एमालेमा आवतजावत

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

पार्टी विभाजन हुँदा भएको संगठनात्मक क्षति पूरा गर्न एमालेले अन्य दलका नेता–कार्यकर्ता प्रवेश गराउने अभियान जारी राखेकै वेला सोही पार्टीबाट असन्तुष्ट नेता–कार्यकर्ताको एकीकृत समाजवादीमा प्रवेश रोकिएको छैन

पार्टी विभाजन हुँदा भएको संगठनात्मक क्षति पूरा गर्न एमालेले अन्य दलका नेता–कार्यकर्ता पार्टी प्रवेश अभियान जारी राखेको छ । तर, पार्टी प्रवेश अभियान चलाइरहेको एमाले छाडेर तल्लो तहका नेता–कार्यकर्ता एकीकृत समाजवादीतिर लागेका छन् । पार्टी प्रवेश अभियानकै अवधिमा एमालेलाई नेता–कार्यकर्ता रोक्ने चुनौती आइलागेको छ । 

विष्णु रिजाल, उपप्रमुख, प्रचार विभाग, एमाले
राजनीतिक अभियानमा लोभ मात्रै देखाउनुको औचित्य छैन, केही साथी उफ्रिएर चोइटिएर बनेको समूहमा जानुभएको छ, उहाँहरूको होस खुल्न समय लाग्ला, कांग्रेस र माओवादीले उचालेको भरमा लाग्नेहरू एकपटक बजारिनु अनिवार्य छ

दशौँ महाधिवेशन सकिएलगत्तै २६ मंसिरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको थियो । पुस महिनाभरि योजना बनाएर माघ र फागुनमा अभियान चलाउने निर्णयअनुसार एमाले अध्यक्ष केपी ओलीले अन्य दलका नेता–कार्यकर्तालाई स्वागत गर्न थालेका थिए । 

कोभिड संक्रमण फैलिएसँगै एमालेले अगाडि बढाएको पार्टी प्रवेश अभियान तत्कालका लागि रोकिएको छ । यसबीचमै दशौँ महाधिवेशनसँगै जिम्मेवारी नपाएर असन्तुष्ट बनेका कतिपय नेता–कार्यकर्ता एकीकृत समाजवादीतिर प्रवेश गरेका छन् । एमालेमा जिल्ला अधिवेशनमा उचित भूमिका नपाएका तल्लो तहका थुप्रै असन्तुष्ट कार्यकर्ता छन्, जसमाथि एकीकृत समाजवादीको नजर छ । 

ओलीले सुरुमा विशेषगरी मधेसकेन्द्रित बृहत् कार्यक्रममार्फत माओवादी केन्द्र र जनता समाजवादीका थुप्रै नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराए । ठूलो कार्यक्रममार्फत देशैभर प्रवेश अभियान चलाउने सन्देश दिए पनि एमालेले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादीमा गएका नेता–कार्यकर्ता फर्काउने विषय भने प्राथमिकतामा राखेको छैन । बरु, एमालेले अरू पार्टीका कार्यकर्ता भित्र्याउँदा आफ्नै दलका नेता–कार्यकर्ता भने समाजवादीतिर गएका छन् । 

दशौँ महाधिवेशनपछि एमालेका नाम चलेका एक दर्जनभन्दा बढी केन्द्र र जिल्लास्तरीय नेता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यद्यपि, महाधिवेशनअघि पनि एमाले केन्द्रीय सदस्य बझाङका भानुभक्त जोशी समाजवादीमा प्रवेश गरेका थिए । उनलाई समाजवादीले स्थायी समिति सदस्यको जिम्मेवारी दिएको छ ।

महाधिवेशनपछि भने सिन्धुपाल्चोकबाट पूर्व केन्द्रीय सदस्य सुभाष कर्माचार्य, पाल्पाबाट पूर्व जिल्ला अध्यक्ष यादवबहादुर रायमाझी, सुनसरीबाट पूर्व केन्द्रीय सदस्य धर्मराज निरौला पनि समाजवादीमा प्रवेश गरेका छन् । उनीहरू सबै दशौँ महाधिवेशनमा नेतृत्वसँग असन्तुष्टि राखेर समाजवादी प्रवेश गरेका हुन् । कर्माचार्यले हालै आफूसँगै जिल्ला तहका दुई दर्जन नेता–कार्यकर्तालाई एकीकृत समाजवादीमा प्रवेश गराएका छन् ।

यसबीचमै एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य जानुका रेग्मी, डिला परियार र दीपक कुमाल पनि समाजवादीमा प्रवेश गरेका छन् । दशौँ महाधिवेशनलगत्तै ठूलै विद्रोह हुने एकीकृत समाजवादीले प्रचार गरेको थियो । तर, समाजवादीमा प्रवेशको संख्या सानो रहेको भन्दै एमालेले असन्तुष्टलाई रोक्ने ठोस रणनीति बनाएको छैन । एकीकृत समाजवादीले पनि एमालेबाट अभियानकै रूपमा कार्यकर्ता भित्र्याउन सकेको छैन । यसबीचमा माओवादी केन्द्रबाट पनि एकीकृत समाजवादीले नेता–कार्यकर्ता प्रवेश गराएको छ । 

मोहन गौतम, केन्द्रीय सदस्य,एकीकृत समाजवादी

केपी ओलीबाहेकका नेतासँग अध्यक्ष माधव नेपालको व्यक्तिगत रूपमा त्यस्तो ठूलो अन्तरविरोध छैन, त्यसैले अधिकांश नेताहरूसँग व्यक्तिगत सम्बन्ध हुनु ठूलो भएन, तर उहाँ  विशेषतः एमालेका तल्ला तहका कार्यकर्ताहरूसँग अलि बढी संवादमा हुनुहुन्छ

एमालेले माओवादी, कांग्रेससहित अन्य दलबाट प्रवेश गराएर विभाजनको क्षतिपूर्ति गर्ने नीतिलाई प्राथमिकता दिएको छ । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल केन्द्रीय योजनाअनुसार तल्ला कमिटी परिणाम निकाल्ने गरी पार्टी प्रवेश अभियानको योजनामा क्रियाशील भइरहेको र दशौँ महाधिवेशनपछि पार्टीका असन्तुष्ट नेता–कार्यकर्ताको व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिइरहेको बताउँछन् । ‘महाधिवेशनयता सबै व्यक्तिको आकांक्षा व्यवस्थापन हुन नसके पनि हामीले सबैलाई समेट्न भरपूर ध्यान दिएका छौँ, त्यसैले पद नपाए बस्दिनँ भन्नेको संख्या नगन्य देखिँदा त्यसैलाई त्यति ठूलो मान्नुभएन,’ रिजालले भने, ‘राजनीतिक अभियानमा लोभ मात्रै देखाउनुको औचित्य छैन, केही साथी उफ्रिएर चोइटिएर बनेको समूहमा जानुभएको छ । उहाँहरूको होस खुल्न समय लाग्ला, कांग्रेस र माओवादीले उचालेको भरमा लाग्नेहरू एकपटक बजारिनु अनिवार्य नै छ ।’ 

एकीकृत समाजवादीले अहिले देशभर संगठन विस्तार र प्रशिक्षण अभियान चलाउँदै विशेषतः एमालेमा असन्तुष्ट तल्लो तहका कार्यकर्तालाई भिœयाउने कोसिस जारी राखेको छ । अभियानअन्तर्गत समाजवादीले सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा संगठन निर्माणका दुवै कामलाई अभियानकै रूपमा सञ्चालन गरिसकेको छ । ८० प्रतिशतभन्दा बढी पालिकामा संगठन निर्माण भइसकेको एकीकृत समाजवादीले जनाएको छ । 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले अध्यक्ष नेपाल तल्लो तहका एमाले कार्यकर्ताहरूसँग निरन्तर सम्पर्कमै रहेको बताए । ‘केपी ओलीबाहेकका नेतासँग उहाँको व्यक्तिगत रूपमा त्यस्तो ठूलो अन्तरविरोध छैन, त्यसैले अधिकांश नेताहरूसँग व्यक्तिगत सम्बन्ध हुनु ठूलो भएन, तर उहाँ विशेषतः एमालेका तल्ला तहका कार्यकर्ताहरूसँग अलि बढी संवादमा हुनुहुन्छ जस्तो लाग्छ ।’  

कतिपय नेता–कार्यकर्ता फुटेर बनेको एकीकृत समाजवादीतिर प्रवेश गरिरहँदा एमालेले क्षतिपूर्ति हुने गरी विभिन्न पार्टीबाट प्रवेश गराउने योजना बनाएको छ । दशौँ महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले जनयुद्ध लडेका दशौँ हजार माओवादीका पूर्वलडाकु एमाले प्रवेश गर्ने दाबी गरेका थिए । तर, उनले भनेझैँ अहिलेसम्म लडाकुहरू भने संगठित रूपमा एमाले प्रवेश गरिसकेका छैनन् । २६ मंसिरमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पुस महिनाभित्र पार्टी प्रवेश सम्भावनाको आकलन गरी प्रवेश गर्ने व्यक्तिहरूको सम्भावित सूची तयार गर्ने निर्णय गरेको थियो । पार्टी प्रवेशको पूर्ण विवरणसहितको प्रतिवेदन चैत महिनाको पहिलो हप्ताभित्र केन्द्रीय कार्यालयमा पठाउने एमालेको निर्देशन छ ।

See More On

सुझावित समाचार