हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहनेछ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ । विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।