बलात्कार आरोपित युवक पुर्पक्षका लागि जेल चलान

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गरी स्कुले बालिकालाई बलात्कार गरेको अभियोगमा काभ्रेको पनौती नगरपालिका–१ का २१ वर्षीय सुजन श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । महानगरीय प्रहरी वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई ३० पुसमा पक्राउ गरेको थियो । 

घटनाको अनुसन्धानपछि उनलाई वृतले १८ माघमा जिल्ला सरकारी वकिल कार्यालय पेस गरेको थियो । मुद्दामा बहसपछि  जिल्ला अदालत काठमाडौंले उनलाई आइतबार पुर्पक्षका लागि जेल चलानको आदेश गरेको हो ।
 
प्रहरीका अनुसार उनले फेक फेसबुक एकाउन्ट सौगात महर्जनमार्फत बालिकासँग सम्पर्क बढाएका थिए । अनेक प्रलोभनपछि उनले बालिकाको नग्न भिडियो बनाएका थिए । सोही भिडियोमार्फत उनले बालिकालाई ‘भिडियो भाइरल बनाइदिने’ भन्दै निरन्तर धम्काउँदै आएका थिए । 

यही क्रममा उनले बालिकलाई २७ पुसको राति बुढानीलकण्ठस्थित निर्माणाधीन घरनजिकै बोलाएका थिए । एक्लै आएकी बालिकालाई  निर्माणाधीन सोही घरमा बलात्कार गरेको अभियोग छ। 

सुझावित समाचार