प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएकै समयसीमाभित्र एमसिसी संसद्बाट अनुमोदन गराउन चौतर्फी पहल थाले पनि कांग्रेसभित्रै राष्ट्रिय सहमतिबाट यसलाई अगाडि बढाउनुपर्ने आवाज उठेको छ । शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताले प्रतिपक्षसमेतको सहमति जुटाएर एमसिसी अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । कतिपय नेताले भने यसलाई संसद् प्रवेश गराएर त्यहीँ टुंग्याउनुपर्ने मत राखेका छन् ।
संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले संसद्मार्फत एमसिसी टुंग्याउनुपर्ने मत राखेका छन् । ‘एमसिसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसिसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिनेछन्,’ डा. कोइरालाले भने ।
नेता कृष्ण सिटौलाले सहमतिबाटै एमसिसी अगाडि बढाउनुपर्ने मत राखे । ‘एमसिसी सत्तापक्ष र प्रतिपक्षको सहमतिमा पास गर्नुपर्दछ, यसका लागि आवश्यक पहल गरेर अगाडि बढाउनुपर्छ,’ सिटौलाको भनाइ थियो । नेता प्रकाशमान सिंहले एमसिसी सबैको सहमति जुटाएर पास गर्नुपर्ने धारणा राखेका थिए ।
नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सहमतिबाटै एमसिसी पारित गर्नुपर्नेमा जोड दिए । ‘एमसिसी राष्ट्रिय सहमतिबाटै पारित गर्नुपर्छ । अत्यन्तै नकारात्मक प्रभाव तल्लो स्तरसम्म पुगेको छ, भ्रम हटाउन आवश्यक छ,’ उनले भने, ‘एमसिसीमा संसद्मा रहेका दलहरूबीच सहमति गरेर मात्रै अगाडि बढाउनुपर्छ ।’
एमसिसीमा जस्तै गठबन्धनको निरन्तरतालाई लिएर पनि कांग्रेस नेताहरूबीच मत बाझिएको छ । कोइरालाले निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर जान नहुने धारणा राखे । उनले पूर्वाग्रहरहित ढंगले उम्मेदवार चयन गरेमा स्थनीय तहको निर्वाचनमा कांग्रेसले अत्यधिक सिट हासिल गर्ने र त्यसको आधारमा प्रदेश र संघीय निर्वाचनमा पनि बहुमत प्राप्त गर्न सक्ने दाबी गरे ।
‘कांग्रेसले कांग्रेसलाई अर्थात् रूख छापमै मतदान गर्न पाउनुपर्छ । यसको अभिप्राय राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ताको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ,’ कोइरालाको भनाइ थियो, ‘यही जितेको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेस एक्लै बहुमत प्राप्त गर्न सक्छ ।’
नेता सिटौलाले निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको भन्दै निरन्तरता दिनुपर्ने बताए । अर्का नेता सिंहले गठबन्धनको विषयमा अहिले नै निर्णय गरिहाल्ने समय भइनसकेको र समय आएपछि निर्णय गर्दा उपयुक्त हुने धारणा राखेका थिए । त्यसैगरी अर्का नेता केसीले संविधानमाथिको निरन्तर चुनौतीलाई रोक्न गठबन्धन बनेको र संविधानलाई मूल बाटोमा नल्याएसम्म गठबन्धनलाई निरन्तर दिनुपर्ने धारणा राखेका छन् । कार्यकर्ताको मत बुझेर निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट लिनुपर्ने उनको भनाइ थियो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा भ्रातृ संगठनको विधान परिमार्जन गर्ने, स्थानीय निर्वाचन, एमसिसीलगायतका विषयमा सदस्यहरूले धारणा राखेको बताए । बैठकमा नौ एजेन्डामाथि छलफल भइरहेको छ । शुक्रबार बैठकमा सिंह, सिटौला, केसी, डा. कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यसम्पादन समितिको अर्को बैठक आइतबार बस्ने प्रवक्ता महतले बताए ।