बुढीगण्डकी डुबान क्षेत्रको घरगोठको मूल्यसूची सार्वजनिक गर्न माग

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मूल्यसूची सार्वजनिक गर्न धादिङ र गोरखाका जनप्रतिनिधिले माग गरेका छन् । बुधबार बुढीगण्डकी जलविद्युत् आयोजना मुआब्जा वितरण पुनर्वास तथा पुनर्स्थापना इकाइलाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले उक्त माग गरेका हुन् । 

मूल्य निर्धारण गर्नुअघि दररेट सार्वजनिक गर्नुपर्ने, धादिङ र गोरखाको मुआब्जा समान कायम गर्नुपर्ने, छुट भएका भौतिक संरचनाको पुनः सर्वेक्षण गर्नुपर्ने माग जनप्रतिनिधिले राखेको सहिद लखन– ९ का वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । आयोजनाको मोडालिटी तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, सुकुमबासीहरूको बसोवासको उचित व्यवस्था गरिनुपर्ने, वातावरणीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, डुबान क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका फर्महरूको उचित सम्बाेधन गर्नुपर्ने माग राखेको त्रिपुरासुन्दरी– ५ का वडाध्यक्ष कुशबहादुर सिटौलाले बताए । 

०७३ सालमा जग्गाको मुआब्जा निर्धारण गर्दा मुआब्जा निर्धारण समितिले गरेका सिफारिस, मागहरू अबिलम्ब सम्बोधन गरिनुपर्ने, फिल्डबुक कायम भई पुर्जा पाएकालाई मुआब्जा तत्काल दिनुपर्ने, गोरखा र धादिङतर्फको जग्गाको मुआब्जा निर्धारणमा एकरूपता हुनुपर्ने माग जनप्रतिनिधिले राखेका छन् । घरगोठको मुआब्जा वितरण गर्नुअघि वातावरणीय प्रतिवेदनको आधारमा पुनर्वासको व्यवस्था हुनुपर्ने, विद्यालय, मठमन्दिर, स्वास्थ्य संस्थाको उचित व्यवस्था हुनुपर्नेलगायत १९ बुँदे माग जनप्रतिनिधिले राखेका छन् । 

इकाइ प्रमुख कृष्णबहादुर कार्कीलाई जनप्रतिनिधिसहित २२ जनाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र बुझाइएको हो । छिट्टै गोरखा र धादिङको मुआब्जा समितिको बैठक बसेर घरगोठ, बोटबिरुवाको मूल्य निर्धारण हुने आयोजना कार्यालयका प्रमुख कार्कीले बताए ।  
 

सुझावित समाचार