सिन्धु रोजगारी सेवाले दुई सय बेरोजगारलाई पाँच हजारका दरले ठग्यो

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

काठमाडौंको चाबहिलमा बस्ने बन्दना बमले टिकटक चलाउने क्रममा एउटा विज्ञापन भिडियो देखिन्। त्यसमा लेखिएको थियो– काम आजैबाट, तलब रु २५ हजारभन्दा माथि। 

उनले त्यो विज्ञापनलाई धेरैपटक हेरिन् र स्क्रिनसर्ट पनि गरिन्। एउटा भिडियोमा आर्कषक तलबसहितको विज्ञापन देखेपछि उनलाई जागिर गर्ने जोस चल्यो। उक्त भिडियोमा धेरैथरीका जागिर पाइने बताइएको थियो। त्यसमध्ये कागज कटिङ गरेको मासिक रु २५ हजार तलब लेखिएको थियो। घरमै बसीबसी काम गर्न पाइने र आकर्षण तलबसुविधा देखेपछि बन्दनालाई जागिर खान हतार भयो। बेरोजगार भएर बसेको वेलामा २५ हजारको जागिर पाइने आशामा उनी कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाको अफिस पुगिन्। 

त्यहाँ उनले कर्मचारीलाई भेटिन्। सुरुमा उनले नाम दर्ता गरेबापत तीन सय रुपैयाँ तिर्नुपर्यो। त्यसपछि कर्मचारीले उनीसँग जागिरबारे सम्झौता गराउन एउटा फारम भर्न लगाए। उक्त फारम भरेपछि उनलाई ७ हजार रुपैयाँ तिर्न लगाए। उक्त रकम डिपोजिट राखेको र फिर्ता आउने पनि कर्मचारीले बताएका थिए। मासिक २५ हजार कमाइ हुने र सुरुमा तिरेको पैसा पनि तीन महिनापछि फिर्ता हुने भएपछि बन्दनाले पैसा तिरिन्। 

भोलिपल्ट उनलाई सोही कम्पनीले तीनकुनेमा तालिम सेन्टर छ भन्दै पठायो। तीनकुने गैह्रीगाउँमा सिन्धु रोजगार सेवाले तालिम सेन्टर भनेर खोलेको छ। उसले एउटा फ्ल्याट नै भाडामा लिएर त्यहाँ तालिम दिने ठाउँ बनाएको छ। त्यहाँ बन्दनाले तीन दिनसम्म कागज काट्न र चित्र टाँस्न सिकिन्। त्यसपछि उनलाई कम्पनीका कर्मचारीले घरमै बसेर काम गर्नुस् भन्दै खाली र चित्र कोरिएका कागज दिएर पठाए। उक्त कागजमा कोरिएको चित्रलाई काटेर खाली कागजमा हुबहु टाँस्नुपर्दथ्यो। बन्दनाले सोहीअनुसार कागजको चित्र कटिङ गर्दै खाली कागजमा टाँसिन्। त्यसपछि उनी आफूले टाँसेका चित्रहरू बोकेर तीनकुनेस्थित कार्यालय पुगिन्। तर  कर्मचारीले उनले बनाएको चित्र नमिलेको बताए। भोलिपल्ट फेरि त्यसरी नै चित्र टाँसेर ल्याउन लगाए। त्यो पनि मिलेन । कर्मचारीले कुनै पनि चित्र नमिलेको भन्दै उनलाई पाँच दिनसम्म फर्काए। हरेक दिनको काममा त्रुटि मात्रै देखाएपछि बन्दनालाई कामदारले झुलाएको थाहा भयो र उनी दिक्क मानेर काम छाडिन्। 

बेरोजगार बसेकालाई फरक–फरक किसिमका आकर्षक रोजगार दिने नाममा कसरी ठगिइन्छ भन्ने यो एउटा उदाहरण मात्रै हो। कोटेश्वर र तीनकुनेमा कार्यालय खडा गरेर सिन्धु रोजगार नामक कम्पनीले जागिर दिने प्रलोभनमा प्रतिव्यक्ति ५–७ हजार रुपैयाँ उठाउँदै आएको पाइएको छ। त्यस्तै, कतिपयसँग भने ३५ सयसम्म लिने गरेको प्रहरीले जनाएको छ। उक्त कम्पनीले एउटा फ्ल्याट नै भाडामा लिएर ठगी धन्दा गर्दै आएको प्रहरीले पत्ता लगाएको छ। उक्त कम्पनीले कागज कटिङ, डल, गुडिया र इमोजी बनाउने, ड्राइभिङ, कुक, हेल्पर, रिसेप्सन, कल सेन्टर, अगरबत्ती काट्ने, खुकुरा फार्म, कृषि फार्म, सेल्स ब्वाई सेक्युरिटी, सरकारी क्यान्टिन, अकाउन्टेन, सुपरभाइजरलगायत क्षेत्रमा काम गलाइदिने भन्दै २ सय व्यक्तिबाट फारम भराएर रकम उठाएको छ। 

तर, भनेअनुसारको रोजगार नदिएको पीडितले बताएका छन्। ‘सुरुमा हामीलाई तीन सय रुपैयाँ तिराएर इन्ट्री फारम भर्न लगाइयो, त्यसपछि जब एग्रिमेन्ट भन्दै अर्को फारम भराएर ७ हजार रुपैयाँ लियो, तर भोलिपल्ट तालिम सेन्टर भनेको कार्यालयमा पुगेको त्यहाँ तालिम वा सामान पनि केही रहेनछन्, मौखिम रूपमा अलिअलि सिकाएझैँ गरे,’ भक्तपुर थिमीकी सीता श्रेष्ठले भनिन्, ‘तर, पनि हामीले तालिम लियौंँ तर काम के गर्ने भनेर उनीहरूले तोकिदिएनन्।’ उनका अनुसार कार्यालयमा अगरबत्ती बनाउने, कागजमा चित्र काटेर टाँस्ने, पुराना कपडा काट्न लगाउनेलगायत काम लगाइदिएर भुलाइरहेका थिए। तर सम्झौता गरेअनुसारको जागिर दिएनन्। 

उनीजस्तै जागिर खाने रहरमा सीतापाइलाका मनोज पौडेल पनि त्यहाँ आइपुगे। मोटरसाइकल चलाउन जान्ने भएकोले उनलाई बाइक राइडरमा जागिर लगाइदिने सम्झौता भयो। ७ हजार तिरेर जागिरको सम्झौता गरेका पौडेलले जागिर नै पाएनन्। उल्टै ७ हजार गुम्यो। 

त्यस्तै, चितवनका राजेश खड्का पनि सामाजिक सञ्जालमा उक्त कम्पनीको विज्ञापन देखेर जागिर खान गत आइबार काठमाडौं आए। उनले ५ हजार बुझाएर फारम भरे। तर हालसम्म पनि जागिर पाएनन्। ‘भिडियो र फोटोमा आकर्षक जागिरको अफर गरेको देखेँ, बैंकदेखि होटेलसम्म जागिर लगाइदिन्छौँ भनिएको थियो त्यसमा । मैले होटेलमा काम गर्न खाजेको थिएँ, विश्वास गरेर ५ हजार बुझाएँ, तर काम लगाइदिएनन्,’ उनले भने।    

जागिरको प्रलोभनमा कैयौँ व्यक्तिलाई ठगी गरेपछि उक्त कार्यालयमा प्रहरीले बिहीबार सिल गरेको छ। प्रहरीका अनुसार कम्पनीका म्यानेजर घनश्याम पोखरेल र उनीसँगै काम गर्ने अन्य तीनजना व्यक्तिले विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगीधन्दा चलाएका थिए । 

उनीहरूले जागिर लगाइदिने भन्दै ७ वर्षदेखि खुलेयाम ठग्दै आइरहेका थिए। कम्पनीबाट लगाइदिने कामको उनीहरूले एउटा क्याटलग तयार पारेका थिए। सो क्याटलगको सामाजिक सञ्जाल, सडकपेटीका भित्ता, बिजुलीका पोलसम्म विज्ञापन गरेका थिए। सोही आधारमा बेरोजगार व्यक्तिहरू त्यहाँ पुगेका थिए ।

रोजगार दिने नाममा कैयौँ व्यक्तिलाई ठगी गरेको सूचना पाएपछि महानगरीय अपराध महाशाखा र बानेश्वर वृत्तको प्रहरी टोली बिहीबार तीनकुनेस्थित सिन्धु रोजगार सेवाको कार्यालयमा पुगेको थियो। प्रहरी पुग्दा कम्पनीका म्यानेजर पोखरेलले नयाँ–नयाँ व्यक्तिलाई उसैगरी जागिरको प्रलोभन देखाइरहेका थिए। ‘उक्त कम्पनीले रोजगार दिने नाममा बेरोजगार व्यक्तिहरूलाई ठगी गरेको रहेछ, यसरी ठगी गर्ने काठमाडौंमा धेरै छन्, पक्राउ परेकाहरूलाई हामीले कारबाही गछौँ,’ महाशाखाका एसएसपी वसन्त कुँवरले भने। 

उनका अनुसार प्रहरीले उक्त कार्यालयमा पुगेर खानतलासी गर्दा कम्पनी दर्तासमेत नभएको भेटिएको छ। त्यस्तै रकम बुझ्दा पनि व्यक्तिहरूलाई रसिद नदिएको, एउटा काम गर्ने भनेर अर्को काम लगाउने र व्यक्तिलाई झुलाउने गरेको  प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कम्पनीले बुढाबुढी, गृहिणी, प्लसटु पढ्दै गरेका विद्यार्थी, वैदेशिक रोजगारबाट फर्किएकालगायतलाई प्रलोभनमा पारेको छ। त्यस्तै, सोझा, भर्खर काठमाडौं आएका व्यक्तिहरू उक्त कम्पनीबाट ठगिएको हुन सक्ने प्रहरीको अनुमान छ। 

प्रहरीले बिहीबार कार्यालयमा भएको कम्पनीको छाप, नामदर्ता गरेको कपीलगायत कागजात बरामद गरेको छ। प्रहरीले कम्पनीका म्यानेजर पोखरेललाई पनि पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।

सुझावित समाचार