बाहिर आन्दोलन, भित्र अनुमोदन

एमसिसीविरुद्ध आइतबार नयाँ बानेश्वरमा विप्लव नेतृत्वको नेकपा, राप्रपालगायत साना दलको विरोध प्रदर्शन

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण
बाहिर आन्दोलन, भित्र अनुमोदन

संसद् भवनमा आइतबार एमसिसीबारे छलफल चल्दै गर्दा बाहिर सडकमा भने विभिन्न साना दलले विरोध प्रदर्शन गरेका थिए । तस्बिर : संजित परियार/नयाँ पत्रिका

आइतबार बिहान सत्तारुढ दलहरू ‘व्याख्यात्मक घोषणा’सँगै संसद्बाट एमसिसी अनुमोदन गर्न सहमत भए । एमसिसीको विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी उपायमा सहमति जनाएपछि संसद्मा दिनभर अनुमोदन प्रक्रिया चल्यो । तर, संसद् भवनबाहिर नयाँ बानेश्वर क्षेत्रमा अघिल्ला दिनहरूमा जस्तै एमसिसीविरुद्ध दिनभर आन्दोलन चर्कियो ।

आन्दोलनमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता नै धेरै थिए, खासगरी विद्यार्थी । आन्दोलन भड्किन सक्ने पूर्वानुमान गर्दै नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा प्रबन्ध कडा पारिएको थियो । माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सडकमा प्रहरीले फलामे छेकबार लगाएको थियो । सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाएको थियो । सडकभर नेपाल प्रहरी र सशस्त्र प्रहरी थिए । बिजुलीबजार पुलआसपास क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिन्थ्यो । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी खटाइएका थिए । 

एभरेस्ट होटेलअगाडिबाट संसद् भवनतर्फ बढेको प्रदर्शन प्रहरीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी चल्यो । प्रहरीले लाठीचार्ज गरेपछि विरोधकर्ता बिजुलीबजारतर्फ हटे । त्यसपछि ढुंगा र इँटा प्रहार गर्न थाले । प्रहरीले अश्रुग्यास बर्साउन थाल्यो । पानीको फोहोरा चलायो । आन्दोलनकारीलाई प्रहरीले बुद्धनगरअगाडितिरै छेक्यो, जहाँ दिनभर तनावग्रस्त बन्यो । 

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बुद्धनगर क्षेत्रबाहेक अन्य ठाउँमा एमसिसीविरुद्धको आन्दोलन सामान्य रहेको बताए । ‘आइतबारको विरोध अनियन्त्रित हुने डर थियो । प्रहरीले सुरक्षा प्रबन्ध कडा पारेको थियो । विरोधका कार्यक्रम भए, तर क्षति खासै केही भएन । प्रहरीले अपनाएको संयमितताका कारण विरोध प्रहरीकै नियन्त्रणमा थियो ।’ 

सडक र चोकचोकमा टायर बालिएका थिए । प्रहरीलाई प्रहार गरिएका इँटा र ढुंगा सडकभर छरिएका देखिन्थे । केही विरोधकर्ताले गुलेली पनि बोकेका देखिन्थ्यो । आन्दोलनमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य खगेन्द्र रावलले शान्तिपूर्ण विरोधमा प्रहरीबाट बल प्रयोग भएको बताए । ‘विरोध शान्तिपूर्ण रूपमै भइरहेको थियो । तर, प्रहरीले बल प्रयोग गरेको छ । केही साथी घाइते भएका छन् । हामीले प्रहरी दमनको विरोध गरेका छौँ,’ उनले भने । 

प्रहरीले शंखमूल र पुरानो बानेश्वरतर्फ पनि आन्दोलनकारीको दबाब झेलिरहेको थियो । संसद् भवनतर्फ अगाडि बढ्न खोज्ने उनीहरूलाई फलामे छेकबार लगाएर रोकेको थियो । संसद् भवनको पश्चिम गेटतर्फ सबैभन्दा धेरै प्रहरी तैनाथ थिए । प्रत्येक गौँडामा सुरक्षाकर्मी देखिन्थे । मीनभवन कलेज, शान्तिनगर, अनामनगरतर्फ जाने सडकको मुखमा पनि प्रहरीको बाक्लो उपस्थिति थियो । 

See More On

सुझावित समाचार