प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार नै प्रदेश कमिटीहरूलाई चुनावको तयारीमा लाग्न पत्रमार्फत निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै निर्वाचनको आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
तयारीमै केन्द्रित रहेर एमाले केन्द्रीय कार्यालयले सातै प्रदेशमा पार्टी नेता–कार्यकर्ताका लागि १ देखि १७ फागुनसम्म प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । दुईदिने कार्यक्रमको उद्घाटन २८ माघमा अध्यक्ष केपी ओलीले गर्नेछन् ।
पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारीसमेतका कारण सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेको एमालेले निष्कर्ष निकालेको छ । निर्वाचनको माहोललाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको परिपत्रमा उल्लेख छ ।
उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी हुने जनाइएको छ ।
सहभागीलाई दशौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरूमा प्रशिक्षण दिने गरी तय गरिएको महासचिव पोखरेलले जनाएका छन् । त्यस्तै, ‘स्थानीय तहमा हाम्रा पाँच वर्ष : उपलब्धि र अनुभवहरू, स्थानीय तह निर्वाचनको तयारी : राजनीतिक, कानुनी र व्यावहारिक पक्षहरू पनि विषयमा राखिएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीका साथै स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारी र सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख, पार्टीका तर्फबाट विजयी पालिका प्रमुख वा वा उपप्रमुख तथा पार्टी कमिटीका पालिका अध्यक्ष सहभागी हुनेछन् ।
त्यसका लागि एमालेले मितिसमेत तोकेको छ । जसअनुसार प्रदेश १ को प्रशिक्षण विराटनगरमा १ र २ फागुनमा, ३ र ४ फागुनमा जनकपुरमा मधेस प्रदेशको प्रशिक्षण एमालेले तय गरेको छ । त्यस्तै, बागमती प्रदेशको प्रशिक्षण ६ र ७ फागुनमा काठमाडौंमा, ८ र ९ फागुनमा पोखरामा गण्डकी प्रदेशको प्रशिक्षण राखिएको छ । त्यस्तै, ११ र १२ फागुनमा बुटवलमा लुम्बिनी प्रदेश, १४ र १५ फागुनमा सुर्खेतमा कर्णाली प्रदेश तथा १६ र १७ फागुनमा धनगढीमा सुदूरपश्चिम प्रदेशको प्रशिक्षण राखिएको एमालेले जनाएको छ ।