प्रदर्शनकारीलाई केपी ओलीको प्रश्न–बाटो भत्काएर क्रान्तिकारी भइन्छ ? (भिडियोसहित)

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाटो भत्काएर कोही पनि क्रान्तिकारी नहुने बताएका छन्। एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले गरेको प्रदर्शनका क्रममा बाटो भत्काएर प्रहरीमाथि प्रहार भएको विषयलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन आफैँले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोपसमेत लगाए।

प्रर्दशनकारीहरूले बाटो भत्काएर प्रहरीमाथि ढुंगा प्रहार गर्दा पनि केही नगर्न प्रहरीलाई आदेश दिएको भनी उनले गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्नसमेत गरेका छन्। सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको उनले बताए।

‘आज जनताको छोराछोरीहरू, प्रहरी किन पिटिए त्यसरी ? मैले गृहमन्त्रीलाई सोधेँ। कतिजना प्रहरी घाइते छन् ? प्रहरीको टाउकोमा ढुंगो हानिदिए हुन्छ ड्याङड्याङती ? यस्तो पनि हुन्छ ? अनि लखेटिनुपर्ने, भाग्नुपर्ने, कुटाई खानुपर्ने, भत्काउँदै छन्, केही भन्न नपाउने, गिरफ्तार गर्न नपाइने, भत्काएको कुनै मुद्दा नलाग्ने, चार्ज नलाग्ने, क–कसलाई लाग्ने ? यो सत्तासीन गुटको दोहोरो–तेहेरो अनेक प्रकारको गलत नीति। हामी यस्तो अलमलिनुहुँदैन,' उनले भने, 'हामी शान्तिको पक्षमा, देश विकासको पक्षमा, राष्ट्रिय एकताको पक्षमा, हाम्रा पूर्वजहरूले देखाएको वीरताको तर सही बाटोमा, हामी जेलनेल खाएर लोकतन्त्र ल्याउने अनि अहिले आएर बाटो भत्काएर क्रान्तिकारी हुने ? अनेरास्ववियु क्रान्तिकारी रे। बाटो भत्काएर क्रान्तिकारी ? यो क्रान्तिकारिता क्रान्तिकारी होइन। अब सत्तामा बसेका छन, सरकारमा बसेका छन र जे गरे पनि भाको छ। सञ्चारमाध्याम उनीहरूको छ । हामी हाम्रो इतिहासको गौरवलाई मर्न दिँदैनौँ।’

सुझावित समाचार