चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडक स्तरोन्नतिले गति लिन सकेको छैन । सडक स्तरोन्नतिको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा चीनसँगको नाका जोड्ने यो सडक विस्तारले गति लिन नसकेको हो ।
सडक स्तरोन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभी सम्पर्कविहीन भएपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाको कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी एक साताभित्र सम्पर्कमा आउन भनेको थियो । पटक–पटक पत्राचार गरी सम्पर्कमा आउन निर्देशन दिए पनि सम्पर्कमा नआएपछि सार्वजनिक रूपमा सूचना निकालेको हो ।
ठेकेदार कम्पनीसँग सम्झौता भएयता सडक योजनाले हालसम्म चारपटक पत्र पठाएर निर्धारित समयमा काम सक्न ताकेता गरिसकेको छ । योजनाले ११ फागुन ०७७, ३ चैत ०७७, १२ चैत ०७७ र १६ वैशाख ०७८ मा पत्र काटेको जनाएको छ । पटक–पटक पत्राचार गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गरी एक साताभित्र सम्पर्कमा आउन ताकेता गरेको सडक योजनाका प्रमुख निरज शाक्यले बताए । ‘मैलुङदेखि स्याफ्रुबेसीसम्मको सडक स्तरोन्नतिले गति लिन सकेको छैन, मुख्य ठेकेदार सम्पर्कमै छैनन्, कामले पनि गति नलिएको हँुदा रिभाइज वर्क सेडुल (कामको संशोधित कार्यतालिका)सहित सम्पर्कमा आउन पत्राचार गरेका छौँ,’ शाक्यले भने ।
ठेकेदार कम्पनीको आधिकारिक व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको र सम्झौता अवधिमा निर्माण कार्य सम्पन्न हुनेमा आश्वस्त नभए सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ (संशोधनसहित) र ठेक्का सम्झौतामा भएका प्रावधानबमोजिम थप कारबाही अगाडि बढाइनेसमेत उनले बताए ।
३० पुस २०७९ सम्ममा स्तरोन्नति सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभीले १ साउन ०७७ मा ठेक्का लिएको थियो । ठेक्का सम्झौता अवधि अब ११ महिना बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताए । हालसम्म २३ प्रतिशत मात्रै भौतिक प्रगति भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी रसुवागढी सडक योजनाले जनाएको छ ।
हालसम्म टेवा पर्खाल लगाउने काम मात्र भएको र सडकसम्बन्धी कुनै काम हुन नसकेको योजनाका प्रमुख शाक्यले बताए । ‘६० प्रतिशत समय सक्किसकेकोमा हालसम्म २३ प्रतिशत मात्रै भौतिक प्रगति छ, अबको बाँकी समयमा उक्त योजनाको काम सम्पन्न गर्न नसक्ने देखिन्छ,’ उनले भने, ‘पेटी ठेकेदारमार्फत मात्र काम भएको छ, मुख्य ठेकेदारले काम गरेको पैसा नदिएपछि तीन दिनदेखि पेटी ठेकेदारले समेत काम रोकेको छ । एक–दुई स्थानमा काम भएको देखिन्छ, तर कामदार कम छन् ।’
मैलुङ–स्याफ्रुबेसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १९ किलोमिटर छ । सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङ ल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्छ । तर, यो सडकमा एउटा पनि घुम्ती छैन । काठमाडौँदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १७ किमि छ । काठमाडौँबाट बेत्रावती–धुन्चे–रसुवागढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाडौँबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुनेछ ।