अफगानिस्तानमा गहुँ ढुवानी गर्न पाकिस्तानी असहयोग

बुधबार, २८ पुष, २०७८
डिजिटल संस्करण

भारतले मानवीय सहायताअन्तर्गत अफगानिस्तानमा गहुँको ढुवानीका लागि पारगमन उपलब्ध गराउनेसम्बन्धी निर्णय तत्कालै लिन पाकिस्तानलाई दबाब दिएको छ। भारतले अफगानिस्तानमा जीवन बचाउने औषधि र खोपका तीनवटा विमान पठाए पनि ५० हजार टन गहुँ भने पाकिस्तानको सीमामा रोकिएकोे भारतीय सञ्चारमाध्यम द स्टेट्सम्यानले जनाएको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले इरानी समकक्षी होसेन अमिर–अब्दुल्लाहियानसँगको कुराकानीमा गहुँको लागि वैकल्पिक मार्गको बारेमा छलफल गरेका थिए । इरानको चाबहार बन्दरगाह हुँदै गहुँ ढुवानी गर्ने विषयमा छलफल भएको आधिकारिक रूपमा भने कसैले पुष्टि गरेको छैन । भारतले वैकल्पिक उपायको खोजी पनि गर्ने र पाकिस्तानलाई सडक मार्गका लागि पारगमनका लागि दबाब पनि दिने गर्दै आएको छ । 

विदेशमन्त्री जयशंकरले इरानी समकक्षीसँगको टेलिफोन वार्तामा ‘कोभिडका कठिनाइहरू, अफगानिस्तानका चुनौतीहरू, चाबहारको सम्भावनाहरू र इरानी आणविक मुद्दाको जटिलताहरू’का विषयमा छलफल गरेको सार्वजनिक गरेका छन् । भारत सरकारले गहुँलाई चाबहार बन्दरगाहमार्फत ढुवानी गर्दा कन्टेनरको उपलब्धता कम र भाडादर उच्च भएको परिस्थिति सामना गर्नुपर्नेछ । तर, अमेरिकाले घोषणा गरेको प्रतिबन्धका कारण इरानमार्फत गहुँ ढुवानी नगर्न भारतलाई कूटनीतिक अप्ठ्यारो पनि देखिएको छ । योभन्दा पाकिस्तानबाट अफगानिस्तानमा प्रवेश गर्ने बिन्दुहरूमा आवागमन सहज छ । अफगानिस्तानको तालिबान सरकारले भारतीय सहायतालाई स्वीकार गर्दै आएको छ । 

भारतीय एक उच्च अधिकारीले द स्टेट्सम्यानसँग भनेका छन्, ‘आगामी हप्ताहरूमा, हामी गहुँको आपूर्ति र बाँकी चिकित्सा सहायता उपलब्ध गराउन प्रयास गर्नेछौँ । पाकिस्तानबाट सम्भव नभएमा यातायात ढुवानीको मोडालिटीका विषयमा  संयुक्त राष्ट्र संघका एजेन्सीहरू र अन्य निकायसँग निरन्तर छलफल गर्नेछौँ । हामी सबै एजेन्सीहरूसँग सम्पर्कमा छौँ ।’ 
 

सुझावित समाचार