कार्यविभाजन, अधिवेशनदेखि पार्टी प्रवेश अभियानसम्म छलफलको सूचीमा
एमालेले केन्द्रीय कमिटी बैठकका लागि १५ विषयलाई छलफलको एजेन्डा बनाउने भएको छ । पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले २५ र २६ मंसिरमा डाकिएको केन्द्रीय कमिटी बैठकका लागि १५ एजेन्डा तय गरेको हो ।
शेरबहादुर तामाङ, सचिव, एमाले केन्द्रीय कार्यालय
यो बैठकपछि हामी कार्यक्षेत्रमा खट्छौँ, सम्भवतः स्थानीय चुनावको मुखमा तीनमहिने अभियान सम्पन्न गरेपछि मात्रै बैठक बस्छौँ, त्यसैले धेरै विषय छलफलका एजेन्डा बनेका हुन् । स्थायी समिति र पोलिटब्युरो पनि गठन हुने भएकाले कतिपय एजेन्डा बाँकी रहे भने केन्द्रीय कमिटीले छलफलका लागि जिम्मा दिन पनि सक्छ ।
अध्यक्ष केपी ओलीसँग परामर्श गरेर महासचिव शंकर पोखरेलले कार्यालय बैठकबाट एजेन्डा तय गरेका हुन् । थापाथलीस्थित कार्यालय साँघुरो भएपछि बैठक जर्मन हाउस, हस्पिटालिटी गठ्ठाघरमा बिहान ११ बजे बोलाइएको छ । तीनमहिने अभियान सञ्चालनको कार्ययोजनादेखि कमिटीहरूको पूर्णता, कार्यविभाजनसहितका सबैजसो विषय एमालेले केन्द्रीय कमिटी बैठकबाटै टुंग्याउने योजना बनाएको छ ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद्को गठन र कार्य विभाजन बैठकका एजेन्डा छन् ।
त्यस्तै, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि एमालेले दोस्रो केन्द्रीय कमिटी बैठकको कार्यसूची बनाएको छ ।
कार्यालय सचिव तामाङले कम्तीमा तीन महिना पार्टी केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना नरहेकाले केन्द्रीय कमिटी बैठकमा धेरै एजेन्डा छलफलका लागि राखिएको बताए । ‘यो बैठकपछि हामी कार्यक्षेत्रमा खट्छौँ, सम्भवतः स्थानीय चुनावको मुखमा तीनमहिने अभियान सम्पन्न गरेपछि मात्रै बैठक बस्छौँ, त्यसैले धेरै विषय छलफलका एजेन्डा बनेका हुन्,’ तामाङले भने, ‘स्थायी समिति र पोलिटब्युरो पनि गठन हुने भएकाले कतिपय एजेन्डा बाँकी रहे भने केन्द्रीय कमिटीले छलफलका लागि जिम्मा दिन पनि सक्छ ।’
रावललाई स्थायी समिति सदस्य बनाउने तयारी
एमालेले आसन्न केन्द्रीय कमिटी बैठकमै केन्द्रीय सदस्य मनोनयनको एजेन्डा राखेको छ । केन्द्रीय कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनका अध्यक्षका प्रत्यासी भीम रावलसँग मनोनयनका विषयमा छलफल गर्ने बताए । ‘उहाँ पार्टीमा क्रियाशील हुनुहुन्छ, त्यसैले केन्द्रीय सदस्य मनोनयन गरेर स्थायी समितिमा राख्नुपर्ने हुन्छ, त्यसअनुसार अध्यक्षले कुरा गर्ने तयारी गर्नुभएको छ,’ तामाङले भने । दुई सय २३ मत ल्याएर अध्यक्षमा पराजित रावल केन्द्रीय कमिटी सदस्यमा पनि नौ सय चार मत ल्याएर पराजित भएका थिए ।
