नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी सम्झौता राष्ट्रघाती छ भनेको सुन्दा अचम्म लाग्ने बताएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै महतले ढिलै भए पनि गठबन्धन दलले एमसिसी संसदमा टेबुल गर्ने सकारात्मक सहमति गरेको बताए। ‘एमसिसी नेपालको पक्षमा छ भन्नेमा सबै दल सहमत थिए। यो राष्ट्रघाती छ भन्ने सुन्दा अचम्म लाग्छ,’ उनले भने, ‘एमसिसी अल्पविकसित देशकै मागअनुसार तयार भएको हो।’ देशहितमा आएको सहयोगलाई राष्ट्रघाती भनेर भ्रम फैलाइनु दुःखद भएको उनले बताए।
सत्तामा पुगेका सबै दल र नेताको सहभागितामा नेपालमा एमसिसी आएको उनले बताए। केपी ओली नेतृत्वको नेकपा सरकारले नै संसदबाट अनुमोदन गर्ने गरी संसदमा एमसिसी दर्ता गराएको बताउँदै उनले पहिला संसदबाट पारित गर्ने नभए पनि पछि थपेर संसदमा दर्ता गराइएको प्रस्ट्याए। ‘अहिले विरोध गररहेका नेताहरू नै यसमा संलग्न हुनुहुन्छ। कांग्रेसले एमसिसी पारित गर्न संसदीय दल र केन्द्रीय समितिबाट निर्णय गरिसकेको छ। गठबन्धनमा सामेल दलहरू र प्रतिपक्ष अन्याेलमा रहे,’ उनले भने।
ऋण दिँदासमेत सम्बन्धित देशको ठेकेदारले उपकरण र कामदार ल्याउने सम्झौता स्विकारेको बताउँदै उनले एमसिसीमा परिमार्जन गरिनुपर्ने विषय नभएको उनले बताए। ‘हामीले कुन पार्टीको सरकार छ भनेर सम्बन्ध राख्ने होइन, देशको आवश्यकता हेरेर समान मापदण्डका आधारमा सम्बन्ध राख्ने हो,’ उनले भने। एमसिसी टेबुल गर्न गठबन्धन दलले सहयोग गरेको बताउँदै उनले पारित गराउन पनि सहयोग हुने उनले विश्वास व्यक्त गरे।