३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको उपकरणहरू परीक्षण (ड्राई टेस्ट) पूरा भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडा र ७ भुलभुले बीचमा बग्ने ङादी खोलामा निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको उपकरणको परीक्षण सम्पन्न भएको हो।
न्यादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाको ड्राई टेस्ट सम्पन्न भएको कम्पनीका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुअघि जडान भएका हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणहरू ठीक छन् कि छैनन् भनेर परीक्षण गरिएको अमात्यको भनाइ छ। आयोजनाको काम सकिए पनि विद्युत् जोडिने ठाउँ परिवर्तन हुँदा आयोजनाको उत्पादन तालिका भने लम्बिएको छ। ‘आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक रूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युतगृहभन्दा तल १३२ केभी भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी नाै किलोमिटर लाइन निर्माणको काम भइरहेकाले अब ढेड किलोमिटर तार तान्ने काम मात्र बाँकी छ,’ अमात्यले भने। यसअघि २२० केभी मर्स्याङ्दी करिडोरको खुदी सबस्टेसनमा लगेर जोड्ने तयारी भए पनि त्यसको निर्माणमा ढिलाइ हुँदा परिवर्तन भएको हो।
भुलभुले–मर्स्याङ्दी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ। प्राधिकरणले सिनो हाइड्रोसँग न्यादीको विद्युत् जोड्नका लागि छलफल गरिरहेको छ। सिनो हाइड्रोले सहमति जनाएपछि विद्युत् जोडिने अमात्यले बताए। आयोजना सम्पन्न गर्न करिब ६ अर्ब चार करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ। कोरोना संक्रमणपछि भएको लकडाउनका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ। बुटवल पावर कम्पनी (बिपिसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ।
आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ। तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदीतीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ। नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर्स विद्युत् उत्पादन हुनेछ।
आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ। उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भई आठ वर्षसम्म र सम्झौता अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ। साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुरुको क्षमता २.८ मेगावाट थियो। पछि यसलाई २० मेगावाट हुँदै ३० पुर्याइएको हो। बिपिसीले लेड्कोबाट यो आयोजना सन् २००६ मा खरिद गरेको थियो।