प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशन प्रजातन्त्रको भविष्यका लागि महत्त्वपूर्ण भएको बताएका छन्। सहमहामन्त्री प्रकाशशरण महत लिखित पुस्तक ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा बोल्दै देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए।
‘सकभर सहमतिमा नेतृत्व टुंगो लगाउँछौँ। तर, त्यसो भएन भने अस्वस्थ्य प्रतिस्पर्धा र कटुता नहोस् म आग्रह गर्छु’, उनले भने। महाधिवेशनपछि उत्साहाका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने बताए। सहमति नभए निर्वाचन हुने बताउँदै उनले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताए।
विमोचन समारोहमा बोल्दै सहमहामन्त्री महतले बिपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई पुस्तककाे रूप दिएको जानकारी दिए। तत्कालीन समयमा थेसिस लेख्दा सन्दर्भ सामग्री जुटाउन समस्या परेको स्मरण गरेका थिए। उनले कांग्रेस प्रतिबन्धित बनेको समयमा २०१७ सालमा राज्यले कांग्रसका सामग्री जफत गरेको र थेसिस लेख्ने समयमा सरकारले फिर्ता गरेपछि त्यही सन्दर्भ सामग्रीको प्रयोग गरेको बताए।