युवा संघ, अनेरास्ववियु, खेलकुद महासंघदेखि पार्टीमा आबद्ध २२ वटै जनवर्गीय संगठनको केन्द्रीय कमिटीको आकार आधादेखि दुईतिहाइसम्म खुम्चिने
एमालेले पार्टीसम्बद्ध जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार दुईतिहाइसम्म घटाउने गरी निर्देशिका ल्याएको छ । एमाले केन्द्रीय सचिवालयले पारित गरेको यो निर्देशिकाअनुसार नौ वर्षदेखि महाधिवेशन नै नगरी नौजना अध्यक्ष फेर्ने राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको आकार ६ गुणा घटेर अबको महाधिवेशनबाट दुई सय ९९ जनामा झर्नेछ ।
त्यस्तै, अनेरास्ववियु, खेलकुद महासंघदेखि पार्टीमा आबद्ध २२ वटै जनवर्गीय संगठनको केन्द्रीय कमिटीको आकार आधादेखि दुईतिहाइसम्म खुम्चिनेछ । फागुनभित्रै अधिवेशन गर्ने तयारीमा रहेका जनसंगठनहरूले एमालेले ल्याएको निर्देशनअनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ । जसअनुसार बढी सदस्य भएका युवा संघ, अनेरास्ववियुलगायतका जनसंगठनमा १७ जनाको पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । तर, कम सदस्य भएका जनसंगठनहरूमा भने १७ सदस्यीय पदाधिकारीसहित एक सय ५१ जनासम्मको केन्द्रीय कमिटी बन्ने निर्देशिकामा उल्लेख छ ।
पार्टीले निर्देशिका पास नगर्दै युवा संघले १३ सय ५१ सदस्यीय केन्द्रीय कमिटीबाट चार सय पाँचजनाको महाधिवेशन आयोजक कमिटी बनाएको थियो । अब अहिलेको यो संख्यालाई पनि युवा संघले महाधिवेशनबाट कटौती गर्नुपर्नेछ । ०६८ सालयता एकपटक पनि महाधिवेशन नै नगरेको युवा संघले ‘टिके’ प्रणालीबाटै चारपटकसम्म केन्द्रीय कमिटी पुनर्गठन गरिसकेको छ । त्यसरी चारपटक पुनर्गठन हुँदा युवा संघको जिल्लामा सदस्य र पदाधिकारी रहेको कार्यकर्ताले केन्द्रीय कमिटीकै उपाध्यक्ष र सचिवसम्म नेतृत्व गर्ने अवसर पाएको छ भने टिके प्रणालीबाटै छानिएका सबैजसो अध्यक्ष एमालेको केन्द्रीय सदस्य बनेका छन् ।
संघका उपाध्यक्ष अमित लामाले लामो समयदेखि विधि र प्रक्रियाबाट नेतृत्व नछानिँदा संघमा थुप्रै कमजोरी देखिएको स्वीकार गरे । ३३ सदस्यीय पदाधिकारीसहित पाँच सय ३४ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको अनेरास्ववियुको आकार पनि निर्देशिकाअनुसार झन्डै आधा घट्नेछ । विधानले १७ जनासम्म पदाधिकारी राख्ने भनेकाले अहिले रहेका आधा पदाधिकारी या बिदा हुनेछन्, या कतिपय पुरानै पदमा र कतिपय घटुवामा समेत पर्न सक्नेछन् ।
लामो समयदेखि स्कुल र कलेजमा संगठन विस्तार गर्न नसकेको भन्दै एमालेमा धेरैजसो आलोचना अखिलको हुँदै आएको छ । आठ सय ५१ जनाको केन्द्रीय कमिटी र पाँच दर्जन पदाधिकारी बनाएको राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय कमिटीको आकार एक सय ९९ जनामा झरेको छ । पदाधिकारीहरू सबै घटुवा भएर महाधिवेशन आयोजक कमिटीको सदस्य बनेका छन् । महासंघका निवर्तमान सहकोषाध्यक्ष तीर्थबहादुर खड्काले एक सय ९९ सदस्यीयबाहेक सबैलाई एक तह घटुवा गरेर राष्ट्रिय परिषद् सदस्य बनाइएको बताए ।
केन्द्रीय विभागमा ११ सय ५५ सदस्य
एमालेले ३३ ओटा विभाग र ती विभागमा ११ सय ५५ जनासम्म सदस्य रहने गरी नियमावली बनाएको छ । हरेक विभागमा ३५ जनासम्म सदस्य मनोनीत गर्ने गरी एमालेले नियमावली बनाएको हो । जसअनुसार एमालेमा अर्थ तथा योजना विभाग, उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग, कृषि तथा पशुपक्षी विकास विभाग रहनेछ । त्यस्तै, कानुन विभाग, केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग, खानेपानी तथा सरसफाइ विभाग, निर्वाचन विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग, परराष्ट्र मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग, पार्टी स्कुल विभाग रहेको छ ।
त्यस्तै, भूमि व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, युवा तथा खेलकुद विभाग, राष्ट्रिय हित तथा सुरक्षा विभाग, वन तथा वातावरण विभाग, वित्त तथा कोष व्यवस्थापन विभाग, विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, विज्ञान तथा प्रविधि विभाग, शिक्षा तथा मानवस्रोत विभाग, श्रम तथा रोजगार विभाग, संगठन विभाग, संसदीय विभाग, संघीय मामला तथा सामान्य प्रशासन विभाग, सामाजिक सेवा विभाग रहेका छन् । त्यस्तै, समाजिक सुरक्षा तथा समाज कल्याण विभाग, सहकारी तथा गरिबी निवारण विभाग, सहरी विकास विभाग, साहित्य, कला तथा संस्कृति विभाग, स्थानीय विकास विभाग, स्वास्थ्य तथा जनसंख्या विभाग रहेका छन् । विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरूको मनोनयन केन्द्रीय कमिटीले गर्ने नियमावलीमा उल्लेख छ ।
जनसंगठनको केन्द्रीय पदाधिकारीको संख्या बढीमा १७ हुने
निर्देशिकाअनुसार अबदेखि सबै जनसंगठनको केन्द्रीय पदाधिकारीहरूको अधिकतम संख्या १७ हुनेछ । त्यसमा उनीहरूले महाधिवेशनबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक–एक तथा उपाध्यक्ष, उपमहासचिव र सचिव एकभन्दा बढी निर्वाचित गर्न सक्नेछन् । तर, पदाधिकारी चयनमा समावेशितालाई ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ । एमालेका स्थायी समिति सदस्य तथा मोर्चा संयन्त्र प्रमुख भानुभक्त ढकालले ठूला आकारका कमिटी व्यावहारिक हिसाबले उपयुक्त नभएकाले जनसंगठनको केन्द्रीय कमिटीको संख्या धेरै कटौती गरिएको बताए ।
जनसंगठनका पदाधिकारीको मर्यादाक्रम प्रदेश कमिटी सदस्य
एमालेले जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूको मर्यादाक्रम तोकेको छ । पार्टीको निर्देशिकाअनुसार जनसंगठनका पदाधिकारीहरूको मर्यादाक्रम प्रदेश कमिटी सदस्यसरह हुनेछ । केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरूको मर्यादाक्रम जिल्ला कमिटी सदस्यसरह हुनेछ । पार्टी सदस्यता, जनप्रतिनिधिमूलक निकायको निर्वाचन तथा राजकीय मामलामा पार्टीका तर्फबाट प्रतिनिधित्व गराउँदा जनसंगठनमा काम गरेका व्यक्तिहरूलाई समेत सामेल गर्न ध्यान दिइने निर्देशिकामा उल्लेख छ । एउटा व्यक्ति एकभन्दा बढी जनसंगठनमा बस्न नपाउने व्यवस्था छ ।
बैठक र सम्मेलन सम्भव नभएपछि संख्या घटायौँ : भानुभक्त ढकाल, मोर्चा संयन्त्र प्रमुख, एमाले
संसद् विघटनपछि ठूलो कमिटीका माध्यमबाट जाँदा सहज होला भन्ने लागेर पार्टीले १५ सयसम्मको केन्द्रीय कमिटी बनायो । यसले गर्दा जनसंगठनहरूलाई पनि ठूलो कमिटी बनाउन प्रेरित गर्यो होला, तर ठूलो बनाउन भनेर पार्टीले निर्देशन दिएको थिएन ।
जनसंगठनहरूमा पनि ठूला कमिटी त्यति व्यावहारिक नहुने, बैठक गर्नै सम्भव नहुने, सम्मेलन गर्ने वेला केन्द्रीय कमिटीभन्दा धेरै संख्यामा प्रतिनिधि ल्याउनुपर्ने स्थितिमा खर्चले नधान्ने, व्यवस्थापन सम्भव नहुने जस्ता समस्या थिए ।