झन्डै तीन महिनापछि बसेको प्रदेश २ सभाको बैठक विपक्षी दलको अवरोधले पुनः प्रभावित भएको छ । बुधबार थोरै समय मात्र बसेर बैठक आगामी ८ पुससम्मका लागि स्थगित भएको छ । बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीका सांसदले अवरोध गरेका थिए । त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि बैठक स्थगित गरे । त्यसबीच सभामुखको पहलमा मुख्यमन्त्री लालबाबु राउत र प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलबीच छलफल भयो । छलफलमा मुख्यमन्त्रीले केही जरुरी अध्यादेश टेवल गर्नैपर्ने बाध्यता रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
त्यसमा विपक्षी दल नरम भएपछि बैठक केहीबेरका लागि चलेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले अध्यादेशमार्फत ल्याइएका कृषि र प्राविधिक विश्वविद्यालयसम्बन्धी दुई विधेयक पेस गरे । त्यसपछि पूर्वसहमतिबमोजिम नै सभामुखले आगामी ८ पुस दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
अब प्रदेशको नाम र राजधानी तय हुन्छ : मुख्यमन्त्री
बैठकमा मुख्यमन्त्री लालबाबु राउतले ८औँ अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने प्रतिबद्धता जनाए । ‘विगतमा पनि प्रदेशको नाम र राजधानीको नामाकरणको प्रयास गरेको थिएँ,’ मुख्यमन्त्री राउतले भने, ‘तर, त्यो सफल हुन सकेन । यो ८औँ अधिवेशनमा सरकारकोतर्फबाट नाम र राजधानीको टुंगो ल्याउने प्रयास हुनेछ ।’ उनले सरकारको कमी–कमजोरी तथा ढिलासुस्तीले प्रदेशले अहिलेसम्म नाम र राजधानी पाउन नसकेकोसमेत स्वीकार गरे ।
यसैबीच, नेता सोनलले सरकारले अध्यादेशमार्फत दुईवटा कानुन ल्याएर लोकतन्त्रको उपहास गरेको आरोप लगाए । संसद् सुचारु गराउनुसाटो चोरबाटोबाट अध्यादेश ल्याएर सरकारले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत काम गरेको बताए । साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानको छानबिनमा प्रारम्भिक चरणमा अनियमितता देखिएकोले मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने उनले बताए ।