असान्जमाथि अन्याय भए पनि लडाइँ जारी छ

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

असान्जका वकिलले सर्वोच्च अदालतमा पुनरावेदन गर्न र वेस्टमिन्स्टर मेजिस्ट्रेट्स अदालतले उनीविरुद्ध दिएका दलिलको विरोधमा पनि अपिल गर्न सक्नेछन्


विडम्बना पनि कति कठोर हुन सकेको हो, जुलियन असान्जको पराजयले उनकै वकिलको तर्कलाई नै निःसन्देह जायज ठहर्याइदिएको छ । यस्तो विरोधाभास कसरी ? अमेरिकी सरकारले राजनीतिक अभियोगलाई सुपुर्दगी कानुनअन्तर्गत ल्याउन खोजेका छ र राजनीतिक मामिला स्पष्ट रूपमा सुपुर्दगी कानुनको अख्तियारीमा पर्दैन । यो असान्जका वकिलले सधैँ गर्ने तर्क हो । अमेरिकी अभियोजनकर्ताले सुपुर्दगी कानुनमा राजनीतिक मामिला ल्याएर असान्जका वकिलको तर्कलाई बारम्बार पुष्टि गरिरहेका छन् ।

पहिले तल्लो तहको वेस्टमिन्स्टर मेजिस्ट्रेट्स अदालतमा अमेरिकी वकिलले असान्जलाई पत्रकारको साटो चोर करार गरेका थिए । तर, पुनरावेदन अदालतमा अभियोजनकर्ताहरू सरकारको कूटनीतिक आश्वासनमा भर परेका थिए, जुन सम्भवतः सबैभन्दा ठूलो राजनीतिक मामिला हो । असान्जलाई अमेरिकामा जीवन नै संकटमा पार्ने गरी यातनादायी सुपर म्याक्स जेलमा नराख्ने कूटनीतिक आश्वासनका आधारमा अभियोजनकर्ताले पुनरावेदन गरेका थिए । अभियोजनकर्ताको आश्वासन मेजिस्ट्रेट्स अदालतले सुपुर्दगी गर्ने निर्णय खारेजीपछि आएको हो । अर्थात्, अघिल्लो वर्ष असान्जलाई अमेरिकामा हुन सक्ने सम्भावित यातनायुक्त सजायका कारण सुपुर्दगी रोकिएको थियो । 

पुनरावेदन अदालतका न्यायाधीशलाई सुपुर्दगी गर्न अस्वीकार गर्ने अघिल्लो वर्षको मेजिस्ट्रेट्स अदालतको निर्णयलाई सदर गर्न न्यायाधीशले अमेरिकी सरकारको कूटनीतिक आश्वासनमा विश्वास नगरेको बताउनुपर्ने परिस्थिति निम्तिएको थियो । निःसन्देह न्यायाधीशले आफ्ना अगाडि प्रमाणको कमीका आधारमा अघिल्लो वर्षको निर्णयलाई बदर गरेका होइनन् । किनभने पुनरावेदनकै क्रममा अमेरिकी गुप्तचर निकाय सिआइएका कर्तुत बाहिर आइसकेका थिए, अर्थात् अमेरिकी साक्षी झुटा थिए । स्पेनमा चलिरहेको एक मुद्दामा सिआइएले असान्ज, उनको परिवार र वकिलहरूमाथि जासुसी गरेको थियो भन्ने देखाएको थियो । अमेरिकी अधिकारीले यस मुद्दालाई अवरोध गर्न खोजिरहेका पनि थिए । यिनै कारणले असान्जलाई केही नहुने भन्ने अमेरिकी आश्वासनमाथि विश्वास गर्ने ठाउँ छैन ।     

पुनरावेदनका न्यायाधीशले यस मामिलालाई फरक ढंगले हेरे । उनीहरूले अभियोजनकर्ताको आश्वासनलाई निकै गम्भीरतापूर्वक लिएको देखिन्छ । न्यायाधीशले अमेरिकी कूटनीतिक आश्वासनलाई सहजै ‘गुड फेथ’का आधारमा विश्वास गरेका छन् । पुनरावेदनको फैसलाले यस्तो भन्छ :  

‘यस अदालतले ‘अभियोजनकर्ताले पेस गरेको विषयलाई सार्थक रूपमा स्वीकार नगर्नुको कारण छैन । अमेरिकाले असल विश्वाससाथ आश्वासन दिएको छैन भन्ने अनुमान गर्ने आधार छैन ।’ यो फैसलासँगै यो अदालतको नितान्त राजनीतिक निर्णय रहेको पुष्टि भएको छ । यो फैसला हरेक कोणबाट राजनीतिक निर्णय नै हो, किनभने फैसला अमेरिकी कूटनीतिक वक्तव्यका आधारमा गरिएको छ । यदि यो फैसला राजनीतिक हुँदैनथ्यो भने न्यायाधीशले ‘राष्ट्रिय सुरक्षाको अति संवेदनशील प्रश्नमा अमेरिकी सरकारलाई हामी विश्वास गर्दैनाैँ’ भनेर फैसला गर्न सक्थे । यदि यसो हुन्थ्यो भने अमेरिका र बेलायतको ‘विशेष सम्बन्धमा’ ठूलो विस्फोट निम्तिने पक्का थियो । न्यायाधीशहरू स्पष्ट रूपमा आफ्नो फैसलामा यस्तो लेख्छन् :

‘बेलायतले अमेरिकाको एक सय ५० भन्दा बढी वर्षको अवधिमा सुपुर्दगीसम्बन्धी पाँचवटा महत्वपूर्ण सन्धिको मूल्यांकन गरेको छ । सुपुर्दगी सम्बन्धको यो निरन्तर र निर्बाध इतिहासमा अमेरिकाले सुपुर्दगी अनुरोध गरेको राज्यको विश्वासलाई सम्मान नगरेको उदाहरण छैन ।’ 

यो एक राजनीतिक अडान हो र बाध्य नपारिन्जेलसम्म बेलायतको संस्थापनले यो अडानलाई कहिल्यै उल्ट्याउन सक्दैन । उच्च अदालतका न्यायाधीश संस्थापनको यस नीतिलाई आँखा चिम्लेर मान्छन् । यो फैसला सुनाउने न्यायाधीशमध्येका एक इयान बर्नेट कन्जर्भेटिभ पार्टीका सांसद एलन डंकनका स्कुले साथी हुन् । डंकनले मन्त्रीका हैसियतमा इक्वेडर राजदूतावासमा शरण लिइरहेका असान्जलाई दूतावासबाट निकाल्ने कारबाहीका मुख्य योजनाकारको भूमिका खेलेका थिए । एकै विद्यालय, कलेज, सामाजिक क्लब र एकअर्काको जन्मदिनमा सरिक हुनेसम्मको मित्रताले उनीहरूको निष्कर्ष एउटै आउनु अस्वाभाविक देखिँदैन ।

यस अर्थमा अमेरिकाले राजनीतिक प्रभावबाट अदालती विजय हासिल गरेकोमा कुनै सन्देह छैन । यति हुँदाहुदै पनि यसलाई असान्जका वकिलले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । त्यसबाहेक वेस्टमिन्स्टर मेजिस्ट्रेट्स अदालतले असान्जविरुद्ध दिइएका दलिलविरुद्ध पनि अपिल गर्न सक्नेछन्, अर्थात् उनको सुपुर्दगीलाई अराजनीतिक ठहर्याइएको विषयमाथि पनि पुनरावेदन गर्न सक्नेछन् । वास्तवमा अहिलेसम्म यो मुद्दामा तर्कको कुनै तुक देखिएको छैन । र, अहिले अमेरिकाको १९१७ को जासुसी ऐनअन्तर्गत एक पत्रकारमाथि राजनीतिक उत्पीडन गरिँदै छ । स्मरण रहोस्, यो ऐन प्रेसविरुद्ध कहिल्यै प्रयोग गरिएको छैन, अमेरिकाबाहिर काम गर्ने विदेशी पत्रकारविरुद्ध पनि कहिल्यै प्रयोग गरिएको छैन र त्यसबाहेक विश्वका सबैभन्दा प्रतिष्ठित मिडियामा रिपोर्ट प्रकाशित गर्नेहरूमाथि पनि प्रयोग गरिएको छैन ।  

असान्ज मामिलामा भएको फैसला राज्यद्वारा ल्याइएको एक राजनीतिक अभियोजन हो । यसको उद्देश्य सरकारका आलोचकलाई चुप लगाउन र असत्य प्रचार गर्नु रहेको देखिन्छ । तसर्थ, स्वतन्त्र प्रेसको रक्षा गर्न चाहने सबैको अहिलेको मुख्य कार्यभार जुलियन असान्जको मामिलामा अदालतसामु यस्तो जनमत सिर्जना गर्नु हो, जसले शीर्ष न्यायाधीशहरूको राजनीतिक पूर्वाग्रहलाई निस्तेज गराओस् । ट्रिब्युन म्यागजिनबाट  
 

सुझावित समाचार