तयारी गरिँदै थियो । कैयौँ महिनाअगाडिदेखि युक्रेनको सीमामा रुसी सेना तैनाथ भइरहेका थिए । तर, हाम्रो देशको नेतृत्वले सैन्य आक्रमणको सम्भावनालाई नकारेको थियो । अहिले यो झुट साबित भयो ।
रुसले आफ्नो छिमेकीविरुद्ध युद्ध छेडेको छ । रुसले युक्रेनको आत्मनिर्णयको अधिकार र शान्तिपूर्ण आकांक्षालाई अस्वीकार गरेको छ । यसअघि नै हामीले घोषणा गरेका थियौँ फेरि पनि दोहोर्याउँछौँ, रुसी सरकारले यस युद्धको सूत्रपात आठ वर्षअगाडि नै गरेको थियो ।
डोनबासमा भएको युद्ध क्रिमियाको अवैधानिक कब्जाबाट सुरु भएको हो । हामी रुस र रुसी राष्ट्रपतिले लुहान्स्क र दोनेत्स्कका भाग्यप्रति कहिल्यै चासो राखेनन् भन्नेमा विश्वस्त छौँ र अहिले आठ वर्षपछि यी गणतन्त्रलाई मान्यता दिनु भनेको स्वतन्त्रताका नाममा युक्रेनमा अतिक्रमण गर्नु मात्रै हो । त्यसबाहेक यसको कुनै अर्को उद्देश्य छैन ।
रुसी नागरिक र नारीवादी हुनुका नाताले हामी यस युद्धको घोर निन्दा गर्छौँ । राजनीतिक शक्तिका रूपमा रहेको नारीवाद युद्ध उन्माद र सैन्य अतिक्रमणका पक्षमा उभिन सक्दैन । रुसको नारीवादी आन्दोलन जोखिममा रहेका समुदाय र समान अवसर एवं सम्भावना भएको न्यायपूर्ण समाजको विकासका लागि संघर्ष गर्छ र हाम्रो संघर्षमा हिंसा एवं सैन्य द्वन्द्वका लागि कुनै ठाउँ दिनेछैन ।
युद्ध भनेको हिंसा, गरिबी, बलात् विस्थापन, छिन्नभिन्न जीवन, असुरक्षा र अन्धकार भविष्य हो । यसकारण नारीवादी आन्दोलनका मूल्य–मान्यता र लक्ष्यसँग युद्ध कुनै पनि कोणबाट मेल खाँदैन । युद्धले लैंगिक असमानता बढाउँछ र मानव अधिकारलाई वर्षौँ पछाडि धकेल्छ । युद्धले बम र गोलीका हिंसा मात्रै निम्त्याउँदैन, यसले यौन हिंसा पनि निम्त्याउँछ अर्थात् इतिहास केलाउने हो भने युद्धका समयमा एक सामान्य महिलाको बलात्कृत हुने सम्भावना कैयौँ गुणाले बढ्ने गर्छ । यी यावत् कारणले गर्दा रुसी नारीवादी र नारीवादमा विश्वास गर्नेहरूले हाम्रो नेतृत्वले सुरु गरेको युद्धविरुद्ध सशक्त ढंगले साथ दिऊँ ।
अहिलेको युद्ध पुटिनको सम्बोधनले देखाएझैँ सरकारी विचार निर्माणकर्ताले भन्ने ‘परम्परागत मूल्य–मान्यता’का आधारमा लडिएको हो । यस विचारलाई रुस सम्भव भए धर्म–प्रचारकले नभए युद्धबाट फैलाउन उद्यत छ । आलोचनात्मक चिन्तन गर्ने जोकोहीले पनि ‘परम्परागत मूल्य–मान्यता’लाई सहजै बुझ्न सक्छ, अर्थात् यी मान्यतामा लैंगिक असमानता, महिला शोषण र पितृसत्ताका मानकअनुसार नचल्ने मानिस, स्वपहिचान र व्यवहारको दमन पर्छन् । उल्लिखित विकृत मान्यता र लोकप्रियतावादी ‘स्वतन्त्रता’का नाममा छिमेकी मुलुकमा भएको अतिक्रमणलाई पनि आधार मानेर रुसभरिका नारीवादी यस युद्धको जोडतोडका साथ विरोध गर्छन् ।
हालको रुसमा नारीवादीहरू थोरैमध्येका एक महŒवपूर्ण राजनीतिक शक्ति हुन् । लामो समयदेखि रुसी अधिकारीले हामीलाई खतरनाक राजनीतिक आन्दोलनका रूपमा हेरेनन्, तसर्थ अन्य राजनीतिक समूहका तुलनामा हामी राज्य दमनको चपेटामा परेका छैनौँ । हाल रुसमा लेनिनग्राददेखि भ्लादिभोस्तोक र रोस्तोभ–ओन–दोनदेखि उलान–उदेसम्म ४५ भन्दा बढी नारीवादी संस्थाले काम गरिरहेका छन् ।
हामी रूसी नारीवादी समूह र व्यक्तिलाई युद्धको विरोध गर्न ‘फेमिनिस्ट एन्टिवार रेसिस्टेन्स’मा सामेल हुन आह्वान गर्छौँ । त्यसबाहेक युद्ध छेड्ने सरकारविरुद्ध पनि एकजुट हुन आह्वान गर्छौँ । हामी विश्वभरका नारिवादीलाई हाम्रो आन्दोलनमा सहभागी हुन आग्रह गर्छौँ । संसारभरि छरिएररहेका हामी नारीवादी धेरै छौँ र हामीले धेरै गर्न सक्छौँ, र पछिल्लो दशकमा नारीवादले अत्यधिक मिडिया र सांस्कृतिक शक्ति आर्जन गरेको छ । यो शक्तिलाई राजनीतिक रंग दिनुपर्ने समय आएको छ । हामी युद्ध, पितृसत्ता, अधिनायकवाद र सैन्यवादको विरोध गर्छौँ । हामी भविष्य हौँ ।
हामी संसारका नारीवादीलाई निम्न आह्वान गर्छौँ :
– शान्तिपूर्ण प्रदर्शन गरौँ । युक्रेनविरुद्ध छेडिएको युद्ध र पुटिनको तानाशाहीविरूद्ध अफलाइन र अनलाइन अभियान सुरु गरौँ । फेमिनिस्ट एन्टिवार रेसिस्टेन्सको प्रतीकलाई आफ्ना काम र प्रकाशनमा निर्धक्क प्रयोग गरौँ र यसैगरी ‘फेमिनिस्ट एन्टिवार रेसिस्टेन्स’ र ‘फेमिनिस्ट अगेन्स्ट वार’ ‘ह्यासट्याग’ ट्रेन्ड गरौँ । रेसिस्टेन्स गर्नु भनेको, आफ्नै कार्यहरूलाई व्यवस्थित गर्नु हो ।
– युक्रेन युद्ध र पुटिनको युद्ध उन्मादबारे जानकारी फैलाउनुस् । हामीलाई अहिले युक्रेनलाई समर्थन गर्न र पुटिनको शासनलाई कुनै पनि हिसाबले सहयोग गर्न अस्वीकार गर्ने विश्व
चाहिएको छ ।
– यो घोषणापत्रलाई सकेसम्म फैलाउने काम गरौँ । नारीवादी जुनसुकै युद्धविरुद्ध छन् भनेर देखाउन आवश्यक छ । रुसी जनता पुटिनको सत्ताविरुद्ध एक हुन तयार छन् भन्ने पनि देखाउन आवश्यक छ । हामी सबै राज्य उत्पीडनको चपेटामा पर्ने सम्भावना रहेको छ र हामीलाई यहाँहरूको समर्थन आवश्यक छ ।
(माथिको घोषणापत्र रुसी नारीवादीको युद्धविरोधी घोषणापत्र हो)