नेपाल एल.पी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले नेपालमा तत्कालै एल.पी ग्याँसको खपतलाई निरुत्साहित गर्न नहुने बताएका छन्। नेपाल एल.पी ग्याँस उद्योग संघको २२औँ स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष मल्लीले सरकारले विभिन्न इन्डक्सन चुलोको प्रयोग गरेर मात्र एल.पी ग्याँसको खपतलाई निरुत्साहित गर्न नसक्ने बताएका हुन्।
अध्यक्ष मल्लीले जलविद्युत् नेपालको विकासको मूल ऊर्जा भएकोमा कुनै दुविधा नभएको भन्दै उत्पादन भएको विद्युतको खपत बढाउनुपर्ने भए पनि विद्युतीय सामान प्रयोग गर्ने उचित पूर्वाधारको विकास नगरी सरकार आफैँले जनतालाई भ्रम फैलाएर अलमलमा पार्न नहुने बताए। भारत तथा बंलादेशमा समेत ठूलाठूला उद्योगमा एल.पी ग्याँस प्रचुर रूपमा प्रयोग हुँदै आएको उल्लेख गर्दै संसारभरि नै हरेक क्षेत्रमा एल.पी ग्याँस सबैभन्दा बढी प्रयोग हुने वस्तुमा पर्ने बताए।
‘सरकारले पछिल्लो समय विद्युत् खपत बढाएर एल.पी ग्याँसलाई निरुत्साहित गर्ने नीति लिएको छ। सरकारको उक्त नीति नेपालको हकमा तत्काल लागू हुन सक्दैन। विश्वका धेरै विकसित मुलुकहरूमा समेत ग्याँसको अत्याधिक खपत हुने गरेको छ। ग्याँस यस्तो ऊर्जा हो, जुन अन्य ऊर्जाको तुलनामा छोटो समयमा अत्याधिक प्रयोग हुन्छ,' उनले भने, 'सरकारले विभिन्न इन्डक्सन चुलो तथा अन्य विद्युतीय सामग्रीकोे प्रयोग बढाएर ग्याँस खपत कम गर्न सजिलो छैन। यसको लागि सरकारले विद्युतीय पूर्वाधार निर्माण भएको छैन। यस्तो अवस्थामा सरकारले नै उपभोक्तालाई अलमलाउने काम गर्नुहुँदैन। यस्तो गर्दा निकट भविष्यमा खाना पकाउने इन्धन वितरणमा समस्या आउँदा मुलुकमा नै संकट पर्न सक्छ। बरु सरकारले ग्याँस उद्योगले भोग्दै आएको समस्या सामाधान गरेर यसको वितरण तथा मूल्य निर्धारणलाई व्यवस्थित बनाउनुपर्छ।’