भट्टराईले प्रचण्डलाई भने– एमसिसी पास गर्न साथ नदिने भए तत्काल सरकार छाड्नुहोस् (भिडियोसहित)

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसिसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो आग्रह गरेका हुन् । ‘मेरो विनम्र आग्रह छ, खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईंले यसलाई साथ दिनुस् र १३८ पुर्याएर पास गर्नुहोस् । होइन भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिँ राष्ट्रवाद भित्र चाहिँ राष्ट्रघात गर्न पाईँदैन,’ डा. भट्टराइले भने, ‘पहिलो विकल्प, तपाईंले साथ दिनुहोस्, होइन भने तपाईं जानुहोस् । त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्याएर पारित गर्छौँ । हाम्रो स्पष्ट धारणा छ ।’

संसदमा उपस्थित संख्याको बहुमतबाट एमसिसी पास गरे त्यो जनतामाथि धोका हुने पनि भट्टराईले बताए । उनले भने, ‘संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने  यस्तो महत्वपूर्ण मुद्दा ? हुँदैन । संसद्को अहिलेको संख्या २७५ हो, भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दामाथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ । त्योभन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाइँदैन ।’

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दिगो शान्तिका लागि काम गर्नुपर्ने बताए । उनले एमसिसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए । एमसिसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो ।  उनले एमसिसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरा रहेको पनि बताए ।

सुझावित समाचार